Comments Add Comment

फेसबुकले ३ महिनामै कमायो ३४ खर्ब, एप्पलको नयाँ नियमले घाटा हुने

१५ साउन, काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकले पछिल्लो ३ महिनामा मात्रै झण्डै साढे ३४ खर्ब रुपैयाँ बराबरको आम्दानी गरेको छ ।

अप्रिल देखि जून महिनासम्मको त्रैमासिकमा फेसबुकले कूल २९ अर्ब १० करोड अमेरिकी डलर आम्दानी गरेको छ । यो आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ५६ प्रतिशतले बढि हो । कोभिड १९ महामारीका कारण भौतिक व्यवसायहरु तहसनहस भैरहेको बेला अनलाइन विज्ञापनमा भएको उच्च वृद्धिले फेसबुकको आम्दानी बढाइदिएको हो ।

त्यस्तै यो त्रैमासिकमा फेसबुकले खूद मुनाफा गत वर्षको भन्दा दोब्बरले वृद्धि गर्न सफल भएको छ । यस अवधिमा फेसबुकले १० अर्ब ४० करोड मुनाफा गरेको छ । विज्ञहरुले यस अवधिमा फेसबुकको मुनाफा अधिकतम ८ अर्ब ७० करोड डलर हुने प्रक्षेपण गरेका थिए ।

दोश्रो त्रैमासिकसम्मको आम्दानी र मुनाफाको तथ्यांक निकै उत्कृष्ट रहेपनि वर्षको बाँकी समय भने खासै उत्साहप्रद नदेखिएको फेसबुकका प्रमुख वित्तिय अधिकृत डेभिड वेहनरले बताएका छन् ।

नियामक तथा प्लाटफर्महरुमा भएको परिवर्तनले फेसबुकको व्यापारको वृद्धिलाई सुस्त बनाउनसक्ने भन्दै उनले एप्पलको आइओएस एपको ट्रयाकिंग नियममा भएको पछिल्लो परिवर्तनलाई संकेत गरेका छन् ।

गत अप्रिलबाट लागू भएको आइओएसको उक्त परिवर्तनले फेसबुकको व्यवसायमा पारेको असर तेश्रो त्रैमासिक अवधिमा देखा पर्ने उनको भनाई छ । एप्पलको आइओएस १४.५ सफ्टवेयरमा गरिएको नयाँ परिवर्तन अनुसार अब प्रयोगकर्ताले प्रष्ट रुपमा अनुमति दिएमा मत्रै कुनैपनि एपहरुले प्रयोगकर्ताको अनलाइन गतिविधि तथा पर्सनल डाटा ट्रयाक गरी विज्ञापनिक प्रयोजनका लागि उपयोग गर्न सक्नेछन् । आम्दानीको अधिकांस हिस्सा विज्ञापनबाटै गर्ने गरेको फेसबुकले आइओएसको यो नयाँ नियमको कडा आलोचना गर्दै आएको छ ।

फेसबुकको आम्दानी तथा मुनाफामा उच्च वृद्धि भएको वित्तिय रिपोर्ट सार्वजनिक भएतापनि लगत्तै कम्पनीको शेयर मूल्यमा ४ प्रतिशतले गिरावट देखिएको छ ।

फेसबुकले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार हाल फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ९० करोड पुगेका छन्, जुन गत वर्षको दोश्रो त्रैमासिक अवधिको भन्दा ७ प्रतिशतले बढि हो ।

सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment