Comments Add Comment
साहित्य वार्ता :

‘त्रेतायुगमा झैं आज पनि नारीले अग्निपरीक्षा दिनुपरेको छ’

मेरो वार्षिक कमाइ शाखा अधिकृतसरहको छ

नीलम कार्की निहारिकाको नयाँ उपन्यास ‘द्रौपदी अवशेष’ यही साता प्रकाशन भएको छ । बहुपति प्रथामाथि केन्द्रित यस उपन्यासले इतिहास र वर्तमानको पुल बनेर कथा भनेको छ ।

मदन पुरस्कार तथा पद्मश्री पुरस्कारबाट सम्मानित निहारिका अमेरिका बसेर साहित्य लेख्दै आएकी स्रष्टा हुन् । कोरोनाकालको समयमा लेखिएको यो उपन्यास अनुसन्धानमा आधारित रहेको लेखकको दाबी छ । यद्यपि उनी अमेरिका बसेर नेपालको हुम्ला जिल्लामा बढी प्रचलनमा रहेको बहुपति प्रथाको आख्यान लेख्दा पाठकलाई सन्देह सृजना हुने सम्भावना पनि छ । त्यस कुरालाई उनले भूमिकामा पनि बताएकी छिन् ।

वास्तविक नारी पात्र योगमायामाथि लेखिएको उनको उपन्यास योगमाया निकै चर्चित रह्यो । यसबाहेक महिलाका विषयमा इतिहासका कुरा जोडेर लेख्ने प्रमुख नारी स्रष्टामा उनी अग्रपंक्तिमा पर्छिन् ।

निहारिकाको नयाँ उपन्यास र साहित्यिक जीवनमाथि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

‘चीरहरण’, ‘योगमाया’ हुँदै ‘द्रौपदी अवशेष’मा पनि हिन्दू पौराणिक पात्रलाई जोड्नुभएको छ, किन ?

दिन, वर्ष र युगहरू फेरिए । तर जीवन पद्धति उस्तैउस्तै लाग्छ । विशेषत: नारीका भोगाइहरू उही छन् । त्रेतायुगको सीताको अग्नि परीक्षा जस्तै आज पनि अग्नि परीक्षाबाट नारी गुज्रिनुपरेको छ ।

नबिराएका कसूरहरूमा कति–कति नारी परित्यक्ता छन् । द्वापर युगका धेरै पात्रका जीवन जस्तै बाँच्न विवश छन् आज पनि । चीरहरण, बलात्कारको चीत्कार सुन्नु नपरेको दिन छैन । हिजो र आजको युगले बाँचेको कुरा मेरा अघिल्ला उपन्यासमा सम्बोधित छन् । ‘द्रौपदी अवशेष’ त एक बिम्ब हो । यसमा द्रौपदीको जस्तै  बहुपति विवाह संस्कार मूल विषय रहेको छ । जुन विवाह प्रथा हाम्रो देशमा पनि विद्यमान छ । तर घट्दो क्रममा, लोपोन्मुख छ ।

‘द्रौपदी अवशेष’ लेख्दा अमेरिका नै बस्नुभयो । हुम्ला, जुम्ला नपुगी लेख्नु पाठकलाई धोका होइन ?

म लेख्नुभन्दा धेरै अघि गएकी थिएँ । तर अहिले संसारलाई चपेटामा पारेको महामारीको कारण लेख्ने क्रममा भने जान सम्भव भएन । जान सकिनँ ।

बहुपति प्रथाको वस्तुगत अवस्था नेपाल र विश्वमा के छ ?

नेपालको उत्तरी हिमाली क्षेत्रमा अहिले पनि बहुपति विवाह प्रथा व्यवहारमा छ । सुरुवात कहिलेदेखि हो भन्ने प्रमाणित आधार छैन । किन परम्परा बन्न गयो भन्ने सन्दर्भमा लिखित या मौखिक जवाफमा अन्न उत्पादन, अर्थ व्यवस्था, भौगोलिक अवस्थासँग सम्बन्धन गरेको जवाफ भेटिन्छ । र यो संस्कृति लोपोन्मुख छ । त्यसको कारण शिक्षा, सामाजिक, आर्थिक परिवर्तन नै हो । कानूनी रूपमा पनि एकभन्दा बढी पति-पत्नी विवाह गर्न नपाउने व्यवस्था छ ।

पुरस्कृत हुनु भनेको तिमीबाट त्यस क्षेत्रले अझ उत्कृष्टताको अपेक्षा गरेको छ भनिएको हो । त्यसैले पुरस्कारपछि बढी जिम्मेवार सोचिनु स्वाभाविक पनि हो । मदन पुरस्कार मात्र होइन विद्यालयस्तरमै पुरस्कृत हुँदा पनि यो कुरा लागू हुन्छ ।

भारतका हिमाचल प्रदेशलगायत केही स्थानमा यो प्रथा छ । त्यस्तै तिब्बत र भुटानमा पनि रहेछ । श्रीलंकामा पनि थियो भन्ने अध्ययनले देखाएको छ । दक्षिण अफ्रिकाका केही स्थानमा अहिले पनि बहुपति विवाह गर्ने गरिन्छ ।

बहुपति प्रथा मातृसत्ताको पक्षमा छ वा विपक्षमा ?

यसलाई संस्कृतिविद्हरूले पनि मातृसत्ताकै रूपमा व्याख्या-विश्लेषण गरेको पाइन्छ । मातृसत्ताको एक नमूना भएको हुँदा यसलाई जोगाउनुपर्छ भन्ने निचोड पनि भेटेको थिएँ ।

झट्ट हेर्दा यस प्रथामा नारी शक्तिशाली हुन्छन् । परिवार उनकै निर्देशन, नियन्त्रणमा चल्छ जस्तो पनि लाग्छ । तर अध्ययन गर्दै जाँदा छेउछाउको पुरुष सत्ताको प्रभावले पनि होला पुरूष प्रभुत्व नै हाबी भएको प्रशस्त उदाहरण छन् । पूर्ण रूपमा मातृसत्ता होइन मिश्रित सत्ता हो जस्तो लाग्छ ।

बहुपति प्रथा थालनीको इतिहास के रहेको छ ?

जति पनि अध्ययन भएका छन् त्यसको आधार र म आफूले गरेको वार्ता अनुसार यो भौगोलिक अवस्था अनि उत्पादन, अर्थतन्त्रसँग जोडिएको पाएँ ।  कृषिजन्य जमीनको अभाव, कम अन्न उत्पादन र त्यसकारण विकास भएको पारिवारिक ढाँचा पाएँ । एक  पुरूषले एक स्त्रीसँग विवाह गरेको अवस्थामा पत्नीबाट धेरै सन्तान हुने अनि जनसंख्या बढेसँगै जमीन भाग लाग्दै जाने हुन्छ ।

त्यसले गर्दा जीवनयापन गर्न कठिनाई हुने हुँदा घरका सबै दाजुभाइले एकै साझा पत्नी राख्ने चलन शुरु भएको रहेछ । त्यही संस्कारले लामो समय पार गर्दा संस्कृति बन्न गयो ।

यसलाई द्वापर युगकै द्रौपदीको जस्तै विवाह प्रथाको निरन्तरताको रूपमा पनि व्याख्या गरिएको पाइन्छ । तर गहन अध्ययन र ठोस आधार यसबारे आउन सकेको छैन । भारत र नेपालको हिमाली क्षेत्रको बहुपति विवाह प्रथा हेर्दा महाभारतकालीन विवाह प्रथासँग अध्ययन गर्न सकिने आधार प्रशस्त छन् ।

तेज गतिमा कथा, उपन्यास लेखिरहनुभएको छ । विषय, परिवेश र कथावस्तु कसरी जुटाउनुहुन्छ ?

विषयको के कमी छ र ! एक त हामीकहाँ यति धेरै संस्कृति र सम्पदाहरू छन् । नलेखिएका र लेखिनुपर्ने तमाम इतिहास छन् । सामाजिक यथार्थ छन् । विसंगति  छन्, मनोदशा छन् । लेख्छु भनेर सूचीकृत गरेका धेरै कथा छन् । लेखिंदै जाने छन् ।

अमेरिकी जनजीवनको कथाचाहिं किन लेख्नुभएन ?

अर्की आइमाई उपन्यासमा केही लेखेकी थिएँ । केही कथा र संस्मरणमा पनि  लेखेकी छु । तर इमानदार भएर भन्नुपर्दा मैले प्राथमिकतामा अलि पछाडि राखेको अवश्य हो । बल्ल त आफ्नै घरदेशको कथा लेख्दैछु । यता आइपुग्न समय लाग्छ ।

नयाँ पुस्तक लेख्न बस्दा तपाईंले पाएको ‘मदन पुरस्कार’, ‘पद्मश्री’को ह्याङ हुन्छ कि हुँदैन ?

जुनसुकै पुरस्कारले मानसिक रूपमा धेरै-थोरै दबाब अवश्य दिन्छ । पुरस्कृत हुनु भनेको तिमीबाट त्यस क्षेत्रले अझ उत्कृष्टताको अपेक्षा गरेको छ भनिएको हो । त्यसैले पुरस्कार पछि बढी जिम्मेवार सोचिनु स्वाभाविक पनि हो । चाहे पद्मश्री होस् वा मदन पुरस्कार । विद्यालयस्तरमै पुरस्कृत हुँदा पनि यो कुरा लागू हुन्छ ।

मप्रति पाठकको अपेक्षालाई निराश बनाउनुहुँदैन भनेर सजग अवश्य गराइरहन्छ । यसै पनि लेखक र लेखनको प्रतिस्पर्धा अरू कसैसँग नभएर आफैंसँग, आफ्नो अघिल्लो पुस्तकसँग हुने गर्दो रहेछ ।

बेस्ट सेलर लेखकमा पर्नुहुन्छ । रोयल्टी कति पाउनुहुन्छ वा ‘नेपालमा यस्तै त हो नि’ भनेर एउटै प्रकाशकसँग काम गरिरहनुभएको छ ?

२०५१ सालमा पहिलो पुस्तक प्रकाशन गरें । पुस्तक प्रकाशनका हिसाबले पनि २७ वर्षको यात्रा भएछ ।

मैले शुरूमा रहरमा लेखें । तर अब यहाँसम्म यात्रा तय गर्दा साहित्य मेरो रहर मात्र होइन । मैले लेखनलाई महत्वपूर्ण जिम्मेवारीको रूपमा लिएकी छु । अमेरिकामा बसेर म अरू पेशामा आवद्ध नभएर हरदिन लेखनकै लागि समय दिएकी छु । सोझो वाक्यमा भन्दा पूर्णकालीन लेखक भएकी छु । पूरा समय दिनु भनेको पेशा बनाउनु हो ।

अमेरिकामा मैले अन्य काम गरेको भए डलरमा भुक्तानी पाउँथें ।  नेपालमा लेखेर आर्जन गर्नेभन्दा निकै धेरै आर्थिक आर्जन गर्न सक्थें । तर लेखेर मैले डलर होइन रुपैयाँमा जे जति आर्जन गर्छु म त्यसबाट सन्तुष्ट छु । ठ्याक्कै भन्दा  कसैलाई मैले बढाएर भनें भन्ने लाग्न सक्छ, कसैलाई मैले घटाएर बोलें भन्ने लाग्छ ।

६ वर्षयताको मेरो लेखस्व नेपालमा अधिकृतस्तरको कर्मचारीले वर्षभरि जति  तलब पाउनुहुन्छ एभरेजमा वर्षमा त्यति  जति हुन्छ । हो एकै प्रकाशकसँग काम गरेको यो मेरो पाँचौं पुस्तक हो । मैले पहिला १५ अहिले २० प्रतिशत रोयल्टी पाउने गरेकी छु । र अहिले लेखकलाई चित्त नबुझे अन्य प्रकाशन गृहमा जाने बाटो  पनि छ । यस्तै हो भनेर एउटै प्रकाशकसँग रहने बाध्यता पनि छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
निर्भीकजंग रायमाझी

साहित्यमा रुची राख्ने रायमाझी साहित्य र कला बिषयमा रिर्पोटिङ गर्छन् ।

ट्रेन्डिङ

Advertisment