+
+

सीएनआईले अर्थमन्त्रीलाई भन्यो- यो आयात निरुत्साहित गर्ने उपयुक्त समय

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १६:१८

२ भदौ, काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले आयात निरुत्साहित गर्ने समय आएको भन्दै अर्थमन्त्री जनार्दन शर्मासँग यो समय उपयोग गर्न आग्रह गरेको छ । बुधवार अर्थमन्त्री जनार्दन शर्मालाई मन्त्रालयमा भेटेर सीएनआईले सुझाव प्रस्तुत गरेको छ ।

सुझाव पत्रमा सरकारको न्यूनतम साझा कार्यक्रम र अर्थमन्त्रालयद्वारा सार्वजनिक आर्थिक अवस्थाको जानकारीपत्रमा उल्लेख भएबमोजिम उत्पादनशील अर्थतन्त्रमा रुपान्तरण गर्नको लागि सिएनआईले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी अभियान’ले महत्वपूर्ण सहयोग पुर्‍याउने बताइएको छ । परिसंघले विभिन्न ३४ वटा क्षेत्रमा नीतिगत सुधारको आवश्यकता औंल्याएको छ ।

त्यसको लागि अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, कानुन मन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल उद्योग परिसंघका प्रतिनिधि सम्मिलित समिति गठन गर्नुपर्ने सुझाव दिइएको छ ।

अर्थतन्त्रलाई चलायमान बनाउदै राजगारी एवं स्वरोजगारीको बृद्धि गर्न नयाँ एवं विद्यमान साना तथा मझौला उद्योगहरुलाई परियोजना धितोमा पाँच करोडसम्म ऋण उपलब्ध गराउन च्यालेन्ज फण्डको व्यवस्था गरिनुपर्ने, स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि स्वदेशमै उत्पादन हुने वस्तुको आयात निरुत्साहन गर्नुपर्ने साथै स्वदेशमा उत्पादन हुने वस्तुले पालना गर्नुपने मापदण्ड र गुणस्तरका प्रावधान आयात हुने सम्पूर्ण वस्तुमा अनिवार्य लागू गरिनुपर्नेलगायतका सुझावहरु समेटिएका छन् ।

सुझावपत्र ग्रहण गर्दै अर्थमन्त्री शर्माले सिएनआईले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी अभियान’लाई उत्पादनमूलक उद्योग स्थापना र संचालनको लागि सहज हुने गरी नीति निर्माण तथा संशोधन गरिने वचन दिए । ‘के गर्दा सरकारको राजश्व बृद्धि हुन्छ र निजी क्षेत्रलाई सहज हुन्छ त्यो काम गर्न म तयार छु,’ उनले भने । श्रम शक्तिको हिसावले अहिलेको समय उपयुक्त रहेको भन्दै देशमा युवा बहुल जनसंख्या भएको बेलालाई उपयोग गर्नुपर्ने बताए ।

सुझावपत्र हस्तान्तरण गर्दै सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले हालै जारी मौदि्रक नीति समग्रमा राम्रो रहेको भन्दै सिसिडी रेसियो खारेजीले सिर्जना गरेको अन्योल चाँडै हटाउन माग गरे । अर्थमन्त्री शर्माले केही द्विविधा रहेको भए समाधान हुँदै जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?