+
+

गण्डकीमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, चार महिनामै एक हजार बढीको मृत्यु

विकास रोकामगर विकास रोकामगर
२०७८ भदौ २ गते २०:०४

२ भदौ, पोखरा । गण्डकी प्रदेशमा केही समय ओरालो लागेको कोरोना संक्रमण दर पछिल्लो महिनाबाट फेरि बढ्न थालेको छ । कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहरमा ज्यान गुमाउनेको संख्या पनि ५ गुणाले बढी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा छ ।

वैशाखदेखि बुधबारसम्मको मात्रै तथ्यांक नियाल्ने हो भने कोरोना संक्रमणबाट एक हजारभन्दा बढी मानिसको ज्यान गएको छ । वैशाखको पहिलो साता गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ७ मात्रै थियो । तर, चार महिनाको अवधिमा उक्त संख्या बढेर १ हजार ६९ पुगेको छ । बुधबारमात्रै प्रदेशभरका १० जना संक्रमितले ज्यान गुमाएका छन् ।

वैशाखको पहिलो हप्ता गण्डकीमा सक्रिय संक्रमितको संख्या जम्मा ४ सय ६२ थियो । त्यसमध्ये ४२ जनामात्रै अस्पतालमा उपचाररत थिए । निर्देशनालयका अनुसार वैशाखको पहिलो हप्ता अस्पतालहरुमा संक्रमितको संख्या घटेर शून्य हुने अवस्थामा पुगेको थियो ।

निर्देशनालयको तथ्यांकअनुसार सक्रिय संक्रमितमध्ये ८ जना आईसीयूमा उपचाररत थिए भने एकजना संक्रमितको मात्रै भेन्टिलेटरमा उपचार भइरहेको थियो । तर, अहिले उक्त संख्यामासमेत दशौं गुणाले वृद्धि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबारसम्म गण्डकीमा सक्रिय संक्रमितको संख्या समेत करिब ६ हजार पुगेको छ । ७१ जना संक्रमित आईसीयूमा र ११ जना भेन्टिलेटरमा उपचाररत छन् । तथ्यांकअनुसार आईसीयूभन्दा बढी हाइफ्लो अक्सिजन दिनुपर्ने शय्यामा उपचाररत धेरै छन् ।
वैशाख पहिलो हप्ता शून्य रहेको हाइफ्लो अक्सिजनयुक्त शय्या बुधबारसम्म आइपुग्दा १ सय ७३ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ । यसले पनि प्रदेशमा गम्भीर प्रकृतिका संक्रमितको संख्यामा वृद्धि भएको तथ्य देखाउँछ ।

पछिल्लो दुई हप्तादेखि कोरोनाको संक्रमण फेरि बढ्न थालेको तथ्यांकले देखाउँछ । उपचारमा संलग्न चिकित्सकका अनुसार अहिलेको संक्रमण दरलाई चाँडै रोकथाम तथा नियन्त्रण गर्न नसके अझै बढी भयावह स्थितिको सामना गर्नुपर्ने हुन्छ । संक्रमितको संख्या बढेसँगै फेरि अस्पतालहरु भरिभराउ हुन थालेको र अक्सिजनको मागसमेत बढेको उनीहरुको भनाइ छ ।

‘डेल्टा भेरियन्ट बढी संक्रामक छ । यसले गर्ने संक्रमणको अनुमानै गर्न सकिन्न । अहिलेको स्थिति डरलाग्दो मात्रै होइन, भयावह नै हो,’ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोभिड फोकल पर्सन डा. शरद बराल भन्छन्, ‘अस्पतालमा आउनेहरुको अवस्था पनि जटिल प्रकृतिको छ ।’

डा. बराल निषेधाज्ञा खुकुलो भएसँगै हेल्चेक्र्याइँ बढ्दा संक्रमणदर पनि बढेको बताउँछन् । ‘निषेधाज्ञा खुकुलो भयो भनेर हेल्चेक्र्याइँ पनि बढ्यो । यो भेरियन्ट छिटो फैलिने भएकाले पनि संक्रमणदर बढेको हो,’ उनले भने । पछिल्लो समय खोपकेन्द्र अव्यवस्थित हुँदा पनि त्यहींबाट संक्रमण फैलिन सघाउ पुगेको उनी बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव तथा निर्देशनालयका पूर्व प्रमुख डा. विनोदविन्दु शर्माका अनुसार अन्य जिल्लाका संक्रमितको उपचार गण्डकी उपचार गर्न आउने र यहाँ आइपुग्दासम्म धेरै ढिलाइ हुँदा पनि मृत्युदर बढी देखिएको हो ।

‘हाम्रो प्रदेशको स्वास्थ्य पूर्वाधारमा राम्रो सुधार भएको छ । जसले गर्दा अन्य प्रदेश÷जिल्लाका संक्रमित हेलिकप्टर चार्टड गरेरै यहाँ उपचार गर्न आउँछन् । तर उहाँहरु ढिलो गरी अस्पताल आइपुग्ने भएका कारण म्यानेज गर्दागर्दै पनि बचाउन सक्दैनौं’ उनले भने ।

तर, उनको भनाइलाई तथ्यगत मान्न भने सकिँदैन । प्रदेश स्वास्थ्य निर्देशनालयकै तथ्यांकलाई नियाल्ने हो भने कोरोनाबाट मृत्यु भएका १ हजार २१६ मध्ये सबै गण्डकी प्रदेशकै विभिन्न जिल्लाका हुन् ।

किन बढ्दै छ मृत्युदर ?

पछिल्लो ४ महिनामा ‘अस्वभाविक’ रुपमा मृत्युदर बढेपछि गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिपोर्ट तयार पार्ने भएको छ । मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक तथा प्रवक्तासमेत रहेका डा रामबहादुर केसीले पछिल्लो भेरियन्टको विश्लेषण गर्ने काम भइरहेको बताए ।

‘४ महिनायता संक्रमित बढेका छन् । मृत्यु हुनेको संख्या पनि धेरै देखियो । यसको खास कारण के हो भन्ने विश्लेषण गरेर रिपोर्ट तयार पार्दैछौं,’ डा केसीले भने, ‘२, ३ दिनमा यो पछिल्लो भेरियन्टको रिपोर्ट तयार भइसक्छ ।’

डा. केसी पनि कोभिडविरुद्धको खोप केन्द्रमा अनावश्यक भिडभाड र अव्यवस्थित हुँदा संक्रमणदर बढेको स्वीकार्छन् । ‘हामीले यहाँबाट सक्ने जति गरिरहेकै छौं, भनिरहेकै छौं,’ उनी भन्छन्, ‘भीड नगरे खोपै नपाइला जस्तो गरेरअ अनावश्यक भीडभाड गरियो । व्यक्ति आफैं सुरक्षित नहुँदासम्म केही हुँदैनन् ।’

प्रवक्ता केसीले होम आइसोलेसनमा रहेका बिरामी ढिलो गरी अस्पताल पुग्दा पनि मृत्युदर बढ्न पुगेको बताए । ‘होम आइसोलेसनमा रहेका बिरामीलाई निगरानीमा राखिराखेका छौं । तर, पनि उहाँहरुले रोग लुकाउनुहुन्छ, अवस्था गम्भीर भएपछिमात्रै अस्पताल आउँदा मृत्युदर बढेको हो,’ उनले भने ।

फेरि हुन सक्छ ‘लकडाउन’ ?

कोरोना संक्रमणमा नियन्त्रणमा नआएको र समुदायस्तरमै फैलिएको भन्दै प्रदेशका विभिन्न जिल्ला तथा स्थानीय तहले फेरि निषेधाज्ञामा कडाइ सुरु गरेका छन् । निषेधाज्ञा कडाइ गर्नेमा बागलुङ, तनहुँको शुक्लागण्डकी नगरपालिका र पोखराको एउटा वडा छन् ।

संक्रमित संख्या बढेको भन्दै जिल्ला प्रशासन कार्यालय, बागलुङले बैंक तथा वित्तीय संस्थासमेत खुल्न नपाउने गरी भदौ ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । बुधबारअनुसार बागलुङमा ६ सय ८५ सक्रिय संक्रमित छन् भने ७८ जनाको मृत्यु भएको छ ।

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका र पोखरा ५ वडा कार्यालय भदौ ४ गतेसम्मका लागि बन्द गरिएको छ । कोरोनाको पछिल्लो लहरमासबैभन्दा बढी प्रभावित भएको कास्कीले समेत पुनः लकडाउनको तयारी गरेको छ । कास्कीमा २ हजारभन्दा बढी सक्रिय संक्रमित छन् भने ५ सय २० जनाको मृत्यु भइसकेको छ ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?