+
+

बैतडी अस्पतालमा अक्सिजन प्लान्ट स्थापनामा ढिलाइ

रासस रासस
२०७८ भदौ ३ गते १५:०७

३ भदौ, बैतडी । जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाको काम शुरु हुन सकेको छैन । गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौंसँग सम्झौता भएको भए पनि कम्पनीले हालसम्म प्लान्ट जडानको काम शुरु गरेको छैन ।

प्लान्ट जडानका लागि संघीय सरकारबाट एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख रुपैयाँ बजेट प्राप्त भएको थियो । बोलपत्र आह्वान गरी सप्लायर्स छनोट गरेको भए पनि हालसम्म पनि जडानको काम शुरु नभएको अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए ।

गत आर्थिक वर्षको असारभित्र प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको हो । गत असारमा अस्पताल र कम्पनीबीच सम्झौता भएको थियो र यसपछि कम्पनीले प्लान्ट जडानका लागि एक महिना थप गरिदिन निवेदन दिएको थियो ।

‘एक महिना थप गरेको अवधिमा पनि प्लान्ट जडानको काम शुरु भएको छैन,’ उनले भने, ‘कम्पनीको मान्छेसँग सम्पर्क गर्दा चीनबाट सामग्री मगाएका छौं, अझै नेपालमा पुगेको छैन भन्ने जवाफ आएको छ ।’

कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै बैतडी जिल्लामा अक्सिजन अभाव भएपछि प्रदेश सरकार र संघीय सरकारले प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेको थियो । तेस्रो लहर आउने सम्भावना बढेको भए पनि प्लान्ट स्थापनाको काम नहुँदा महामारी फैलियो भने पनि उपचारमा समस्या हुने देखिएको छ ।

जिल्लामा प्लान्ट नहुँदा सिलिन्डर खरिद गरी अक्सिजन आपूर्ति गर्नुपर्ने अवस्था छ । प्लान्ट स्थापना भएपछि आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्न सकिने जनाइएको छ ।

उक्त प्लान्ट ५० बेडको अस्पतालका लागि पनि सहयोग पुग्ने विश्वास गरिएको छ । ‘प्लान्ट स्थापनाले ५० बेडको अस्पताल सञ्चालनमा आएपछि त्यसका लागि पनि सहयोग पुग्छ, कोरोनाका बिरामीका लागि मात्रै नभएर अन्य शल्यक्रिया, सघन उपचार कक्ष सञ्चालनका लागि पनि सजिलो हुन्छ,’ उनले भने ।

अस्पतालमा सय बढी अक्सिजन सिलिन्डर छन् भने ३२ कन्सन्ट्रेटर छन् । भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भइसकेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?