+
+
गण्डकीका नेपाल पक्षका नेता भन्छन् :

‘दोष ओलीको हो एमालेको होइन, माधव नेपालले बुझ्नुपर्थ्यो’

अमृत सुवेदी अमृत सुवेदी
२०७८ भदौ ३ गते १६:४९
गण्डकीका नेपाल पक्षका एमाले नेताहरु बाँयाबाट क्रमश : श्रीमाया थकाली, सीता गिरी र रवीन्द्र अधिकारी ।

३ भदौ, पोखरा । गत चैत १९ गते पोखरामा नेकपा एमाले कास्की जिल्लाको समानान्तर कमिटी घोषणा गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले भनेका थिए, ‘केपी ओलीबाट सबैभन्दा पीडित प्रदेश हो, गण्डकी प्रदेश । ठूलो त्याग, संघर्ष गरेका धेरैलाई टिकट दिइएन । अब म दिन्छु टिकट, चुनाव लड्न तयार रहनू ।’

हुन पनि गण्डकी प्रदेशमा एमालेको नेपाल समूह अत्यन्तै कमजोर छ । यहाँबाट एक जना पनि संघीय सांसद नेपाल समूहका छैनन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसदमध्ये बागलुङका इन्द्रलाल सापकोटामात्र नेपाल समूहका हुन् ।

केन्द्रीय सदस्य तथा पूर्व सांसद श्रीमाया थकाली भन्छिन्, ‘ओली समूहले गण्डकी प्रदेशमा जहिल्यै बलमिच्याइँ गर्‍यो, (चुनावमा) टिकटै दिएन । जिल्लाबाटै सिफारिस नहुने, सिफरिस भइहाले प्रदेश र माथि पुग्दा काटिने । राम्रा नेता पनि यहाँ हेपिनुपरेको छ ।’

बुधबार दल विभाजनलाई सहज हुने गरी अध्यादेश जारी भएपछि नेता नेपालले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । आगामी चुनावमा अब उनी आफैं टिकट बाँड्ने ठाउँमा रहनेछन् । तर, यतिन्जेल साथ दिएका गण्डकीका धेरै नेताहरुले भने नेपालको साथ छाडेका छन् ।

‘पार्टीलाई सिस्टममा नचलाउनु, समकक्षीलाई मिलाएर लैजान नसक्नु सबैभन्दा ठूलो गल्ती ओलीकै हो । त्यसको पनि जनताले हिसाब किताब गर्ने छन्,’ नेतृ सीता गिरी भन्छिन्, ‘तर ओलीको दोष एमालेमाथि लगाएर अर्को पार्टी खोल्दा हस्ताक्षर गर्न सकिनँ ।’

नेता नेपालले दर्ता गरेको नयाँ पार्टीमा कास्कीका चुणामणि विक जंगली, तुलबहादुर गुरुङ, श्रीनाथ बराल, दिलकुमारी पन्त, तनहुँका प्रतापलाल श्रेष्ठ, पर्वतका विजय गुरुङ, स्याङ्जाकी शर्मिलादेवी पौडेल र तनहुँकी रेखा बस्याल समेटिएका छन् ।

तर केन्द्रीय सदस्य तथा पूर्वसांसद श्रीमाया थकाली, केन्द्रीय सदस्य तथा पूर्वसांसद सीता गिरी र केन्द्रीय सदस्य तथा युवा संघका पूर्वमहासचिव रवीन्द्र अधिकारी भने दल विभाजन गर्ने नेता नेपालको निर्णयको विपक्षमा रहे ।

उनीहरु भन्छन्, ‘हाम्रा लागि योभन्दा ठूलो पीडादायी क्षण अर्को छैन । जीवनभर सँगै लड्यौं, अहिले उहाँलाई साथ दिन सकिएन । हाम्रा नेतासम्झेर मन रोएको छ ।’

गण्डकीका नेपाल समूहका एकमात्र सांसद इन्द्रलाल सापकोटाले पनि दल विभाजनलाई साथ दिन नसक्ने बताइसकेका छन् ।

पूर्वसांसद सीता गिरी पार्टीभित्रै संघर्ष गर्नुपर्नेमा नेता नेपालले अर्को पार्टी दर्ता गर्नु गलत भएको बताए । ‘म नेपाल समूहकै हो । पार्टीभित्र हर संघर्षमा हामी सँगै थियौं । ओली प्रवृत्तिसँग लडेकै हो,’ उनले भनिन्, ‘पार्टीभित्रै भण्डाफोर गर्नुपर्ने थियो । एकताका लागि १० बुँदे सहमति मानेर अगाडि बढ्न पनि सकिन्थ्यो ।’

कास्कीकी नेतृ गिरीले २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा माओवादीका गुप्तबहादुर हमाललाई हराउँदै कास्की–४ बाट चुनाव जितेकी थिइन् । तत्कालिन प्रधानमन्त्री ओलीले दुई पटक संसद विघटन गर्दा त्यसको विरोधमा उनी पनि नेतृत्व पंक्तिमै उभिएकी थिइन् ।

जीवन नै पार्टी निर्माण र राजनीतिमा खर्चिएको व्यक्ति त्यसरी हिँड्नु जनमत र कार्यकर्ताकोसमेत उपेक्षा हुने गिरी बताउँछिन् ।

‘पार्टीलाई सिस्टममा नचलाउनु, समकक्षीलाई मिलाएर लैजान नसक्नु सबैभन्दा ठूलो गल्ती ओलीकै हो । त्यसको पनि जनताले हिसाब किताब गर्ने छन्,’ उनले भनिन्, ‘तर ओलीको दोष एमालेमाथि लगाएर अर्को पार्टी खोल्दा हस्ताक्षर गर्न सकिनँ ।’

एमालेभित्र देखिएका विवाद समाधानका लागि दोस्रो तहका नेताहरुले १० बुँदे सहमति गरेर एकताको आधार तयार पारेको र अब कार्यान्वयन हुने बताइरहेकाले नेता नेपालले पार्टी छाड्न नहुने नेतृ गिरी बताउँछिन् ।

‘पार्टी विभाजन गर्न मुख्य भूमिका केपी ओलीकै हो । यो समीक्षा ओली समूहकै साथीहरुले पनि गर्नुभएको छ,’ नेतृ गिरीले भनिन्, ‘सधैंभरि पार्टीमा ओली प्रवृत्ति टिक्दैन, हामीले नै विस्थापित गर्नुपर्ने थियो ।’

विगतमा नेपाल समूहमा रहेका तर अहिले माधव नेपाललाई नयाँ पार्टी गठनमा साथ नदिएका धेरै नेताहरु भएकाले छलफल गरेरमात्र अबको पाइला चालिने उनको भनाइ थियो ।

नेपाल समूहमा रहेकी श्रीमाया थकाली गण्डकीको प्रभावशाली नेतृमा पर्छिन् । पार्टीको तत्कालिन धौलागिरि अञ्चल इन्चार्ज, पोलिटब्युरो सदस्यसमेत भइसकेकी उनी ओलीको कडा आलोचक हुन् ।

ओलीको दम्भ, अहंकारले पार्टीमा लामो समय निष्ठा र त्यागको राजनीति गरेको नेताको बहिर्गमन भएको थकालीको भनाइ थियो । ओलीले समीक्षा नगरे र नसच्चिए अझै जे पनि हुन सक्ने थकाली बताउँछिन् ।

‘केपी ओलीको अकर्मण्यता, ओलीको दम्भ, केपी ओलीकै अहम्ले पार्टी यो अवस्थासम्म आइपुगेको हो । जनताले दिएको २ तिहाईले ओलीले तहसनहस पारे । त्यो अवसरलाई ओलीले बुझ्न सकेनन्,’ थकालीले भनिन्, ‘तर, लाखौं कार्यकर्ताको पसिना, आस्था जोडिएको घरै छोडेर हिँड्न सकिनँ । नेपाललाई साथ दिन सकिनँ ।’

थकालीले पार्टीभित्रै बसेर ओली प्रवृत्तिको भण्डाफोर गर्ने बताइन् । यसअघि २०५४ सालमा तत्कालिन नेकपा एमाले विभाजन हुँदाको परिस्थिति पनि देखिइसकेकाले अर्को पार्टी आवश्यक नपर्ने उनको भनाइ छ ।

‘अन्तिमसम्म पनि पार्टीभित्रै बसेर भण्डाफोर गर्न सक्नुपर्थ्यो । हिजो पनि पार्टी विभाजन देखिसक्यौं । माले, एमाले भएर हेरेकै हो । त्यतिबेला हविगत के भयो ?,’ उनले भनिन् ।

माधव नेपाललाई पार्टी विभाजनसम्मको स्थितिमा अध्यक्ष केपी शर्मा ओलीले नै पुर्‍याएको थकाली बताउँछिन् । ‘ओलीले गर्नुपर्ने/नपर्ने सबै गरेकै हुन् । ओलीको व्यक्तिगत पार्टी त होइन एमाले, केपीले गल्ती गरे भनेर हामीले पनि गल्ती गर्न हुँदैनथ्यो,’ उनले भनिन् ।

नेता नेपालले अर्को पार्टी गठन गरेपछि आफूहरुलाई अध्यक्ष ओलीले झनै समस्यामा पार्न सक्ने थकालीको बुझाइ छ । उनी भन्छिन्, ‘दम्भले फेरि पनि पार्टी चलाउनेतिर नलागून् भन्ने हो ।’

माधव नेपाल समूहका नवलपरासीका प्रभावशाली युवा नेता हुन्, रवीन्द्र अधिकारी । गोकर्ण विष्ट युवा संघको अध्यक्ष हुँदा महासचिव भएका र हाल एमाले केन्द्रीय सदस्य रहेका अधिकारीले पनि आफ्ना समूहका नेता नेपाललाई साथ दिन सकेनन् । पार्टीभित्रको संघर्षमा साथ दिए पनि दल विभाजनमा साथ दिन नसक्ने उनको भनाइ छ ।

‘नयाँ पार्टी गठन गर्नका लागि वैचारिक राजनीतिक आधार पनि बनेन । त्यसैले सबै टिम नै एकतामा जाने भन्ने हाम्रो जोड थियो । विभाजनले कम्युनिस्ट आन्दोलन कमजोर बनाउँछ,’ अधिकारीले भने, ‘माधव नेपालजस्तो टावरिङ पर्सनालिटीले छोडेर जाँदा धेरै दुख लागेको छ । एमालेलाई छिन्नभिन्न हुनबाट रोक्न सक्नुपथ्र्यो । ओलीले सकेनन् ।’

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?