१२ साउन, काठमाडौं । आदिवासी जनजाति महासंघले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको दस्तावेज गैरसंवैधानिक र गैरराजनैतिक भएको टिप्पणी गरेको छ ।
महासंघका अध्यक्ष जगत बरामले प्रेस वक्तव्य जारी गर्दै संघीयता खारेज र धर्मनिरपेक्षता सम्बन्धी जनमतसंग्रह गर्नुपर्ने मिश्रको प्रस्ताव संवैधानिक हुननसक्ने बताएका हुन् ।
‘यस्ता खाले अभिव्यक्ति दिनु गैरसंवैधानिक, गैरराजनैतिक र सामाजिक सद्भाव भड्काउने राष्ट्रियता विरोधी भएको नेपाल आदिवासी जनजाति महासंघको ठहर छ । यस्ताखाले राष्ट्रियता र संविधान विरोधी अभिव्यक्तिप्रति हामी निन्दासहित घोर आपत्ति प्रकट गर्दछौं,’ वक्तव्यमा भनिएको छ ।
बरामले मिश्रको प्रस्तावप्रति ध्यानाकर्षण भएको भन्दै निन्दनीय भएको बताएका छन् ।
विवेकशील साझाका अध्यक्ष मिश्रले सोमबार छलफल तथा बहसका लागि भन्दै ‘ मार्ग परिवर्तन:विचारभन्दा माथि देश ‘ शीर्षकको दस्तावेज सार्वजनिक गरेका थिए । जसमा स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने विषयलाई मुख्य रुपमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया 4