Comments Add Comment

ओलम्पिक फुटबल : जापान, स्पेन र मेक्सिको क्वाटरफाइनलमा

अर्जेन्टिना र फ्रान्स बाहिरिए

Photo Credit : Reuters

१४ साउन काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको समूह चरणका खेलहरु सकिएका छन् । क्वाटरफाइनल पुग्ने ८ वटै टोलीको टुङ्गो लाग्दा केही ठूला टोली समूह चरणबाटै बाहिरिए ।

यो सूचीमा रियो ओलम्पिक २०१६ मा रजत जितेको जर्मनीसंगै फ्रान्स र अर्जेन्टिना पनि रहे ।

घरेलु टोली जापान, स्पेन, मेक्सिको र इजिप्ट क्वाटरफाइनल प्रवेश गरेका छन् । त्यसअघि नै ब्राजिल, आइभरीकोष्ट, दक्षिण कोरिया र न्युजिल्याण्डले अन्तिम आठमा स्थान बनाइसकेका छन् ।

बुधबार भएको समूह ए को खेलमा फ्रान्सलाई ४-० ले पराजित गरेपछि जापान समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । जापानका लागि ताकेफुसा कुबो, हिरोकी साकाई, कोजी मियोसी र डेइजन माएडाले एक–एक गोल गरे । फ्रान्सका रान्डल कोलो माउनीले ७२औं मिनेटमा रातो कार्ड पाएका थिए ।

यसै समूहको अर्को खेलमा दक्षिण अफ्रिकालाई ३-० ले पराजित गर्दै मेक्सिको समूह उपविजेता बन्यो । खेलमा दुवै टिमका एक–एक खेलाडीले रातो कार्ड पाएका थिए ।

मेक्सिकोका लागि एर्नेस्टो भेगा, लुइस रोमो र हेनरी मार्टिनले गोल गरे । दक्षिण अफ्रिकाका रेपो मालेफवले ५८औं र मेक्सिकोका कार्लोस रोड्रिगेजले ६६औं मिनेटमा रातो कार्ड पाएका थिए ।

समूह ए मा जापानले तीनवटै खेल जित्दै अपराजित रह्यो । दुई खेल जितेको मेक्सिकोले ६ अंक जोड्यो । फ्रान्स भने ३ अंकसहित तेस्रो स्थानमा रहेर बाहिरियो । यस्तै दक्षिण अफ्रिका अंकविहीन रहँदै बाहिरियो ।

यस्तै समूह सी बाट स्पेन समूह विजेता र इजिप्ट समूह उपविजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेका छन् । अन्तिम खेलमा स्पेन र अर्जेन्टिनाले १-१ को बराबरी खेल्दा इजिप्टले अष्ट्रेलियालाई २-० ले हरायो । स्पेनका लागि मिकेल मरिनोले गोल गर्दै अग्रता दिलाए पनि टोमस बेलमोन्टेले अर्जेन्टिनाका लागि बराबरी गोल पर्काएका थिए ।

अर्को खेलमा इजिप्टका लागि यासेर राएन र अमर हामदीले एक–एक गोल गरे ।

स्पेन ३ खेलबाट ५ अंक जोड्दै समूह विजेता बन्यो । इजिप्ट र अर्जेन्टिनाको समान ४ अंक भए पनि गोलअन्तरमा इजिप्ट अगाडि रहँदा अर्जेन्टिना अभागी बन्यो ।

अब क्वाटरफाइनलमा जापानले न्युजिल्याण्डसँग, स्पेनले आइभरीकोष्टसँग, दक्षिण कोरियाले मेक्सिकोसँग तथा ब्राजिलले इजिप्टसँग खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment