Comments Add Comment

संक्रमितको संख्या ४ हजार नजिक, डेल्टासँगै डेल्टा प्लस सक्रिय

१२ साउन, काठमाडौं । कोरोना महामारीको दोस्रो लहर नियन्त्रणमा नआउँदै दैनिक थपिने संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७ हजार ५१८ नमुना परीक्षण गर्दा ३८९९ जनामा संक्रमण पुष्टि भएको छ ।

अघिल्लो दिन सोमबार देशभरमा १७ हजार २७२ परीक्षणमा ३४२१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । जबकी दोस्रो लहरको उच्च विन्दु मानिएको २८ वैशाखमा २१ हजार ३१६ नमुना परीक्षण गर्दा ९,४८३ जनामा संक्रमण पुष्टि भएको थियो भने २० असारमा दोस्रो लहरमै सबभन्दा कम १,६०३ जनामा संक्रमण पुष्टि भएको थियो ।

तर त्यसयताका २३ दिनको तथ्यांक हेर्दा ४ साउनसम्म संक्रमितको संख्या दुई हजारदेखि ३ हजारबीचमा छ । ५ साउनमा ३,१२३ जनामा संक्रमण देखियो । त्यसको तीन दिनसम्म केही कम भएको दैनिक थपिने संक्रमित ९ साउनबाट ३,११४ पुग्यो । साउन १० गते २,२३७ पुगेको नयाँ संक्रमित संख्या ११ गते ३,४२१ र १२ गते २,८९९ पुगेको छ ।

साप्ताहिक रुपमा हेर्दा २० असारयताको पहिलो साता (२१–२७ असार) मा १६,९६१ जनामा संक्रमण पुष्टि भएको छ । अर्को साता अर्को सात (२८ असार–३ साउन) मा १७ हजार ५३७ जनामा संक्रमण पुष्टि भयो भने तेस्रो साता (४–१० साउन) मा १९,४४८ पुगेको छ ।

दोस्रो लहरमा संक्रमण उच्च रहेकै अवस्थामा लामो समयदेखि संक्रमण स्थिर रहिरहेको अवस्थामा अर्को संक्रामक नयाँ भेरियन्ट देखिए यसले तेस्रो लहरको जोखिम निम्त्याउने खतरा हुने संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

किन बढ्यो संक्रमण ?

पहिलो लहरमा लकडाउन खोलेको झण्डै तीन साताको अवधिमै संक्रमण बढेको थियो । दोस्रो लहरमा पनि संक्रमण वृद्धिको ट्रेन पहिलो लहरमा जस्तै छ । ७ साउनयता क्रमशः निषेधाज्ञा खुकुलो बनाइएको छ र, पछिल्ला दिनमा राजनीतिक गतिविधिसमेत बढेको छ ।

पहिलेभन्दा संक्रामक रहेको डेल्टा भेरियन्ट समुदायमै रहिरहेको अवस्थामा निषेधाज्ञा खुकुलो बन्दा संक्रमण बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोला बताउँछन् । ‘निषेधाज्ञा खुकुलो बन्दै जाँदा धेरै मानिस बाहिर निस्किए । तर उनीहरुले जनस्वास्थ्यका मापदण्ड पालना गरेनन् । जसले गर्दा संक्रमण बढेको देखिन्छ,’ डा. बास्तोलाले भने ।

खोप लगाउने क्रममा खोप केन्द्रहरुमा भीडभाड बढ्न जाँदा खोप लगाएका केही व्यक्तिहरुमा पनि संक्रमण देखिएको उनले बताए ।

पहिलो लहरमा लकडाउन खुलेपछि मानिसले जे–जे गल्ती गरे अहिले पनि त्यही गल्ती दोहोर्‍याउँदा संक्रमण बढ्नुको अर्को कारण रहेको उनको भनाइ छ । पछिल्लो समय तुलनात्मक रुपमा अस्पतालहरुमा संक्रमितको संख्या समेत बढेको डा. बास्तोलाले बताए ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जोखिम कायमै रहेको अवस्थामा निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्यको मापदण्ड पालनामा लापरवाही भएका कारण संक्रमण बढेको बताए । ‘संक्रमण दर उच्च नै थियो । हरेक क्षेत्रमा निषेधाज्ञा खुकुलो पार्दै लैजाँदा भीडभाड पनि बढ्न गयो । जनस्वास्थ्यका मापदण्ड पालनामा लापरवाही हुन गयो । जसले गर्दा संक्रमण बढेको देखिन्छ’ डा. पुनले भने ।

संक्रमण बढ्नुमा राजनीतिक दल लगायत विद्यार्थी संघ–संगठन पनि उत्तिकै दोषी रहेको उनको भनाइ छ । उनीहरुले सडकमा भीडभाड जम्मा गरी नारा–जुलुस गरेका कारण संक्रमण बढेको हुन सक्छ ।

यसैगरी विदेश जाने नागरिक, क्याम्पस स्तरको परीक्षामा सहभागी विद्यार्थीहरुले वाध्यकारी रुपमा परीक्षण गरेका कारण पनि संक्रमण बढेको हुन सक्ने डा. पुनको भनाइ छ । डेल्टा र डेल्टा प्लस भेरियन्ट बढी संक्रामक रहेकाले यसअघि संक्रमण नभएका व्यक्तिहरु नै पछिल्लो समय संक्रमित हुने गरेको पाइएको उनको भनाइ छ ।

दोस्रो लहरमा संक्रमण उच्च रहेकै अवस्थामा लामो समयदेखि संक्रमण स्थिर रहिरहेको अवस्थामा अर्को संक्रामक नयाँ भेरियन्ट देखिए यसले तेस्रो लहरको जोखिम निम्त्याउने खतरा हुने उनले बताए ।

डेल्टासँँगै डेल्टा प्लस सक्रिय

मन्त्रालयका अनुसार अहिले डेल्टा भेरियल्ट र यसको म्युटेन्ट डेल्टा प्लस सक्रिय देखिएको छ । देशभरबाट संकलन गरिएको ४७ वटा नमुना जिन सिक्वेन्सिङका लागि ३० असारमा भारत पठाइएको थियो ।

सबै नमुनामा डेल्टा भेरियन्ट पाइएको छ । त्यसमध्ये ३ वटामा डेल्टा प्लस म्युटेन्ट पाइएको छ । हालसम्म नेपालमा अल्फा, डेल्टा र कप्पा भेरियल्ट भेटिएको छ, जुन बढी संक्रामक मानिन्छ । मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड पालना गर्न र सम्भावित तेस्रो तहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment