Comments Add Comment

कुप्रो होउन्जेल खिचिराख्ने पैसाको कुरा

सानो छँदा बाबाले घरमा आउने सबैलाई सुनाउनुहुन्थ्यो- ‘मैले जति गरें, जे गरें यसमै खुशी छु । अबको मेरो खुशी या सपना, जे भने पनि छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउनु हो ।’

म सोच्थें- ठूलो मान्छे भनेको चाहिं कस्तो होला है ?

आज उमेरले ठूलो भएको छु कमसेकम बुवा-आमाको लागि । तर उहाँको खुशी र सपना दुवै कुरा अझैसम्म पनि अधुरा नै छन् ।

हामीलाई नि ठूलो रहर अनि सपना हुन्छ । बुवा-आमासँगै बसेर राम्रो जागिर गरुँ । अनि महीनाको तलब बुझेर खुशी हुँदै उहाँहरुको हातमा थमाइदिउँ । सबै रहर अनि सपना सधैं पूरा हुँदा रहेनछन् ।

‘कति पैसा भए मानिस खुशी हुन्छ ? मानिसलाई कति पैसा भए पुग्छ ?’  आफैंले आफैंलाई सोध्छु । अनि फेरि आफैंलाई लाग्छ- ‘पैसा मानिसलाई यति नै चाहिन्छ भन्ने छैन । तर, आवश्यकताभन्दा बढी पैसा थुपार्दा मानिसलाई थप तनाव र बोझ हुन्छ । पैसा जति कमायो उति कमाइरहने इच्छा हुन्छ ।’

विश्वभरि महामारीको रुपमा फैलिइरहेको कोरोनाभाइरस (कोभिड-१९) ले गर्दा बिचल्लीमा परेको निजी विद्यालयमा कार्यरत शिक्षक अनि स-साना अनलाइनमा काम गर्ने म । बीएस्सी एजी पाँचौं सेमेस्टरमा अध्ययनरत एक विद्यार्थी पनि । निम्नवर्गीय परिवारबाट हुर्केको म काम नगरी पढ्न सक्ने अवस्था, जसोतसो सरकारी क्याम्पसमा नाम निकालें ।

अध्ययन अध्यापन चलिरहेको थियो, संघर्ष गरिरहेको थिएँ । यत्तिकैमा कोरोना भन्ने जन्तु प्रवेश गर्‍यो । लकडाउन शुरु भयो । घर गइयो । १०-१५ दिन सारै रमाइलो भयो, डुलियो । अनेक थरी पकाएर खाइयो । तास, लुँडो, भलिबल खेलेर नि दिन कटाइयो । वर्षौं नभेटिएका साथीहरूसँग पनि भेट भयो । आज सकिएला, भोलि सकिएला … । अहँ लकडाउन खुल्ने छाँटकाँट नै देखिएन ।

पोहोर साल पनि यस्तै पीडा थियो । त्यसलाई पछ्याउँदै अहिले पनि थपियो । अझै कति थपिंदै जाने हो ।

असार लाग्न थाल्यो, एक शैक्षिक वर्षको आधा वर्ष जान लाग्यो । मन आत्तिन थाल्यो । कलेजको फीको डर छुट्टै छ । त्योभन्दा ठूलो डर त सहकारीको ऋणको पो लाग्छ । भाडा तिर्न बाँकी भाको ३ पुगेर ४ महीना लाग्न लागिसक्यो । घरबेटीको कचकच खपिसक्नु छैन । खल्ती रित्तियो, जागिर गयो । कोरोना झन् घट्ला भन्दा रफ्तारमा बढ्न थालेको छ । पेट पोल्न थाल्यो, अनिद्राले रातदिन पिरोल्ने गर्छ । मनमा अनेक कुराहरू मात्र खेलिरहन्छन् ।

यस्तै हालत एक वर्षसम्म रह्यो भने के होला है ? पोहोर सालको पीडा उस्तै छ । अझ अहिले फेरि पनि कोठाको एक वर्षको भाडा कसरी तिर्ने होला है ? अब पढाइ के हुन्छ होला ? आफ्नो पढाइको फी कसरी तिर्ने होला ! जागिरको त झन् टुङ्गो नै भएन ।

अब त अलि सुधार आउँछ कि भनेको किन हुन्थ्यो र ! नेपालमा कोरोनाले असली धुम त अब पो मच्चाउने देख्दैछु, फेरि कडाइ शुरु भएको सुन्दैछु ।

घरबेटीको ताकेता, खुस्किएको जागिर, उदासीन सरकार, किसान आमा यहीबेला घरमा स्वास्थ्य, मनमा घाउ र पीर त कति हो कति । म जस्तै अरु पनि त होलान् नि है ?

रहर त कसलाई हुन्छ र, बुवाआमाको गोजी रित्तो भएको थाहा पाउँदा-पाउँदै पनि आफूले केही नगरेर बस्न ! उहाँहरूले माया-ममतासँगै पैसाले भरिदिएको गोजी, आज पैसाले रित्तो भएको छ । आफ्नो गोजी भरिपूर्ण गर्न बुवा-आमाको मायासँगै कागजको टुक्रा हाल्ने गरेको छु । तर बुवा-आमालाई कागजको टुक्रामा नम्बर चाहिन्छ, खाली कागजमा मायाको कुनै अर्थ छैन । जसरी मैले पढ्दै गर्दा प्रत्येक विषयमा नम्बर चाहिन्थ्यो । आफ्नो खर्च चलाउन पैसा माग्न नि आँट आउँदैन । मन भारी भएर आउँछ ।

मेरो जिन्दगीको सबैभन्दा गाह्रो क्षण त्यही बनेको छ, जुन दिन महीना बितेर घरबेटी ढोका ढकढक्याउँदै आउँछन् । अनि तीन-चार दिनदेखि भोलि-भोलि भनी टार्नुपर्ने बाध्यताका बीच अन्ततः घरमा फोन गर्नै पर्ने विकल्प । महीनाभरि घरमा फोन गरेर नथाकेको म त्यो एक दिनमै सोच्न बाध्य हुन्छु । घरमा फोन गर्न नपरेको भए कति खुशी हुन्थें होला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment