Comments Add Comment

जसले निषेधाज्ञामा सप्तरीका विपन्नको चुल्हो बाल्न सघाए

१० साउन, सप्तरी । कोरोना संक्रमण नियन्त्रणका लागि सप्तरीमा वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी गरियो । निषेधाज्ञाको अवधि लम्बिँदै जाँदा दैनिक ज्याला मजदुरी गरेर छाक टार्दै आएका परिवारलाई समस्या पर्न थाल्यो । सदरमुकाम राजविराज नगरपालिका–६ स्थित मुसहर बस्तीका व्यक्तिलाई भोकले समस्या पार्न थाल्यो । यो खबर पाएपछि अभियन्ता सुनिता साहले एक छाक राहत वितरण अभियान प्रारम्भ गरिन् ।

शुरुमा आफैंबाट मात्रै शुरु गरिएको यो अभियानबारे जानकारी पाएपछि भोको पेट बसिरहेकाहरु सुनिताको सम्पर्कमा आउन थाले । अधिकांश गरीब तथा दलित समुदायका व्यक्ति भोको छु भन्दै सुनितालाई गुहार्न थाले । यसपछि राष्ट्रिय एकता अभियानकी केन्द्रीय उपाध्यक्ष समेत रहेकी उनी आफ्ना साथीहरुको सहयोग लिएर अभियानलाई थप प्रभावकारी बनाइन् ।

सुनिताले अभियानकी जिल्ला महिला प्रमुख रमिता साह समेतको सहयोग लिएर एक छाकका लागि दुई किलो चामल, दाल, आलु, नून लिएर गरीबको घर–घर पुग्न थालिन् । कतिलाई त १० छाकसम्म नियमित राहत उपलब्ध गराएको उनी बताउँछिन् ।

राजविराज र आसपासका दलित बस्तीमा उनले राहत पुर्‍याइन् । ‘जहाँका मान्छेलाई छाक टार्न समस्या हुन्थ्यो, त्यहाँको सूचना पत्ता लगाएर राहत बोकेर हिँडिहाल्यौं,’ सुनितालाई अभियानमा सहयोग गर्दै आएकी रमिला साह भन्छिन्, “कहिले हिँडेरै त कहिले साइकलमा राहतको बोका बोकेर हिंडेकी छु ।’

गत वर्षको लकडाउनमा प्रदेश र स्थानीय सरकारले मिलेर प्रदेश २ का विपन्न र गरीबलाई राहत वितरण गरिएको थियो । यस पटक कुनै सरकारी निकायले राहत वितरण गरेनन् । सरकारी निकायले राहत वितरण नगर्दा भोकले छटपटिएका व्यक्ति देखेकी सुनिताले अहिलेसम्म यो अभियानलाई निरन्तरता दिएकी छन् ।

‘शुरुमा त आफ्नै खर्चमा गरे, पछि अभियानलाई देखेर सहयोग गर्नेहरु आफूलाई खोज्न थालें,’ सुनिता भन्छिन्, ‘जन्मदिन, वैवाहिक वर्षगाँठ मनाउने व्यक्तिहरु खर्च हुने रकम राहत वितरणकै निम्ति खर्चिन थालेपछि आफूलाई धेरै सजिलो भयो ।’

सुनिताका अनुसार निषेधाज्ञाको समयमा मात्रै दुई हजार जति परिवारलाई दुई किलोका दरले राहत वितरण गरिएको छ । बन्दाबन्दीमा शुरु गरिएको राहत वितरण गर्ने क्रमलाई उनले अहिले पनि निरन्तरता दिएकी छन् । हालै मात्र डुबानमा परेका राजविराज–२ का सात परिवारलाई उनले राहत उपलब्ध गराएकी छन् ।

सहयोगी खोजेर बाले विपन्नको चुल्हो

सुनिता झैं बन्दाबन्दीको समयमा पेट पाल्न समस्या हुनेहरुका लागि जिल्लामा रहेको युवाहरुको संस्था सप्तरी युथ नेपाल पनि जुर्मुरायो । सामाजिक सञ्जाल मार्फत् सहयोगी खोजेर यो संस्थाका पदाधिकारीले छाक टार्न समस्या हुनेको चुल्हो बाल्ने प्रयास गरे ।

सामाजिक सञ्जालमा विपन्नलाई सहयोग गर्न गरिएको आग्रहपछि सहयोगीहरु अगाडि आए । शुरुमा केही सहयोगी मात्रै अगाडि आएको र पछि सहयोग गर्नेहरुको नाम फोटोसहित पोष्ट हुन थालेपछि अन्य सहयोगी पनि अगाडि आएको बताउँछन् सप्तरी युथ नेपालका कोषाध्यक्ष विष्णु यादव । एक दाताले एक विपन्न परिवारका लागि एक महिनाको खाद्यान्न सहयोग गरेको उनले बताए ।

दाताले उपलब्ध गराएको खाद्यान्न सहयोग युथ नेपालका पदाधिकारी मिलेर विपन्नको घरसम्म पुर्‍याएका छन् । यादवका अनुसार हालसम्म दाताको सहयोगमा सय जनाभन्दा बढी विपन्न परिवारलाई एक महिनाको खाद्यान्न सहयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment