Comments Add Comment

प्रहरी जवानको अन्तर्वार्तामा चार नक्कली परीक्षार्थी

१६ साउन, डोटी । प्रहरी जवानको भर्ना प्रक्रियाको अन्तर्वार्तामा चार जना नक्कली परीक्षार्थी सहभागी भएको पाइएको छ ।

प्रहरीले सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ता दिन पुगेका दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । यस्तै श्रावण १० गते र साउन १४ गते पनि एक/एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये कैलालीका दुई जना र बझाङका दुई जना रहेको प्रहरीले जानकारी दिएको छ ।

श्रोतकाअनुसार सक्कली परीक्षार्थीसँग न्युनतम एक लाखदेखि दुई लाख रुपैयाँसम्म लिएर उनीहरु नक्कली परीक्षार्थी भई अन्तरवार्ता दिन गएका हुन् । अन्तरवार्ता दिने क्रममा उनीहरुमाथि शंका लागेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

नक्कली परीक्षार्थी र रकम दिई अन्तरवार्तामा आफ्नो सट्टा अरुलाई पठाउने दुवैमाथि किर्ते गरेको आरोपमा आवश्यक कानुनी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।

लिखित परीक्षामा पनि नक्कली परीक्षार्थी फेला पर्दै आएकोमा अन्तरवार्तामा समेत नक्कली परीक्षार्थी फेला पर्न थालेका छन् ।

तालिम केन्द्र दिपायलले शारीरिक प्रतिस्पर्धा र लिखितमा उत्तीर्ण भएका परीक्षार्थीहरुको साउन ७ गतेदेखि अन्तरवार्ता लिन सुरु गरेको छ । उक्त अन्तरवार्ता आइतवारसम्म चल्ने छ ।

यस अघि पनि १८ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरि मुद्दा चलाइएको प्रहरी उपरीक्षक मल्ल बताउछन् । ‘सुदूरपश्चिममा यो गलत ट्रेण्ड बस्दैछ’ मल्लले भने ‘पैसा दिएर अर्को मान्छेलाई परीक्षा दिन लाए पास भईन्न भन्ने गलत बुझाइ भएको छ ।’

प्रहरी उपरीक्षक मल्लले नक्कली परीक्षार्थी परीक्षा दिने क्रममै समातिने हुँदा त्यसको कुनै अर्थ नभएको बताए । उनले भने ‘आफैं तयारी गरेर परीक्षा दिए पास हुने ग्यारेन्टी हुन्छ ।’  परीक्षाको आवश्यक तयारी गर्ने तरिका थाहा नपाई गलत बाटो रोज्दा जीवन बर्बाद हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment