Comments Add Comment

गुणस्तर कायम गर्न मोवाइल सेवा प्रदायकहरू असफल

१३ साउन, काठमाडौं । नेपालका मोबाइल सेवा प्रदायक कम्पनी आफ्ना सेवाको गुणस्तर कायम गर्न असफल भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर परीक्षण (ड्राइभ टेस्ट) गर्दा नेपाल टेलिकम, एनसेल आजिएटा र स्मार्ट टेलिकम सेवाको गुणस्तर कायम गर्न असफल देखिएका हुन् ।

प्राधिकरणले यी तीन कम्पनीले २०७७ चैतदेखि २०७८ जेठसम्म दिएको सेवाको गुणस्तरलाई आधार मानेर अध्ययन गरेको थियो । काठमाडौं, भक्तपुर र ललितपुरमा गरिएको परीक्षणमा  तीनवटै कम्पनीले दिने सेवाका कतिपय पक्ष विगतको भन्दा पनि कमजोर देखाएको छ ।

प्राधिकरणले काठमाडौंको कमलादी, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, क्षेत्रपाटी, बागेश्वरी, स्वयम्भू, सीतापाइला, छाउनी, चावहिल, गोठाटार, कपन, मण्डिखाटार, गोल्फुटार, चपली, नारायणथान, गोंगबु, गौशाला, सिनामांगल, शान्तिनगर र  टेकुमा यस्तो परीक्षण गरेको थियो ।

ललितपुरका कुपन्डोल, बालकुमारी, इमाडोल, ग्वार्को, टिकाथली र भक्तपुरका बालकोट, कौशलटार, पेप्सीकोला, नरेफाँटसहित रिंगरोडभित्रका मुख्य तथा सहायक मार्गमा पनि ड्राइभ परीक्षण गरिएको थियो ।

चलायमान सवारीसाधनमा जडान गरिएको परीक्षण उपकरणले लगातार फोन कल गरेर र डाटा प्रयोग गरी मोबाइल नेटवर्कको मुख्य सेवा मानकहरुको तथ्यांक संकलन गरिएको हो ।

ड्राइभ टेस्टमा एकै स्थानमा तीन वटै सेवा प्रदायकहरुको गुणस्तरको तथ्यांक मापन समानान्तर रुपमा एकै साथ गरेर नतिजा निकालिन्छ । यस्तो परीक्षणका धेरै मापदण्डमा सबै कम्पनी ‘असफल’ भएको दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

कल स्थापित हुन ढिलाइ

परीक्षणअनुसार उपभोक्ताले डायल गरेपछि कल स्थापित हुन लाग्ने समय पनि तोकिएको मापदण्डअनुसार छैन । प्राधिकरणले डायल भएको ५ सेकेन्डमा सम्पर्क हुनुपर्ने मापदण्ड बनाएको छ ।

तर, स्मार्ट टेलिकममा मोबाइलमा यस्तो समय १०.२७ सेकेन्ड लाग्ने परीक्षणमा भेटिएको छ । नेपाल टेलिकमका मोबाइलमा ९.३४ सकेन्ड लाग्ने गरेको छ । एनसेलको हकमा भने कल स्थापना हुन लाग्ने समयवधि ५.२७ सकेन्ड रहेको परीक्षणमा भेटिएको छ ।

यसअघि २०७५ असोजमा गरिएको यस्तो परीक्षणमा यस्तो समय अवधि एनसेलमा ८.४८ सेकेन्ड, नेपाल टेलिकममा ११.४८ सेकेन्ड र स्मार्ट टेलिकममा १३.७१ सेकेन्डमा मात्र कल स्थापित हुने गरेको पाइएको थियो ।

कल सफलताको दर कमजोर

नेटवर्कमा उपभोक्ताले गरेको कलमध्ये ९९ प्रतिशत कल सफल हुनुपर्ने प्राधिकरणको मापदण्ड छ, तर स्मार्ट टेलिकमका कलको सफलताको दर ८४.४७ प्रतिशत मात्रै पाइएको थियो ।

परीक्षणले नेपाल टेलिकमको ९०.५१ प्रतिशत र एनसेलको ९४.४३ प्रतिशत कल सफल भएको पाइएको छ ।

कल सफलताको दरमा कम्पनीहरु विगतको भन्दा खस्किएका हुन् । २०७५ असोजको परीक्षणमा नेपाल टेलिकमको कल सफलताको दर ९८.२६ प्रतिशत, एनसेलको ९७.७७ प्रतिशत र स्मार्ट टेलिकमको ९२.३९ प्रतिशत कल मात्र सफल हुने देखिएको थियो ।

आफैं फोनकल बिच्छेद हुने दरमा भने सबै कम्पनीको सेवा मापदण्डअनुसार नै रहेको पाइएको छ । प्राधिकरणले २ प्रतिशतभन्दा बढी कल आफैं सम्पर्क बिच्छेद हुन नहुने मापदण्ड बनाएको छ । नेपाल टेलिकमको ०.८७, स्मार्ट टेलिकमको ०.४५ र एनसेलको ०.२ प्रतिशत कलहरु आफैं काटिने गरेको परीक्षणले देखाएको छ ।

नियामकको बेवास्ता

दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावलीले गुणस्तर कायम नगरेको कारणले उपभोक्ताले दुःख पाएमा क्षतिपूर्ति भर्नुपर्ने व्यवस्था गरेको छ । तोकिएको समय अवधिभित्र  कल स्थापित हुनै पर्ने र कल सफलताको दर ९९ प्रतिशत हुनै पर्ने प्राधिकरणले जनाएको छ । यस्तो मापदण्ड कायम नभए कम्पनीलाई प्राधिकरणले कारवाही गर्न र आवश्यक निर्देशन दिनसक्छ ।

मोबाइलमा कुरा गर्दागर्दै आफैं कल काटिने भए उक्त कुरा गरेको समयावधि बराबरको शुल्क वा फोनकल दर बराबरको रकम अनुमतिपत्र प्राप्त व्यक्तिले क्षतिपूर्तिको रुपमा ग्राहकलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।

यस्तो क्षतिपूर्ति सेवा प्रदायकले ग्राहकको मोबाइल र फोनमै उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने विनियमावलीमा उल्लेख छ । तर, न टेलिकम कम्पनीहरुले यसको कार्यान्वयन गरेका छन् न त नियमनकारी निकाय दूरसञ्चार प्राधिकरणले यसमा अग्रसरता लिएको छ ।

दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता पौडेल गुणस्तर कमजोर देखिएका कम्पनीलाई सुधार गर्न निर्देशन दिइने बताउँछन् । ‘सेवा प्रदायकले तोकिएको गुणस्तर कायम गरेर सेवा दिनुपर्छ,’ उनले भने, ‘यसका लागि प्राधिकरणले आवश्यक निर्देशन दिन्छ ।’

विभिन्न कारणले सेवा प्रभावित हुने गरेको भन्दै प्रवक्ता पौडेलले त्यस्ता पक्षमा सुधारको विकल्प नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment