+
+

पाँचथरमा ६ सय कोरोनाका सक्रिय सङ्क्रमित

रासस रासस
२०७८ भदौ १ गते १८:१३

१ भदौ, पाँचथर । निषेधाज्ञा खुकुलो पारिएको पाँचथरमा कोभिड-१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सयभन्दा बढी प्गेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आइतबारसम्म पाँचथरमा कूल तीन हजार सात सय २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो तीमध्ये तीन हजार ४३ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमितमध्ये जिल्लाभित्रै १८ जनाको मृत्यु भएको छ भने २९ जनालाई थप उपचारका लागि जिल्लाबाहिर रेफर गरिएको छ ।

यस तथ्याङ्कका आधारमा अहिले जिल्लामा ६ सय ३२ जना सक्रिय सङ्क्रमित छन् । तीमध्ये १९ जना फिदिमस्थित कोभिड अस्पतालको एचडीयूमा उपचाररत छन् । सङ्क्रमितको सङ्ख्या उल्लेख्य रहेको भए पनि उद्यमी, व्यवसायीहरुको मागका आधारमा जिल्लामा निषेधाज्ञालाई आजदेखि थप खुकुलो पारिएको छ । पाँचथरमा यातायातका साधनमा लगाइएको जोरबिजोरको प्रणाली हटाइएको छ ।

यस्तै पसल-व्यवसाय बिहान ५ देखि साँझ ५ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ । यसअघि निषेधाज्ञाका व्यवस्थाहरु केही प्रतिबन्धात्मक भए पनि त्यसको पालना हुन सकेको थिएन। अहिले सङ्क्रमणको अत्यधिक खतरा हुने तथा भीड लाग्ने सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, पार्क, सैलुन, ब्युटीपार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय तथा सङ्ग्रहालय खोल्न भने रोक लगाइएको छ । पाँचथरमा तेह्रै पटक निषेधाज्ञा थप गर्दा धेरै प्रतिबन्धात्मक व्यवस्थाहरुलाई हटाइएको छ ।

जिल्ला सदरमुकाम फिदिमसहित दूरदराजका गाउँहरुमा कोभिड–१९ का सङ्क्रमित फेला पर्ने क्रम रोकिएको छैन । पछिल्लो साता जिल्लाको फिदिम नगरपालिका–१३ लुङरुपामा कोभिड-१९ का धेरै सङ्क्रमित फेला परेका छन् ।

फिदिमसहित अन्य बजारी क्षेत्रमा समेत सङ्क्रमितको सङ्ख्या उल्लेख्य रुपमा घट्न सकेको छैन । सोमबार मात्रै ५५ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

निषेधाज्ञा खुकुलो पारिएपछि परीक्षण बढाउन थालिएको छ । आज मात्रै जिल्ला अस्पतालमा पीसीआर परीक्षणका लागि कन्ट्याक ट्रेसिङमा परेकाहरु तथा कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण भएकाहरुलाई अस्पताल तथा सरोकारवालाहरुले आह्वान गरेका छन् । निषेधाज्ञा खुकुलो भएपछि विशेषतः बजारी क्षेत्रमा सङ्क्रमण फैलने खतरा अत्यधिक हुने गरेको छ ।

पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपालले निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण ह्वात्तै बढ्नसक्ने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा जोड दिन उद्यमी, व्यवसायी तथा उपभोक्ताहरुमा आग्रह गरे ।

उनले बिक्रेता र ग्राहक सबैलाई सहज वातावरण बनेकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालनालाई अनिवार्य गरी सङ्क्रमण रोकथाम र विद्यमान अवस्थाको निरन्तरताका लागि सहयोग गर्न अपील गरेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?