Comments Add Comment

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाउने

१० साउन, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समतीले मंगलबार (१२ साउनमा) अन्तिम प्रतिवेदन बुझाउने भएको छ ।

पूर्वनिर्धारित कार्यतालिकाभन्दा ढिलो गरी प्रतिवेदन बुझाउन लागेको लागेको समितिले देशभर करीब १०० वडामा १३औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई मान्यता दिन सिफारिश गरेको छ ।

समिति प्रवक्ता प्रदीप पौडेलले मंगलबार पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई क्रियाशील सदस्यताको प्रतिवेदन बुझाउने जानकारी दिए । ‘हामीले आफ्नो काम सकेका छौं,’ उनले अनलाइनखबरसँग भने, ‘केही ठाउँबाहेक समितिले सर्वसम्मत रुपमा सहमति गरेर सदस्यतालाई टुंग्याएका छौं ।’

सबैभन्दा बढी विवादित प्रदेश दुईका सप्तरी र बारा जिल्लाको क्रियाशील सदस्यतामा समितिले सहमति जुटाउन सकेन । समिति प्रवक्ता पौडेलले समितिमा सहमति जुट्न नसक्दा बारा र सप्तरीमा नयाँ र समायोजनलाई स्थगन गर्न सिफारिस गरिएको छ । ‘यी दुई जिल्लामा निकै समस्या देखियो । विवाद पनि जटिल खालको भएकाले यसपटक नयाँ र समायोजनलाई हामीले स्थगन गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘अब बारा र सप्तरीको हकमा १३ औं महाधिवेशनकै क्रियाशीलबाट महाधिवेशन प्रक्रिया अगाडि बढ्छ ।’

त्यस्तै समायोजनको विषयमा सिन्धुपाल्चोक र रसुवामा विवाद देखिएको छ । समितिले यी दुई जिल्लाबारे निर्णय गर्न केन्द्रीय पदाधिकारीलाई सिफारिश गरेको हो ।

त्यस्तै धनुषा क्षेत्र-४ मा पनि विवाद देखिएको छ । त्यहाँ १३ औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई लिएर विवाद कायमै भएकाले नयाँ र समायोजनमा पनि विवाद देखिएको हो ।

सर्लाही क्षेत्र नं. २ मा समायोजनका विषयमा देखिएको विवाद कायमै रहेपछि १३ औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई मान्यता दिइएको छ । सर्लाही-२ मा तत्कालीन राजपाका नेता जंगीलाल यादव कांग्रेस प्रवेश गरेका थिए । उनलाई दिइएको क्रियाशील सदस्यताका विषयमा अर्काे पक्षले असन्तुष्टि जनाएको हो । बाराका केही नेता कार्यकर्ताहरु करिव १५ दिनदेखि पार्टी कार्यालय सानेपामा धर्नामा छन् ।

समिति प्रवक्ता पौडेलका अनुसार देशभर करीब १०० वडामा १३औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई मान्यता दिने प्रतिवेदनमा उल्लेख छ । कांग्रेसमा क्रियाशील सदस्यको संख्या ८ लाख ५३ हजार पुगेको छ । त्यसमध्ये करीब १२ हजार नयाँ र समायोजनको सदस्यता स्थगन गरिएको छ भने ३५ देखि ४० हजारले सदस्यता नवीकरण नगरेको समितिले जनाएको छ । विभिन्न देशमा रहेका कांग्रेस निकट जनसम्पर्क समितिको क्रियाशील सदस्यता सूची अझै समितिसँग आएको छैन ।

क्रियाशील सदस्यताको काम समयमै नटुंगिदा कांग्रेस महाधिवशेन कार्यतालिका प्रभावित भइसकेको छ । १२ साउनका लागि तय भएको वडा अधिवेशन स्थगित भइसकेको छ । अन्य स्थानीय अधिवेशनको पनि कार्यतालिका प्रभावित भइसकेको छ । कांग्रेसले नयाँ कार्यतालिका भने सार्वजनिक गरेको छैन । कांग्रेसको १४औं महाधिवेशन भदौ १६-१९ सम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment