Comments Add Comment

रुपन्देहीमा डेढ अर्ब लगानीमा आलुका परिकार उत्पादन गर्ने उद्योग खुल्दै

१२ साउन,बुटवल । स्वदेशमै आलु उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने उद्देश्यले रुपन्देहीको शुद्धोधनमा आलुका तयारी परिकार उत्पादन गर्ने नेपालकै पहिलो उद्योगको निर्माण शुरु भएको छ ।

फर्स्ट च्वाइस फुड प्रालिले एक अर्ब ५० करोड रुपैयां लगानी गर्ने गरी शुद्धोधन गाउंपालिका ४ मैनहियामा ३ बिघा क्षेत्रफलमा उद्योगको भौतिक पुर्वाधार बनाउन शुरु गरेको हो ।

दुई दशकदेखि मासुका तयारी परिकार उत्पादन गर्दै आएका बुटवलका उद्योगी कृष्ण पौडेलले युरोपियन जातको आलुबाट विभिन्न परिकार उत्पादन गर्ने नयां उद्योग सञ्चालनमा ल्याउन लागेका हुन् । उद्योगको भौतिक पुर्वाधार निर्माणको काम ८० प्रतिशत सकिएको छ ।

जर्मन प्रविधिको पूर्णतया स्वचालित प्लान्टबाट आउंदो बैसाखदेखि उत्पादन शुरु गर्ने सञ्चालक पौडेलले बताए । उद्योगले प्रतिघण्टा २ मेट्रिक टन तयारी परिकार उत्पादन गर्ने उनले बताए ।

उद्योगबाट फ्रेन्च फ्राई, पोटाटो नगेट्स,चिप्स,समोसा,पकौडा,बल्स आदि एक दर्जन परिकार उत्पादन गर्ने छ । ‘ट्रकबाट मेसिनमा आलु खसालेपछि चाहेको परिकार तयार भएर आउंछ’–सञ्चालक पौडेलले भने–‘यस्तो उद्योग नेपालमै पहिलो हो ।’

उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ आलुको आपुर्तिका लागि प्रालिले पहिलो चरणमा ५ हजार किसानमार्फत ६०० हेक्टरमा, दोस्रो चरणमा २० हजार बढी किसानमार्फत १८०० हेक्टरमा र तेस्रो चरणमा ५० हजार किसानलाई आलु खेतीमा आवद्ध गराउने योजना बनाएको छ ।

आलु खेतीका लागि प्रालिले कन्ट्याक्ट फार्मिङको अवधारणा अनुसार रुपन्देहीको शुद्धोधन र तिलोत्तमा नगरपालिका तथा दाङ, बर्दिया, बांके लगायतका जिल्लाका किसानलाई निःशुल्क बिउ, मल र प्रविधि उपलब्ध गराउने नीति बनाएको पौडेलले बताए । किसानले दुई सिजन आलु उत्पादन गर्न सक्ने र उत्पादित आलु उद्योगले उचित मूल्यमा खरिदको सुनिश्चितता गरिदिने उनले बताए ।

उद्योगका उत्पादन नेपालसहित बंगलादेश,मलेशिया,कतार,दुबई लगायतका देशमा विक्रि गर्ने प्रालिको लक्ष्य रहेको छ । उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउंदा सय जना बढीले प्रत्यक्ष रोजगारी पाउने प्रालिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
टोपराज शर्मा

ट्रेन्डिङ

Advertisment