
८ साउन, काठमाडौं । अमेरिकी सेनाले अफगानिस्तानको अन्धारसहितका थुप्रै स्थानमा अफगानी सेनाको समर्थनमा तालिबानविरुद्ध हवाई आक्रमण गरेको छ । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले बिहीबार हवाई आक्रमण गरिएको पुष्टि गरेका छन् ।
उनले हवाई आक्रमणको लागि कुन विमान प्रयोग गरिएको हो भन्ने जानकारी भने दिएका छैनन् । ‘पछिल्ला केही दिनमा हामीले अफगानी सुरक्षा बलको समर्थनमा हवाई आक्रमण गरेका छौं । यद्यपि यो आक्रमण र प्रविधिको विषयमा भने जानकारी दिन सक्दिनँ,’ उनले भने ।
अर्का एक अमेरिकी सैन्य अधिकारीले बिहीबार अफगानी सेनाको सहयोगका लागि अमेरिकी सेनाले चारभन्दा बढी हवाई आक्रमण गरेको बताएका छन् । उक्त हवाई आक्रमणमा तालिबानले अफगानी सेनासँग खोसेको उपकरण र वाहन नष्ट गरिएको अधिकारीहरुले बताएका छन् ।
तालिबानका प्रवक्ता जबीहुल्ला मुजाहिदले अमेरिकी आक्रमणको निन्दा गर्दै उक्त आक्रमणमा कोही पनि नमारिएको र घाइते पनि नभएको बताएका छन् । उनले भने, ‘हामी अमेरिकाको यो आक्रमणलाई दोहा सम्झौताको उल्लंघन मान्छौं । हामी यस विषयमा चुपचाप बस्दैनौं र त्यसको नतिजाको लागि अमेरिका जिम्मेवार हुनेछ ।’
अमेरिकी रक्षा मन्त्रालयले अमेरिकी सेना फिर्ता आए पनि अमेरिकाले अफगानी सेनालाई सहयोग गर्ने बताएको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4