Comments Add Comment

मन्त्रीमा नाम काटिएपछि डोबाटे विश्वकर्मा भन्छन्- पार्टीभित्र अपराध भयो

८ साउन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । २९ जेठमा मुख्यमन्त्री बनेका पोखरेलले डेढ महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

उनले कांग्रेसबाट मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र विन्दुकुमार थापा तथा माओवादी केन्द्रबाट रामजी बराल, दीपक घर्तीमगर र चन्द्रबहादुर बुढालाई मन्त्री नियुक्त गरेका छन् ।

तर मन्त्री चयनलाई लिएर कांग्रेसमा विवाद देखिएको छ । तनहुँका डोबाटे विश्वकर्माको नाम अन्तिम समयमा आएर काटिएको छ भने विन्दुकुमारको थपिएको छ ।

बिहीबार कांग्रेसको बैठकमा समेत विश्वकर्माको नाम अन्तिम ५ मा राखेर छलफल चलेको थियो । पार्टीभित्र रामचन्द्र निकट मानिने विश्वकर्मालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र प्रवक्ता कुमार खड्काले मन्त्री बनाउन चाहेका थिए । शुक्रबार मुख्यमन्त्री सचिवालयले विश्वकर्मालाई मन्त्रीको सपथ लिने जानकारी गरायो ।

उनले बधाई पनि पाए । तर मन्त्रीको सपथ लिन पाएनन् । विन्दुकुमार थापा मन्त्री बनेका छन् । निष्ठाको राजनीतिमा अपराध भएको सांसद विश्वकर्माको प्रतिक्रिया छ । ‘नाम काटियो भन्ने सुनें । यो त पार्टीभित्र अपराध भयो,’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘४२ वर्षदेखि निष्ठाको राजनीति गरिरहेको छु । अहिले अपमान गरियो । योभन्दा अरु मैले के भन्न सक्छु र ?’

आफू यसबारे धेरै बोल्न नचाहेको भन्दै सांसद विश्वकर्माले भने, ‘पार्टीभित्र समावेशिताको एउटा सिद्धान्त छ । तर त्यही सिद्धान्त पनि अपमान गरियो । अरु कुरा बोलिनँ ।’

विश्वकर्मालाई पाखा लगाउँदै मन्त्री भएका थापाले आन्तरिक मामिला तथा कानून मन्त्रालय सम्हाल्ने भएका छन् । देउवा पक्षधर उनी व्यापारिक पृष्ठभूमिका व्यक्ति हुन् । गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार गठन भएपछि सबैभन्दा पहिले मन्त्री हुने आकांक्षीमा कास्कीका विन्दुकुमार थापाको चर्चा चलेको थियो ।

नियुक्त भएकै दिन जेठ २९ गते मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले चार जना विनाविभागीय मन्त्री नियुक्त गरे । उक्त दिनसमेत थापाको मन्त्रीमा नियुक्त हुने चर्चा चलेको थियो । तर कांग्रेस कोटाबाट बिनाविभागीयमा नियुक्त हुँदै कुमार खड्का नियुक्त भए र सरकारको प्रवक्ता समेत तोकिए । देउवा निकटका थापा मन्त्रीका लागि लबिङ गर्दै पटक–पटक काठमाडौं समेत धाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment