News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचथरका औल क्षेत्रका फाँटमा चैते धान पाकेर पहेंलपुर भएपछि किसानहरू धान भित्र्याउने चटारोमा जुटेका छन् ।
- बाढी–पहिरोका कारण सिंचाइ कुलो भत्किँदा र जग्गा बग्दा यस वर्ष जिल्लामा चैते धान खेतीको क्षेत्रफल ४ हेक्टरले घटेको छ ।
- कृषि ज्ञान केन्द्र पाँचथरका बाली संरक्षण अधिकृत केशरबहादुर मंरातीका अनुसार अहिले २ हजार १३२ हेक्टर जमिनमा मात्र चैते धान खेती गरिएको छ ।
१४ असार, पाँचथर । पाँचथरको औल क्षेत्रका फाँटमा यतिबेला चैते धान पाकेर पहेंलपुर भएको छ । किसानले कतै–कतै धान भित्र्याउन सुरु गरिसकेका छन् भने कतै धान काट्ने तयारी गर्दैछन् ।
वर्षमा दुई पल्ट बाली हुने ठाउँका खेतहरूमा चैते धान खेती हुने गर्छ । खोला छेउ, पानी पुग्ने औलका क्षेत्रमा चैते धान लगाइन्छ । चैतमा रोपिएको धान थन्क्याएर असार अन्तिमदेखि साउनसम्म फेरि धान रोपाइँ हुन्छ ।
विगत वर्षमा गएको बाढी–पहिरोले तटीय क्षेत्रका खेत बगाउनुका साथै सिंचाइ कुलोसमेत भत्किएका कारण यस वर्ष चैते धान खेती घटेको कृषि ज्ञान केन्द्र पाँचथरका बाली संरक्षण अधिकृत केशरबहादुर मंरातीले बताए ।
अघिल्लो आर्थिक वर्षभन्दा धान खेतीको क्षेत्रफल घटेको उनले बताए । उनका अनुसार गत वर्षको तुलनामा ४ हेक्टर जमिनमा चैते धान खेती घटेको छ ।
अहिले २ हजार १३२ हेक्टर क्षेत्रमा चैते धान खेती भएको छ । फिदिम, हिलिहाङ, तुम्बेवा, मिक्लाजुङमा बढी मात्रमा चैते धान खेती हुने गरेको छ ।








प्रतिक्रिया 4