Comments Add Comment

नौ लाखका लागि सैनिकले गरे आफ्नै साथीको हत्या

पक्राउ परेका गंगाधर ढकाल (बायाँ) र मृतक भरत गुरुङको शव भेटिएको स्थल

७ साउन, चितवन । नेपाली सेना हुद्दा भरत गुरूङको हत्या आरोपमा उनकी सहकर्मी पक्राउ परेका छन् । सिपाही गंगाधर ढकालले ९ लाख रुपैयाँका लागि गुरुङको हत्या गरेको प्रारम्भिक अनुसन्न्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१७ को सिमलडाँडा नजिकै बिहीबार बिहान एक पुरुषको शव भेटिएको थियो । गोली हानेर हत्या गरिएको अवस्था फेला परेको शव कसको हो भनेर पत्ता लगाउन नै प्रहरीलाई समय लाग्यो ।

तर मृतकको पहिचान भएको २४ घण्टाभित्रै प्रहरीले ढकाललाई भरतपुर–२० चनौलीबाट पक्राउ गरेको छ । नेपाली सेनाको महिन्द्र दल गण, शिवपुरीमा कार्यरत २६ वर्षीय ढकालले धादिङको निलकण्ठ नगरपालिका–१३ बस्ने ३६ वर्षीय गुरूङलाई ९ लाख रकमका लागि हत्या गरेको खुलेको छ ।

प्रहरीले झाडीमा फालेको एसएमजी हतियार एक थान, एक थान गोलीको खोका, नगद आठ लाख रूपैयाँ लगायत घटनामा प्रयोग भएका सामग्री बरामद गरेको जनाएको छ ।

एसपी ओमप्रसाद अधिकारीका अनुसार हुद्दा भरत गत पुसमा मात्रै शान्ति सेनाको मिसनमा लेवनानबाट फर्किएका थिए । शान्तिसेनामा जाँदा कमाएको रकमबाट उनले चितवनमा जग्गा बैना गरेका थिए । उनले ग्लोबल आइएमई बैंकमा रहेको आफ्नो खाताको चेक मिल्ने साथी भएकाले गंगाधरलाई नै दिएका थिए ।

प्रहरीका अनुसार गंगाधरले साउन ३ गते भरतको हस्ताक्षर आफैंले गरेर ९ लाख रकम निकालेको पाइएको छ । एक लाख आफूसँग राखेर बाँकी ८ लाख परिवारका सदस्यलाई दिए । जग्गा पास गर्न भरत आएपछि ५ गते उनीहरु होटलमै बसे । चितवनका प्रहरी प्रमुख एसपी अधिकारीका अनुसार ६ गते भरतका माइलो बुबाका छोरा रविनको भरतपुर–१९ शारदानगरस्थित घरमा पुगे ।

त्यही दिन बजार घुमाउन लगेका  गंगाधरले भरतलाई अत्याधिक मादक पदार्थ खुवाई रातभर मोटरसाइकलमा घुमाएको र असार ७ गते बिहान ५ बजेतिर सिमलडाँडा नजिकै पुगेपछि गोली हानेर हत्या गरेको प्रहरीको दाबी छ ।

पिसाब लाग्यो भनेर झरेका गंगाधरले मोटरसाइकलको पछाडि बसिरहेका भरतलाई दायाँ कान नजिकबाट गोली हानेका थिए । भरत भुइँमा लडेपछि ७/८ मिटरको दूरीमा रहेको कुलोमा फालेर गंगाधर घटनास्थलबाट फरार भएका थिए । उनले घटनामा प्रयोग भएको हतियार भरतपुर–८ स्थित गरुवा कामक्ष मन्दिर क्षेत्रमा पुगेर सडकको किनारामा रहेको झाडीमा फालेका थिए । आफू भने पूर्वी चितवनको सौराहाचोकस्थित फुपूको घरमा पुगेका थिए ।

दिउँसो भरतपुर–१० मा रहेको हुण्डाई कारको शोरूममा कार्यरत काकाका छोरासँग मोटरसाइकल साटेर भागेका उनलाई केही घण्टामै पक्राउ गर्न प्रहरी सफल भएको चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । उनलाई मुलुकी अपराधसंहिता–२०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसूर अन्तर्गत दफा १७७ बमोजिम जन्मकैदको सजायको व्यवस्था हुने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुवास पण्डित

ट्रेन्डिङ

Advertisment