Comments Add Comment

क्यान र डिस मिडियाबीच सम्झौता : डिस होमले १५ प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने

८ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र डिस मिडिया नेटवर्क लिमिटेडबीच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रसारणका लागि सम्झौता भएको छ ।

डिस मिडिया नेटवर्कका प्रवन्ध निर्देशक सुदीप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहबीच सम्झौता पत्रमा हस्ताक्षर भएको क्यानले जनाएको छ । पछिल्लो समय घरेलु क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोट्र्सले गर्दै आएको छ ।

यस सम्झौता अन्तर्गत क्यानले आयोजना गरेको पीएम कप तथा मेयर्स कपका महिला र पुरुष गरी चार प्रतियोगिता डिस होमको एक्सन स्पोर्ट्स च्यानलले प्रत्यक्ष प्रसारण गरिसकेको क्यानले जनाएको छ ।

सम्झौता अनुसार अब क्यानले आयोजना गर्ने सबै घरेलु प्रतियोगिता एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने क्यानले जनाएको छ ।

क्यानका कोषाध्यक्ष रोशन सिंहले १५ प्रतियोगिता आयोजनाका लागि एक करोडभन्दा माथिको सम्झौता भएको बताए । ‘सम्झौता एक करोडभन्दा माथिको हो । १५ इभेन्ट आयोजना गर्ने गरी सम्झौता भएको हो । जसमा चार इभेन्ट हामीले गरिसकेका छौं । अब ११ इभेन्ट हामीले गर्नुपर्नेछ,’ उनले भने, ‘यति समय भन्ने छैन एक वर्षमा पनि सकिन सक्छ । १५ महिना पनि लाग्न सक्छ ।’

कोषाध्यक्ष सिंहले कोरोना महामारीका कारण यस वर्ष प्रतियोगिता गर्न नसके पनि सहज अवस्था भएपछि लगातार प्रतियोगिता आयोजना गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment