८ साउन, काठमाडौं । शुक्रबारदेखि औपचारिक रुपमा शुरु हुने ३२औं गृष्मकालीन ओलम्पिकमा विश्वभरका करिब ११ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । त्यसमा कोही स्वर्ण पदक जितिसकेका खेलाडी छन् भने कोही पहिलो पटक सहभागिता जनाउँदैछन् ।
यस्तै उमेर अनुसार पनि विभिन्न समूहका खेलाडीहरु छन् । त्यसमध्ये टोकियो ओलम्पिक २०२० मा सिरियाकी हेन्ड जाजा सबैभन्दा कान्छी खेलाडी हुन् । उनको उमेर १२ वर्ष मात्र रहेको छ । उनी टोकियोमा सिरियाबाट टेबलटेनिसमा प्रतिनिधित्व गर्दैछिन् । उनी कान्छी खेलाडी मात्र भएर चर्चामा आएकी होइनन् । उनी ओलम्पिकमा सिरियाबाट टेबलटेनिसमा सहभागी हुने पहिलो खेलाडी समेत हुन् ।
जाजाले टोकियो २०२० को छनोटमा ४२ वर्षीय लेबनानी खेलाडी मारियाना साहाकियनलाई पराजित गरेकी थिइन् । जाजाले ६ वर्षको उमेरमै कतारको दोहामा वल्र्ड होप्स विक एण्ड च्यालेन्ज इभेन्टमा प्रतिस्पर्धा गरेकी थिइन् ।
१२ वर्षकै जापानकी कोकोना हिराकी पनि टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछिन् । हिराकीको उमेर जाजा भन्दा केही मात्र बढी छ । उनी ओलम्पिकमा पहिलो पटक समावेश स्केटबोर्डिङमा प्रतिस्पर्धा गर्दैछिन् ।
खेलमा प्रतिस्पर्धा गर्न उमेरले छेक्दैन भने जस्तै १२ वर्षमै जाज र हिराकीले ओलम्पिक जस्तो कुम्भमेलामा प्रतिस्पर्धा गर्दैछन् ।
यस्तै टोकियो ओलम्पिक सबैभन्दा पाको खेलाडीको उमेर ६६ वर्ष छ । अष्ट्रेलियन इक्वेस्ट्रियन खेलाडी म्यारी हान्न टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्ने सबैभन्दा पाको खेलाडी हुन् । उनी सातौं पटक ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछिन् ।
उनले टोकियोमा ओलम्पिक इतिहासमै दोस्रो पाको महिला खेलाडीको कीर्तिमान बनाउनेछिन् । ब्रिटेनकी लोर्ना जोन्स्टोनले सन् १९७२ मा ७० वर्षको उमेरमा प्रतिस्पर्धा गरेकी थिइन् ।
प्रतिक्रिया 4