Comments Add Comment

गुरुप्रति आस्था प्रकट गर्दै मनाइयो गुरुपूर्णिमा

९ साउन, काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन शनिबार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइएको छ ।

गुरुपूर्णिमाका अवसरमा विगत वर्षमा औपचारिक कार्यक्रम आयोजना गर्ने गरिएकाेमा यसपटक नयाँ भेरियन्टसहितको कोरोनाभाइरस सङ्क्रमणको जोखिम कायमै रहेका कारण फरक तरिकाले मनाइएको छ । घरबाटै जीवित गुरुलाई फोन, सामाजिक सञ्जालबाट सम्झने, कृतज्ञता ज्ञापन गर्नेलगायत तरिका अपनाइएको छ । सामान्यरूपमा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर औपचारिक कार्यक्रम पनि भएको छ ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर ।
गुरु : साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम: ।।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरुपूर्णिमाका अवसरमा आज विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेकामा यस वर्ष कोरोनाभाइरस सङ्क्रमणबाट बच्न सार्वजनिक कार्यक्रम नभएकाले मानसिकरूपमा श्रद्धाभाव प्रकट गरिएको छ ।

मनाइयो व्यास जयन्ती

वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा आजै व्यास जयन्ती पनि मनाइएको छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

व्यासले पुराण र उपपुराणका माध्यमबाट सारमा यस्तो सन्देश दिन खोज्नुभएको धर्मशास्त्राचार्यहरुको तर्क छ–

‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकार पुण्याय पापाय परपीडनम्’ ।।

अर्थात् अरुको उपकार गरे धर्म हुन्छ एवं अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन् । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन् । जीवनमा केही सिकाउने, बाटो देखाउनेलाई सम्मान गर्ने परम्परा प्राचीनकालदेखि चल्दै आएको हो ।

यस्तो वैदिक गुरु परम्परालाई गुरुकुलले विशेषरूपमा निरन्तरता दिंदै आएका छन् । आधुनिक शिक्षा परम्परामा भने गुरुको हुनुपर्ने जति सम्मान नभएको गुनासो पनि सुनिन्छ । यसैबीच जुम प्रविधिका माध्यमबाट विभिन्न विद्यालयले पनि गुरुपूर्णिमा पर्व शिक्षा दिने गुरु, गुरुआमाप्रति श्रद्धा प्रकट गरी मनाएका छन् । आधुनिक शिक्षा प्रणालीमा गुरुप्रति सम्मान एवं श्रद्धा प्रकट गर्ने क्रम घट्दै गएको विश्लेषण हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment