Comments Add Comment

गगन र विश्वप्रकाशहरु दुलो पसिसक्नुभयो : विद्यासुन्दर शाक्य

११ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहेको बताएका छन्। काठमाडौँ महानगरपालिकाको वडा–२१ को वडा कार्यालय भवन शिलान्यास गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताएका हुन् ।

‘हामी दलीय प्रधानमन्त्रीको पक्षमा छौँ, दलीय व्यवस्थालाई परिपक्व बनाउन चाहन्छौँ,’ प्रमुख शाक्यले भने, ‘तर, अदालतको परमादेशबाट निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहनु भएको छ। अहिले मुलुकमा दलको प्रधानमन्त्री छैन ।’

शाक्यले अहिले स्थानीय तह र प्रदेशमा दलीय व्यवस्था भए पनि प्रधानमन्त्री निर्दलीय रहेको दाबी गरे। ‘दलको ह्वीप नलाग्ने प्रधानमन्त्री भनेको निर्दलीय प्रधानमन्त्री हो । यो विडम्वनापूर्ण अवस्था हो,’ उनले भने, ‘संविधान निर्माताहरुलाई म प्रश्न गर्न चाहन्छु । के संविधान लेख्दै त्यहाँ निर्दलीय प्रधानमन्त्रीको परिकल्पना गरिएको थियो ? कि संविधानको अपव्याख्या गरेर निर्दलीय प्रधानमन्त्री बनाएको हो ?’

उनले संविधान लेख्दा त्यो परिकल्पना गरिएको थिएन होला भन्दै अहिले त्यसलाई अपव्याख्या गरिएको हुनसक्ने बताए ।  ‘दलको ह्वीप नलाग्ने, दलको ह्वीप नमान्ने सांसदलाई दलले कारवाही गर्न नपाउने त्यस्तो पनि हुन्छ ? हिजो हामी जुन व्यवस्थाको विरुद्धमा लागेका थियौँ,अहिले त्यही व्यवस्थातर्फ धकेल्ने कार्य भैरहेको छ,’ उनले भने, ‘यो गलत छ । यो चाँहि प्रतिगमन हो । अहिले प्रधानमन्त्री बनाउने प्रक्रिया नै प्रतिगामी छ ।’

दलीय प्रधानमन्त्री बनाउनुको अर्को विकल्प नभएको उनको भनाइ छ ।  ‘अब स्थानीय तहको निर्वाचन फागुनमा हुँदैछ। त्यतिबेला हामी जनताको घर–दैलोमा पुगेर भन्नुपर्छ। हामीले ०४६ साल अघिको निर्दलीय प्रधानमन्त्री होइन, बहुदलीय व्यवस्थापछिको दलीय प्रधानमन्त्री खोजेका हौँ,’ शाक्यले भने, ‘दलीय व्यवस्थालाई बलियो बनाउन हामी सबै एकजुट हुनुपर्छ । म गगन थापा, विश्वप्रकाश शर्माहरुलाई पनि मुलुकमा निर्दलीय होइन, दलीय प्रधानमन्त्री चाहिन्छ भनेर बोल्ने आँट गर्नुहोस् भन्ने सुझाव दिन्छु । तर, उहाँहरु अब बोल्नुहुन्न । उहाँहरु दुलो पसिसक्नु भयो । अब हामी बोल्छौँ ।’

ह्वीप नमान्नु पार्टीको नितिविरुद्ध काम   

प्रमुख शाक्यले पार्टी भनेको आफ्नो घर भएको भन्दै घरको नीतिअनुसार चल्नुपर्नेमा पनि जोड दिए । ‘म निर्वाचनमा सूर्य चिन्ह लिएर उठेको थिएँ । मलाई मतदाताले मेयरमा निर्वाचित गर्नुभयो । अब म रुख चिन्हमा भोट हाल्छु भन्दै हिँड्न मिल्छ ? मेरो नैतिकताले दिन्छ ? मिल्दैन,’ उनले भने, ‘अहिले केही साथीहरुले यस्तै नमिल्ने काम गरिरहनु भएको छ । कुनै दलको चिन्ह लिएर चुनावी मैदानमा आउने अनि निर्वाचित भएपछि स्वतन्त्र बन्ने परिकल्पना हामीले गरेका थिएनौँ । तर, अहिले त्यस्तै काम भैरहेको छ । यो क्षणिक समयका लागि मात्रै हो ।’

