Comments Add Comment

सुदूरपश्चिममा कोरोना : बढ्दो संक्रमण, घट्दो सावधानी

फाइल फोटो

११ साउन, डोटी । साउन महिनाको पहिलो १० दिनमा सुदूरपश्चिममा कोरोना संक्रमण दरमा वृद्धि भएको देखिएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार प्रदेशमा पिसिआर बिधिबाट परीक्षण गराउनेहरुमध्ये २५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । १० दिनमा पीसीआर बिधिबाट एक हजार एक सय ८७ जनाको परीक्षण गरिएकोमा दुई सय ९७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ ।

आइतबारमात्रै सुदूरपश्चिम प्रदेशमा ४१ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार कञ्चनपुरमा १३ र बैतडीमा एक जनामा कारोना संक्रमण देखिएको छ ।

साउनको पहिलो १० दिनको संक्रमण दर हेर्दा गत असार महिनाको भन्दा बढी देखिएको छ । असार महिनामा पीसीआर बिधिबाट ६ हजार ७९ जनामा परीक्षण गरिएकोमा आठ सय ८१ अर्थात् १४ प्रतिशतमा कोरोनाको संक्रमण देखिएको थियो । महामारी सुरु भएदेखि असार महिनासम्ममा सुदूरपश्चिममा कुल पीसीआर परीक्षण गराउनेमध्ये १८.२२ प्रतिशतमा संक्रमण देखिएको थियो भने साउन १० गतेसम्ममा कुल परीक्षण गराउने एक लाख ९७ हजार ९४ मध्ये ३५ हजार नौ सय ७२ अर्थात् १८.२५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।

विगतको भन्दा केही सचेतना त बढेको देखिन्छ, तर अझै असावधानी धेरै छन् । हामीले महामारीसँगै जीउन सिक्नु पर्छ र त्यसका लागि सावधानी अपनाउन जरुरी छ- डा. निराजन शर्मा

साउनमा एण्टिजेन विधिबाट परीक्षण गरिएका चार हजार चार सय नौ जनामध्ये एक सय १२ जनामा कोरोनाको संक्रमण देखिएको छ । एण्टिजेन विधिबाट परीक्षण गराउँदा देखिने संक्रमण दरमा भने विगतको भन्दा कमी देखिएको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म एण्टिजेन विधिबाट ८७ हजार तीन सय ५८ जनामध्ये १० प्रतिशतमा कोरोनाको संक्रमण देखिएको छ ।

सक्रिय संक्रमित ४७६

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबारसम्म सुदूरपश्चिममा चार सय ७६ जना संक्रिय संक्रमित रहेका छन् । एण्टिजेन बिधिबाट पुष्टि भएका एक सय ७७ र पीसीआर विधिबाट पुष्टि भएका दुई सय ९९ सक्रिय संक्रमित रहेका छन् ।

कैलालीमा दुई सय ६, कञ्चनपुरमा एक सय १६, डडेल्धुरामा ५८, दार्चुलामा २९ र बैतडीमा २५ जना सक्रिय संक्रमित छन् । यस्तै बझाङमा १४, बाजुरा र डोटीमा १०/१० र अछाममा आठ सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

सावधानी घट्यो

परीक्षण गराउनेको संख्या कम भएपछि कोरोना संक्रमण दर घटेको देखिदैन । तर, सावधानी भने अपनाउन छोडिएको छ । सहरी क्षेत्रमा भौतिक दुरी कायम नगरि भेलाहरु सुरु हुन थालेका छन् । सार्वजनिक यातायातहरुमा पनि क्षमताभन्दा बढी यात्रुहरु बोक्ने गरेको देखिन्छ ।

जिल्ला सदरमुकाममै महामारीको विषयमा कसैले त्रास नभएको बताउँछन् दिपायल सिलगढी नगरपालिकाका कृष्ण सुनार । ‘बैंकमा जाँदा भिड देखिन्छ, प्रशासनमा त्यस्तै भिड छ’ सुनार भन्छन्, ‘बजारमा किनमेल गर्नेको भिड उस्तै छ, सावधानी कतै पनि देखिंदैन ।’ उनले अचेल मास्क लाउनेको संख्या पनि घट्दै गएको बताए ।

गाउँ–गाउँमा पनि कोरोना बिर्सिने गरी व्यवहार भइरहेका छन् । ‘अब त कोरोना बिर्सिसके, गाउँमा मास्क प्रयोग गर्ने मान्छे भेटिंदैनन्’ पूर्वीचौकी गाउँपालिका–२ का भीमबहादुर ठकुल्ला भन्छन्, ‘गाउँतिर फेरि पुरानै चहलपहल फर्किएको छ ।’

ठकुल्लाको जस्तै अनुभव छ आदर्श गाउँपालिका–५ का धर्म रोकायाको पनि । उनी भन्छन्, ‘गाउँमा महामारी भन्ने शब्द नै बिर्सिसके सबै ।’ उनले सुरुसुरुमा त कसैकसैले मास्क लाउने गरेका तर अचेल त्यो पनि छोडेको बताए । ‘रमाइलो गर्ने, जमघट हुने, घुम्ने कार्य लागेकै छ,’ रोकायाले भने, ‘कोरोना संक्रमणका कारण धेरैले रोजगारी गुमाउनु परेकाले आर्थिक रुपमा भने समस्या छ ।’

हामी पहिलेदेखि नै जोखिममा छौं : चिकित्सक

सुदूरपश्चिम प्रदेश कोरोना महामारीका कारण पहिलेदेखि नै जोखिममा रहेको बताउँछन् सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. निराजन शर्मा । ‘विगतको भन्दा केही सचेतना त बढेको देखिन्छ, तर अझै असावधानी धेरै छन्,’ डा शर्मा भन्छन्, ‘अब हामीले महामारीसँगै जीउन सिक्नु पर्छ र त्यसका लागि सावधानी अपनाउन जरुरी छ ।’ उनले परीक्षणको दायरालाई पनि अझ फराकिलो बनाउनु पर्नेमा जोड दिए ।

परीक्षण नभई किटान गर्न सकिने अवस्था नभए पनि लक्षणहरुले गर्दा कोरोनाको तेस्रो लहर सुरु भए जस्तो देखिएको डा शर्माले वताए । उनले भने, ‘पखाला लाग्ने, कब्जियत देखिने, पेट पोल्ने, खाना खान मन नलाग्ने, जीउ दुख्ने जस्ता लक्षणहरु भएको बिरामीहरुमा परीक्षण गर्दा संक्रमण देखिएको छ, नयाँ भेरियण्टको संक्रमण सुरु भए जस्तो देखिन्छ ।’

कोरोना संक्रमणले चुनौतीका साथसाथै अवसर पनि दिएको डा. शर्माको भनाइ छ । ‘भिडभाड हुने सरकारी कार्यालयमा भौतिक उपस्थितिमै सेवा दिनु भन्दा अनलाइनबाट काम गर्न सकिन्छ’ उनले भने, ‘एउटै ठाउँबाट प्रवाह हुने सेवालाई विकेन्द्रित गरी समुदायस्तरमा सेवा प्रवाह गर्न सकिन्छ ।’

उनले भौतिक रुपमै उपस्थित गराउनु पर्ने, ल्याप्चे लाउनु पर्ने परम्परागत कार्यशैलीले पनि असावधानी बढेको बताए । उनले थपे, ‘हाम्रो कार्यशैलीमा सुधार ल्याउने यो अवसरमा पनि हो ।’

यो पनि पढ्नुहोस कोरोना महामारीः के नेपाल अर्को ठूलो क्षतिको नजिक पुग्दैछ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment