Comments Add Comment

एलन मस्कले के भने, जसका कारण फेरि चुलियो बिटक्वाइनको मूल्य ?

काठमाडौं । टेस्ला तथा स्पेस एक्स कम्पनीका सिइओ एलन मस्कको एक वचनको प्रभावले डिजिटल क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा पुनः उछाल आएको छ ।

टेस्लाको कारोबारमा भविष्यमा बिटक्वाइनको भुक्तानी स्विकार गर्न सकिने भनी मस्कले बताएसँगै बिटक्वाइनको मूल्य बढेर प्रतिक्वाइन ३० हजार डलर नाघेको हो ।

विद्युतीय कार निर्माता कम्पनी टेस्लाले बिटक्वाइन स्विकार गर्न नसकिने भनेर गत मे महिनामा बताएसँगै बिटक्वाइन धरासायी बन्दै गएको थियो ।

बिटक्वाइन माइनिंगमा उच्च मात्रामा ऊर्जा खपत हुने भन्दै त्यस्तो प्रदूषक मुद्रालाई भुक्तानीमा स्विकार गर्न नसकिने टेस्लाले बताएको थियो ।

तर क्रिप्टो काउन्सिल फर इन्नोभेसनले गरेको द बी वर्ड सम्मेलनका क्रममा मस्कले आफूसँग क्रिप्टोकरेन्सी रहेको र टेस्लाले भविष्यमा भुक्तानीका क्रममा क्रिप्टोकरेन्सी स्विकार गर्न सक्ने बताएका थिए ।

साथै एनले बिटक्वाइन माइनिंगमा जिवाश्म इन्धनको खपतका विषयमा अनुसन्धान पनि भैरहेको बताएका छन् ।

मस्कले भने– मैले यो कुरा पुष्टि गर्नका लागि केही थप परिश्रम गर्न चाहन्थें कि नवीकरणीय ऊर्जाको उपयोगको हिस्सा ५० प्रतिशत वा त्यो भन्दा बढी छ वा छैन ? र, उक्त प्रतिशतलाई बढाउने प्रवृत्ति पनि देखिएको छ । यदि यस्तो भएमा टेस्लाले बिटक्वाइन स्वीकार गर्न पुनः सुरु गर्नेछ ।

टेस्लाका केही लगानीकर्ता तथा पर्यावरणविदहरुले यसअघि बिटक्वाइन स्वीकार गर्ने टेस्लाको निर्णयको आलोचना गरेका थिए ।

पर्यावरणमैत्री भनिने टेस्लाका गाडी खरीद गर्नका लागि पर्यावरणका लागि खतरनाक मानिने क्रिप्टोकरेन्सीको प्रयोगलाई अनुमति दिने टेस्लाको निर्णय विरोधाभाषी भएको भन्दै आलोचना भएको थियो ।

बिटक्वाइन माइनिंग गर्नका लागि ठूलो परिमाणमा ऊर्जाको प्रयोग हुन्छ । त्यसको ठूलो हिस्सा जिवाश्म इन्धनबाट उत्पादन हुने गरेको छ ।

स्मरण रहोस् एलन मस्क क्रिप्टोकरेन्सीका समर्थक रहँदै आएका छन् । उनीमाथि क्रिप्टोकरेन्सीको लोकप्रियता बढाउनका लागि आफ्नो प्रभावको प्रयोग गरेको आरोप पनि लाग्ने गरेको छ । साथै विभिन्न फन्डा गरेर क्रिप्टोकरेन्सीको मूल्य कृत्रिम रुपले बढाउने र त्यसरी बढेको मूल्यमा बेच्दै नाफा कमाउने गरेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ । तर मस्कले भने आफूले मूल्य बढाउने र त्यसलाई फेरि बेच्ने कुरामा विश्वास नगर्ने भन्दै आफूले बिटक्वाइन सफल भएको देख्न चाहने जिकीर गरे ।

बी वर्ड कन्फ्रेन्समा मस्कले आफ्नो कम्पनी टेस्ला र स्पेस एक्ससँग पनि बिटक्वाइन रहेको बताए । साथै आफूले अन्य क्रिप्टोकरेन्सीहरु इथेरियम र डोजक्वाइनमा पनि लगानी गरेको उनले खुलासा गरे ।

उक्त सम्मेलनमा ट्वीटरका सिइओ ज्याक डोर्सी तथा एआरके म्यानेजमेन्टका प्रमुख क्याथी वुड पनि सहभागी थिए ।

उक्त सम्मेलनमा मस्कको टिप्पणीसँगै बिटक्वाइनको मूल्य ६ प्रतिशतसम्म बढेको छ भने इथेरियमको मूल्य १०.६ प्रतिशतले वृद्धि भएको छ ।

–बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment