१४ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकले ल्याउने चालु आर्थिक वर्षको मौद्रिक नीति आफ्नो कारण नरोकिएको बताएका छन् । चालु आर्थिक वर्षका लागि आउनुपर्ने मौद्रिक नीति ढिलाइ अर्थमन्त्रीकै कारण भइराखेको हो भन्ने चर्चा चलेको विषयमा उनले आफ्नो कारणले ढिलाइ नभएको बताए ।
अर्थमन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकाे भन्दै आफूले सुझावमात्रै दिएको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको छलफलमा बोल्दै अर्थमन्त्री शर्माले ब्याजदर नबढोस्, अर्थतन्त्रलाई नकारात्मक असर नपरोस भनेर केही सुझाव भने दिएको बताए ।
‘राष्ट्र बैंक आफैमा स्वायत्त संस्था हो, मौद्रिक नीति कहिले ल्याउने भन्ने कुरा राष्ट्र बैंककै हो’ उनले भने, ‘मैले गभर्नरसापलाई मेरो यी हुन् सुझाव भनेर केही सुझावहरुमात्रै दिएको छु ।’
नयाँ सरकार गठन भएको र आर्थिक अध्यायदेश संसदमा टेबल भई यसलाई टुङ्याउन बाँकी रहेको भन्दै उनले समयलाई भन्दा पनि विषयवस्तुलाई राष्ट्र बैंकले बुझेर मौद्रिक नीति ल्याउने बताए ।
सरकारको नीति तथा कार्यक्रमलाई समेत सहज हुने गरी हरेक आर्थिक वर्षका लागि राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्ने गरेको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीति राष्ट्र बैंकले साउन पहिलो साता नै सार्वजनिक गर्ने गरी तयारी गरेको थियो । तर आर्थिक वर्षको अन्त्यमा सरकार परिवर्तन भएपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिकमा समेत ढिलाइ गरेको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4