Comments Add Comment

झापा आन्दोलनका दुई अगुवाको निष्कर्ष : ओली र नेपालले छाडेर नयाँ नेतृत्व ल्याउनुपर्छ

८ साउन, काठमाडौं । कम्युनिष्ट आन्दोलनका दुई अगुवा मोहनचन्द्र अधिकारी र राधाकृष्ण मैनालीबीच भेटवार्ता भएको छ । अधिकारीलाई भेट्न मैनाली शुक्रबार उनको निवासमा पुगेका थिए ।

मैनालीका अनुसार अधिकारीले आत्मसंस्मरण लेख्न सुरु गरेका र त्यसको लागि सम्झना साटासाट गर्न पारिवारिक भेटघाट गरिएको हो । ‘उहाँले एउटा मेमोरी लेख्दै हुनुहुँदो रहेछ । भेटमा हामीले उक्त पुस्तकका लागि सम्झना साटासाट गर्‍यौं,’ मैनालीले अनलाइनखबरसँग भने ।

अधिकारीले सम्झिएका कतिपय विषय आफूले बिर्सिएको र आफूले सम्झिएका कतिपय विषय अधिकारीले सम्झिएको उनले सुनाए ।

मैनालीका अनुसार कुराकानीका क्रममा पछिल्ला राजनीतिक घटनाक्रमको पनि समीक्षा भएको थियो । ‘(एमाले अध्यक्ष केपी शर्मा) ओलीजीले कम्युनिष्ट आन्दोलन र नेकपालाई ठूलो नोक्सानी पुर्‍याउनुभयो भन्ने निष्कर्षमा उहाँ पनि पुग्नुभएको रहेछ,’ उनले भने, ‘म पनि त्यही निष्कर्षमा पुगेको थिएँ ।’

मैनालीले अघि भने, ‘ओलीले कम्युनिष्ट आन्दोलनमा पुर्‍याएको क्षतिको कसरी क्षतिपूर्ति होला ? यही साझा चिन्ता हामीले भेटमा व्यक्त गर्‍यौं ।’

आफू र अधिकारी कुनै समय माधवकुमार नेपालबाट  पनि पीडित भएको स्मरण गरेका मैनालीका अनुसार नेता नेपालले खेलेको भूमिकाबारे पनि छलफल गरेको थियो ।

ओली र नेपालले एकले अर्कोलाई विश्वास गर्न नसक्ने भएकोले अहिले एकता भइहाले पनि टिक्न मुस्किल रहेको निष्कर्ष भेटमा निकालिएको मैनालीले जानकारी दिए । ‘दुवैले एकले अर्कोलाई विश्वास नगर्ने भएपछि एकता भए पनि कसरी टिक्छ र ?,’ उनले भने, ‘बरु दुवैले जिम्मेवारी छाडेर नयाँ नेतृत्व ल्याउँदा आन्दोलनले गति लिन सक्छ ।’

मैनाली र अधिकारी दुवैजना झापा विद्रोहबाट नेपालको राजनीतिक वृत्तमा चिनिएका कम्युनिष्ट नेताहरु हुन् । मैनालीले १६ वर्ष जेल जीवन बिताएका थिए भने अधिकारीलाई नेपालका नेल्सन मण्डेल भनेर चिनिन्छ । उनले राजतन्त्रविरुद्धको लडाईमा १७ वर्ष जेलजीवन बिताएका थिए ।

एमाले अध्यक्ष केपी ओली, मैनाली र अधिकारीसहित पाँचजना साढे तीन वर्षसम्म गोलघरको सबैभन्दा कडा कोठरीमा सँगै बिताएका थिए । भीमनारायण श्रेष्ठ र यज्ञबहादुर थापाको पछि हत्या गरिएको मैनालीले जानकारी दिए । मैनालीले ओलीसँग ११ वर्ष र अधिकारीसँग ७ वर्ष सँगै जेल जीवन बिताएको स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment