Comments Add Comment

खप्तडमा ढकमक्क फुले फूल : हेर्न पाइन्छ, छुन पाइँदैन (फोटो फिचर)

१२ साउन, डोटी । प्राकृतिक सौन्दर्यको खानी प्रसिद्ध पर्यटकीय एवम् धार्मिक क्षेत्र खप्तडमा ढकमक्क फूल फुलेका छन् । यी फूलहरुले खप्तड राष्ट्रिय निकुञ्जमा सौन्दर्य थपिदिएको छन् ।

खप्तड क्षेत्रमा फूल फुलेको दृश्य निकै मनमोहक छ, जसलाई पनि लोभ्याउन सक्ने । त्यसैले त खप्तडलाई धर्तीको स्वर्गको उपमा दिइन्छ ।

डोटी, बाजुरा, बझाङ र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा २२ दह र ३२ पाटन (घाँसे मैदान) रहेका छन् । सुन्दर घाँसे मैदानमा पुग्ने बित्तिकै यात्रीको थकान मेटिन्छ ।

त्रिवेणी धाम, खप्तड दह, नाग ढुङ्गा, केदार ढुङ्गा, खप्तड बाबा आश्रम, शिव मन्दिर यहाँको आकर्षण हुन् । यो ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ हो । खप्तड प्रकृति प्रेमीलाई मात्र नभई, धार्मिक पर्यटकलाई समेत उपयुक्त गन्तव्य हो ।

फूल फुल्ने भएकाले खप्तड घुम्नका लागि साउन/भदौ महीनाको समयमा महत्वपूर्ण मानिन्छ । साउन महीनादेखि ‘भुईं फूल’ फूल्न थाल्छन् भदौका अन्तिमसम्मै फुलिरहन्छन् । खप्तडमा ५४३ जातका यस्ता ‘भुईं फूल’हरु छन् ।

खप्तड क्षेत्रमा ढकमक्क फूलेका यी फूलहरु  हेर्न त पाइन्छ तर सबैलाई छुन चाहिं पाइँदैन । यीमध्ये केही फूलहरु विषालु हुन्छन् । यदि फूलमा छोइहालियो भने अमिलो खानेकुराले त्यसको विष काट्छ । त्यसैले यो समय खप्तड जानेहरुले अमिलो कुरा बोकेर लैजानुपर्छ ।

चैत वैशाखमा खप्तड गएमा रंगीविरंगी लालीगुराँस फुलेको देख्न पाइन्छ । मंसिरदेखि फागुन/चैत्रसम्मको समयमा खप्तडमा बाक्लो हिउँ जम्ने गरेका कारण हिउँप्रेमीहरुका लागि उपयुक्त समय मानिन्छ ।

कसरी पुग्ने ?

प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल खप्तडका लागि मुख्य प्रवेशद्वार डोटीको सिलगढीलाई लिइन्छ ।

सुदूरपश्चिम प्रदेश राजधानी धनगढीबाट करीब ६ घण्टाको सडक यात्रापछि सिलगढी पुगिन्छ । सिलगढीदेखि बगलेगसम्म करीब १० किलोमिटर सडक कालोपत्रे भएसँगै खप्तडको यात्रा झन् सहज भएको छ ।

बगलेदेखि करीब सात किलोमिटर कच्ची सडकको यात्रा गर्दा झिग्राना पुगिन्छ । झिग्रानासम्मको सडक पनि कालोपत्रे हुने अन्तिम चरणमा पुगेको छ । झिग्रानामा खप्तड होमस्टेको व्यवस्था रहेको छ ।

झिग्रानाबाट करीब पाँच घण्टाको पैदल दुरीपछि बिचपानी पुगिन्छ । बिचपानीबाट मनोरम खप्तड क्षेत्र देखिन शुरु हुन्छ । बिचपानीमा खप्तड पर्यटन क्षेत्रले निर्माण गरेको गेष्ट हाउस र केही निजी क्षेत्रबाट सञ्चालनमा रहेका होटेलहरु छन् ।

बझाङको तमैलबाट पनि खप्तड जान सकिन्छ । तमैलबाट लामातोलासम्म लोकल जीप पाइन्छ, जिपमा ४५ मिनेट जति गुड्नुपर्छ ।

लामातोलाबाट ४ घण्टामा लोखाडा (खप्तड बेस क्याम्प) र त्यहाँबाट दुई घण्टामा खप्तडका घाँसे मैदान र क्याम्प साइटसम्म पुग्न सकिन्छ । त्यसपछि उकालो बाटो करीब चार घण्टा हिँडेर खप्तड लेक पुग्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment