Comments Add Comment

साताका १० गीत : तीज गीतकै वर्चश्व

यस साता दुई दर्जन बढी गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भए । त्यसमा गतसाता जस्तै तीज गीतकै बर्चस्व देखियो । सार्वजनिक गीतमध्ये केही सिमित गीतले मात्र युट्युबमा राम्रो भ्यूज पाए भने धेरै गीतहरु आएको स्रोता एवं दर्शकले पत्तो समेत पाएनन् । कुनै गीतले निकै आलोचना समेत व्यहोर्नुपर्यो । यस साता सार्वजनिक भएकामध्ये १० गीत यसप्रकार छन् ।

‘तिम्रो मनमा ए कान्छा’

यस साता सार्वजनिक गीतमध्ये ‘तिम्रो मनमा ए कान्छा’ फिमेल भर्सनले राम्रो चर्चा पायो ।दुई वर्षअघि सार्वजनिक यस गीतको फिमेल भर्सन गत शनिबार सार्वजनिक भएको हो । गीतमा निखिता थापाको स्वर छ ।

मेल भर्सनमा गीतलाई निमा रायले गाएका थिए । गीतमा निमाकै शब्द तथा संगीत छ । केबिका खत्रीको कोरियोग्राफी, शान थापाको निर्देशन रहेको यो गीतको भिडियोमा पल शाह र मलिका महतको अभिनय छ । यस गीतले युट्युबमा ६ दिनमा २२ लाख २० हजार बढी भ्यूज पाएको छ ।

मल्टिस्टारर ‘माछीलाई खोलीको लेउ’

‘माछीलाई खोलीको लेउ’बोलको गीतको भिडियो बिहीबार मात्रै युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा हरिवंश आचार्य र मेलिना राईको स्वर छ । दिनेश थपलियाको शब्द, बसन्त सापकोटाको संगीत रहेको गीतका एरेन्जर नेरन्द्र वियोगी हुन् । ‘माछीले खाने खोलीको लेउ’ २ को रुपमा ‘माछीलाई खोलीको लेउ’ बोलको गीत ल्याईएको हो । तीन वर्षअघि सार्वजनिक ‘माछीले खाने खोलीको लेउ’ले युट्युबमा ५ करोड भ्यूज पाएको छ । दिनेश थपलियाको शब्द, बसन्त सापकोटाको संगीत रहेको गीतमा मेलिना राई र सरोज वलीको स्वर थियो ।

गज्जव टिभीले निर्माण गरेको ‘माछीलाई खोलीको लेउ’को भिडियोलाई विक्रम स्वारले निर्देशन गरेका हुन् । गीतको भिडियोमा हरिवंश आचार्य, करिष्मा मानन्धर, पल शाह र केकी अधिकारीको अभिनय छ । गीतले युट्युबमा राम्रो भ्यूज पाईरहेको छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा भुपेन्द्र अधिकारी र सुवर्ण दुलालको सम्पादन छ । गीतले २४ घण्टा नपुग्दै युटयुबमा २ लाख १० हजार बढी भ्यूज पाएको छ ।

‘बल्छी धुर्वे’को स्वरमा ‘पारी बन हरियो’

तीज गीत ‘पारी बन हरियो’ पाँच दिनअघि युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा हास्य कलाकारितामा लोकप्रियता कमाएका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धु्रबे)ले स्वर दिएका छन् । गायनमा उनलाई सपना घिमिरे (पौडेल)ले साथ दिएकी छिन् । गीतमा शब्द, संगीत पनि गायिका पौडेलको छ । त्यस्तै यस गीतमा सुदिप सागरको एरेन्ज, किस्मत भान्जाको साउण्ड मिक्सिङ छ ।

दीपेन्द्र तिमिल्सीनाको निर्देशनमा तयार भिडियोमा ‘बल्छी धुर्वे’का साथै राजु पौडेल, दीपेन्द्र तिमिल्सीना, सपना पौडेल, अनिता बस्नेत, सविना आचार्य लगायतको अभिनय छ । सौरभ लामाको छायाङ्कन रहेको गीतको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । गीतले एक साता नपुग्दै युट्युबमा १२ लाख ६० हजार भ्यूज पाएको छ ।

स्वरुपराज र अस्मिताको स्वरमा ‘माया गर्ने मान्छे’

गायक स्वरुपराज आचार्य र गायिका अस्मिता परियारको स्वरमा ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ । पाँच दिनअघि युट्युबमा सार्वजनिक गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त र रोचक जोशीको अभिनय छ ।
गौतम डंगोलको शब्द, अनिल शाहीको संगीत रहेको गीतमा प्रमोद परियारको एरेन्ज छ ।

दिपेश सापकोटाको निर्देशन, विशाल प्रजापति (माइलो)को छायाँकन रहेको भिडियोलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । बजारमा आईरहेका भिडियो भन्दा यो गीतको भिडियो दर्शकलाई फरक लाग्छ । भिडियोले एक साता नपुग्दै युट्युबमा १५ लाख ४३ हजार बढी भ्यूज पाएको छ ।

पशुपति शर्माको ‘नकचरी आएको’

‘नकचरी आएको’ बोलको तीज गीतमा पशुपति शर्मा र टीका पुनको स्वर छ । पशुपति शर्माकै शब्द, संगीत रहेको गीतलाई सुनिल परियारले एरेन्ज गरेका हुन् । दुर्गा पौडेलको निर्देशन एवं छायाँकन रहेको गीतको भिडियोमा गायक पशुपति शर्मा स्वयंमका साथमा अभिनेत्री नम्रता सापकोटाको अभिनय छ । त्यस्तै प्रदीप घिमिरे र प्रीति घर्ती मगरको अभिनय पनि भिडियोमा देख्न सकिन्छ । भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका छन् । गायक पशुपतिले यस गीतलाई यसवर्षका आफ्ना गीतमध्ये मनपरेको गीत भनेका छन् । पशुपति शर्माकै युट्युबमा सार्वजनिक गीतले एक सातामा ४ लाख ५३ हजार बढी भ्यूज पाएको छ ।

दुर्गेशको ‘बीच्च बीच्चमा ४’

गायक दुर्गेश थापाले गत शुक्रबार ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा दुर्गेश र राम खातीको शब्द, दुर्गेशकै संगीत छ । गीतका संगीत संयोजक योगेश काजी हुन् ।

काजीश श्रेष्ठको निर्देशनमा बनेको यो गीतको भिडियोमा दुर्गेश थापा, योगेश काजी, चिरञ्जिवी सापकोटा, सन्तोष बानियाँ लगायतको अभिनय छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् । गीतको भिडियोले एक सातामा १० लाख ९० हजार बढी भ्यूज पाएको छ । गीतले युट्युबमा राम्रो भ्यूज पाएपनि सर्जकहरुले भने यस गीतको निकै आलोचना गरेका छन् ।

राजु परियार र बीमाकुमारीको ‘दिदी भाई’

‘दिदी भाई’ बोलको तीज गीत चार दिनअघि युट्युबमा सार्वजनिक गरिएको हो । विष्णुप्रसाद घिमिरेको शब्द तथा संगीत रहेको गीतमा राजु परियार, बीमाकुमारी दुरा, सचिन परियार, रबिना बसेलले स्वर दिएका छन् । धु्रव हिमालीको निर्देशनमा बनेको गीतको भिडियोमा भने धु्रब हिमाली, सारिका केसी, सचिन परियार, रबिना बसेल, तेजेन्द्र परियार लगायतको अभिनय छ ।

महेश महराले छायाँकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई युट्युबमा ४ लाख ८० हजार बढी पटक हेरिएको छ ।

पशुपति र समीक्षाको ‘तोरी पेले तेल’

तीज गीत ‘तोरी पेले तेल’मा पशुपति शर्मा, समीक्षा अधिकारी र टीका सानुको स्वर छ । नेत्र अर्यालको शब्द, रोशन परियारको संगीत रहेको गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका हुन् ।

प्रकाश भट्टको निर्देशनमा यस गीतको भिडियो तयार भएको हो । भिडियोमा लोमश शर्मा, करिष्मा ढकाल, तेजेन्द्र गौतम, बसन्ती ओली लगायतको अभिनय छ । राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । यो गीतले सार्वजनिक भएको ७ दिनमा झण्डै ४ लाख भ्यूज पाएको छ ।

खेम र शान्तीश्रीको ‘आफ्नो आफ्नो करिम’

खेम सेञ्चुरी र शान्तीश्री परियारको स्वरमा ‘आफ्नो आफ्नो करिम’ बोलको तीज गीत सार्वजनिक गरिएको छ । नेत्र अर्यालको शब्द रहेको गीतमा संगीत गायक खेमको छ भने एरेन्ज कृष्ण बि.के (भान्जा)ले गरेका हुन् । प्रकाश भट्टको निर्देशनमा तयार भिडियोमा अञ्जली अधिकारी, करिष्मा ढकाल, खेम सेञ्चुरीको अभिनय छ । राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । पाँच दिनअघि सार्वजनिक गीतको भिडियोले युट्युबमा ३ लाख २९ हजार भ्यूज पाएको छ ।

शिव परियारको स्वरमा ‘धोकेबाज’

‘धोकेबाज’ बोलको गीत मेल भर्सनमा सार्वजनिक भएको छ । मेल भर्सनमा गायक शिव परियारले स्वर दिएका छन् । सुवास कार्कीको शब्द तथा संगीत, विशाल निरौलाको एरेन्जमा ३ महिना अगाडि सार्वजनिक गीतमा एलिना चौहानको स्वर सुन्न सकिन्छ । यो गीतलाई स्रोता एवं दर्शकले रुचाएका थिए ।

विक्रम चौहानको निर्देशनमा तयार ‘धोकेबाज’को मेल भर्सनको भिडियोमा विक्रम बुढाथोकी, स्मारिका ढकाल र अधिनायकमान शेरचनको अभिनय हेर्न सकिन्छ । प्रकाश खड्काको छायाँकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । बुधबार मात्रै यस गीतको भिडियो सार्वजनिक गरिएको हो । भिडियोले युट्युबमा ९२ हजार बढी भ्यूज पाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment