+
+
Shares

पार्टी कार्यालयमा जारी धर्ना र अनशनलाई छिटो सम्बोधन गर्न देउवाको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ८ गते १३:०३

८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालयमा जारी धर्ना र अनशनका कार्यक्रमको सम्बोधन गर्न निर्देशन दिएका छन् ।

शुक्रबार बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सभापति देउवाले अनशनकारीहरुसँग वार्ता गर्न सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्वसहामन्त्री डा. रामशरण महतलाई जिम्मेवारी दिएका छन् ।

कांग्रेस पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले आमरण अनशनमा बसेका नेताहरुको स्वास्थ्य अवस्था जटिल बनेको भन्दै ध्यानाकर्षण गराएपछि सभापति देउवाले शुक्रबार नै उनीहरुको माग सम्बोधन गर्न निर्देशन दिएका हुन् ।

सानेपामा धनुषाका तीन नेता पाँच दिनदेखि आमरण अनशनमा छन् । पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन अधिकारीसहित  तीन नेता आमरण अनशनमा छन् । उनीहरुको स्वास्थ्य बिग्रदै गएको छ । त्यस्तै बारा र सर्लाहीका नेता कार्यकर्ता पनि धर्नामा छन् । बिहीबारदेखि बाराका संस्थापन पक्षका करिब दुई सय नेता कार्यकर्ता पनि धर्नामा बसेका छन् ।

तोकिएकै समयमा महाधिवेशन : देउवा

पूर्वपदाधिकारी र वर्तमान पदाधिकारी बैठकमा महाधिवेशनको कार्यतालिका परिमार्जनका बारेमा छलफल भएको छ । तर शनिबार बस्ने बैठकले कार्यतालिका संशोधन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार सभापति देउवाले केन्द्रीय महाधिवेशनको मिति नसर्ने गरी स्थानीय अधिवेशनको कार्यतालिका परिमार्जन गर्न आग्रह गरे ।

‘केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गते नै हुने गरी बाँकी कार्यतालिका तयार गर्नुस्,’ देउवाले भने, ‘कुनै पनि हालतमा महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले समायोजनका नाममा नयाँ क्रियाशील सदस्यता वितरणमा मापदण्ड उल्लंघन भएको उल्लेख गरे । ‘जिल्लामा लामो समय काम गरेका नेता कार्यकर्तालाई अल्पमतमा पर्ने गरी समायोजनका नाममा प्रक्रियाविपरीत क्रियाशील बाँड्ने काम भएको छ,’  उनले भने, ‘मापदण्ड विपरीत वितरण गरिएका क्रियाशील सदस्यता सच्याउनुपर्दछ ।’

बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको कामका बारेमा जानकारी गराएका थिए । उनले शनिबार साँझसम्म अन्तिम प्रतिवेदन सभापतिलाई बुझाउने जानकारी गराए ।

क्रियाशील सदस्यताको काम समयमै नटुंगिदा स्थानीय अधिवेशन सर्ने निश्चित भएको छ । महाधिवेशन कार्यतालिका अनुसार १२ साउनमा वडा अधिवेशन हुनुपर्नेछ । पूर्वसहमहामन्त्री केसीले स्थानीय अधिवेशननको कार्यतालिका परिमार्जनबारे निर्णय गर्न शनिबार फेरि पदाधिकारी बैठक बस्ने भएको छ ।

‘शनिबार बस्ने पदाधिकारी बैठकले स्थानीय अधिवेशनको कार्यतालिका परिमार्जन गर्छ,’ उनले अनलाइनखबरसँग भने, ‘सभापतिज्यूले केन्द्रीय महाधिवेशन तोकिएकै समयमा हुनुपर्छ भन्नुभएको छ, त्यसैले वडादेखि प्रदेश महाधिवेशनको मिति फेरबदल हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?