उनले दलीय व्यवस्थालाई मास्ने काम भैरहेको र यो गलत परम्पराको थालनी भएको ठोकुवा गरे ।

नेकपा एमालेबाट निर्वाचित केही सासंदहरुले संविधान बचाउन शेरबहादुर देउवाको पक्षमा मतदान गरेको भन्नु हास्यास्पद भएको पनि उनले बताए । ‘म उहाँहरुलाई भन्न चाहन्छु । त्यतिबेला सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा किन दिनु भएन ? त्यतिबेला मत दिएको भए संसद विघटन गर्नुपर्ने अवस्था नै रहने थिएन,’ उनले भने, ‘अहिले अर्को पार्टीको नेतालाई भोट दिएर प्रधानमन्त्री बनाउने अनि संसद बचाएको भन्ने कुरा लोकप्रिय बन्न खोज्ने कुरा मात्रै हो ।’

‘सबै वडा कार्यलय बन्छ’

शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई सम्पन्न गर्ने पुनः प्रतिवद्धता व्यक्त गरेका छन् । वडा-२१ को वडा भवनको आज शिलान्यास गर्ने सिलसिलामा उनले  निर्वाचित भएर आएपछिको पहिलो बैठकमा काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम  गरेको बताए ।

शाक्यले यस अघि वडा-३, ४, ९, १४, १८, २६ लगायतका वडा काउर्यालयका भवनबाट सेवा सुरु भैरहेको जानकारी दिए । ‘केही कार्यालय भवनको निर्माण कार्य जारी छ ।

‘केही वडा कार्यालयको खरिद प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘वडा-१२ को पनि हामी केही दिनमै शिलान्यास गर्दै छौँ ।’ उनले केही वडा कार्यालय भवन भने कानुनी र प्राविधिक समस्याका कारण प्रक्रिया अघि बढ्न नसकेको जानकारी दिए ।

‘मुद्धा परेका कारण हामीले महानगरपालिकाको केन्द्रीय कार्यालय भवन अहिलेसम्म निर्माण गर्न सकेनौँ,’ उनले भन्नुभयो, ‘हामीले निर्वाचनका बेला प्रतिवद्दता व्यक्त गरेका धेरै काम सम्पन्न गरेका छौँ । केही काम भने कानुनी र प्राविधिक कारणले समस्या भएको छ ।’

काठमाडौँ महानगरपालिकामा फरक-फरक विचारधारा राख्ने जनप्रतिनिधि निर्वाचित भएर आएका भए पनि आफ्नो कार्यकालमा कार्यपालिका र नगरसभाका सबै निर्णय सम्र्वसम्मतिमा अघि बढाउन सफल भएको भन्दै उनले खुशी व्यक्त गरे ।

‘पूर्वाधार थपिदैँ र जनसंख्या बढ्दै गएपछि पहिला निर्माण भएका वडा भवनबाट सेवा प्रवाह गर्न असजिलो हुने भएकाले हामीले वडा कार्यालय भवन पुनर्निमाण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाएका हौँ,’ उनले भने, ‘खरिद प्रक्रियामा रहेका काम मात्रै हामीले सम्पन्न गर्ने हो भने पनि यहाँ धेरै काम भएको देखिन्छ ।’

प्रमुख शाक्यले आफूले जिम्मेवारी सम्हाल्नु अघिसम्म अधिकांश वडा भवनबाट सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न समस्या हुने खालका रहेको भन्दै अब सबै वडालाई समयानुकुल विकास गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे ।

‘हामीले विस्तारै सबै वडालाई समयानुकुल बनाउँदै लगेका छौँ,’ शाक्यले भने, ‘काठमाडौँ महानगरपालिकाले सबै वडा भवन निर्माण गर्दा मौलिकता झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेका छौँ । हामीले निर्माण गरेका र निर्माण भैरहेका सबै वडा भवनको बाहिरी स्वरुप एकै खालको र मौलिकता झल्किने हुनेछ । भवन परम्परागत नेपाली शैलीको भए पनि भित्र सेवाग्राहीको सेवालाई ध्यानमा राखेर निर्माण गरिरहेका छौँ । यो सबै काम हाम्रै कार्यकाल भित्र सम्पन्न गरेरै छाड्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment