+
+

उपकुलपति निवासमा तोडफोड गर्नेमाथि कारबाही गर्न मध्यपश्चिम विश्वविद्यालयको माग

रासस रासस
२०७८ साउन १४ गते १५:०८
फाइल तस्वीर

१४ साउन, कर्णाली । मध्यपश्चिम विश्वविद्यालयले उपकुलपतिको निवास र परीक्षा व्यवस्थापन कार्यालय तोडफोडका घटनामा संलग्न विद्यार्थीलाई कानूनी कारबाही गर्न माग गरेको छ । आन्दोलनरत् विद्यार्थी संगठनलेका प्रतिनिधिहरुसँग वार्ता भइरहेका बेला एक्कासी उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको निवास रहेको विस्तारित कार्यालय र परीक्षा व्यवस्थापन कार्यालय तोडफोड गरिएकाले कानूनी कारबाहीका लागि प्रहरीमा किटानी जाहेरी दिने उपकुलपतिको कार्यालयले जनाएको छ ।

विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय समस्या समाधान समिति र विद्यार्थी संगठनबीच वार्ता भइरहेका बेला बुधबार साँझ केही विद्यार्थी तोडफोडमा उत्रिएका थिए । ढुंगामुढा प्रहारबाट ती दुई कार्यालयका झ्यालढोका सिसा र  गाडीमा क्षति पुगेको छ ।

उपकुलपतिको कार्यालयले प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवालाई अपमान हुने गरी उपकुलपति सिंहलाई जोडेर बनाइएको नक्कली अडियोप्रति घोर भत्र्सना गर्दै त्यसमा संलग्नलाई कडा कारबाही गर्न समेत माग गरेको छ ।

उपकुलपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयलाई ध्वस्त पार्न केही व्यक्तिहरु राष्ट्रिय राजनीतिक नेतृत्व परिवर्तनको मौका छोपी आफ्नो पक्षमा पार्न यस्ता आपराधिक क्रियाकलापको सहारा लिएको पाइएको छ, त्यसमा संलग्न आपराधिक व्यक्तिलाई कुनै हालतमा उन्मुक्ति नदिन माग गर्दछौं ।’

यसैबीच बिहीबार आयोजित पत्रकार सम्मेलनमा उपकुलपति प्रा. डा.  सिंहले विश्वविद्यालयमा भइरहेको बेथितिविरुद्ध कडा कदम चालेपछि आफूविरुद्ध घेराबन्दी भएको बताएका छन् । ‘राजनीतिक नेतृत्वलाई गलत तरिकाले आफ्नो पक्षमा पार्न सक्रिय तत्वले अहिले समस्या सिर्जना गरिरहेको छ,’ उनले भने, ‘विद्यार्थी उचाल्ने, नक्कली अडियो तयार गरी विश्वविद्यालयमा सुधार ल्याउन खोज्ने पदाधिकारीलाई हतोत्साही बनाउने प्रयास भइरहेका छन् । त्यस्ता कुण्ठित मानसिकताबाट डराउने कुरै हुँदैन ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?