Comments Add Comment

कर्णालीमा खसेको जीप भेटियो, जोशी दम्पतीको अवस्था अज्ञात

१६ साउन, धनगढी । कैलालीको माेहन्याल गाउँपालिका-७ को चिसापानी–सोल्टा सडक खण्डबाट कर्णाली नदीमा खसेको जीप भेटिएको छ । तर सोही जिपमा सवार चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुवीको अवस्था भने अझै अज्ञात छ ।

शुक्रबार दिउँसो ‘ब्याक’ गर्ने क्रममा खसेको बा ११ च ९३८ नम्बरको जीप कर्णाली नदीमै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले बताए ।

‘टुक्रा–टुक्रा भएको अवस्थामा फेला परेको जीपको केही भाग बाहिर निकाले पनि चेसिस, इन्जिन अझै निकाल्न सकिएको छैन,’ डीएसपी विष्टले भने, ‘शनिबार बिहानैदेखि फेरि टोली खटिएर बेपत्ता जोशी दम्पतीको खोजीमा जुटिसकेको छ । जीपको बाँकी रहेको भाग पनि नदीबाट निकाल्ने प्रयास जारी छ ।’

जीप नदीमा खसेर बेपत्ता भएका चालक समेत रहेका डोटीको आदर्श गाउँपालिकाका चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुवी जोशीको अवस्था अझै अज्ञात छ । उनीहरुको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोरको टोली खटिएको बताउँदै प्रहरी नायब उपरीक्षक विष्टले नेपाल प्रहरी र नेपाली सेनाको टोली समेत परिचालन भएको जानकारी दिए ।

दुर्घटनामा परेर जोशी दम्पतीका तीन छोरा–छोरी वर्ष १३ की लक्ष्मी, वर्ष ४ की सावित्री र वर्ष ३ को भुुवन घाइते छन् । उनीहरुको नेपालगञ्जमा उपचार भइरहेको छ । भुवन र सावित्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उपचार गरेर नेपालगञ्जबाट फर्किने बेला स–परिवार सोल्टा घुम्न जाने क्रममा जीप दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment