३ भदौ, पोखरा । चैत १५, २०७६ मा बाग्लुङकी १९ वर्षीया किशोरीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो । विश्वका थुप्रै देशमा भयावह अवस्था ल्याएको महामारी नेपालमा भर्खर देखिएको थियो र उनी देशकै पाँचौं संक्रमित थिइन् ।
पीसीआर परीक्षण गर्नसमेत काठमाडौं लैजानुपर्ने त्यो बेला संक्रमितको उपचारका लागि अस्पतालहरु तयार भएनन्, पोखरा लैजान एम्बुलेन्स चालकले मानेनन् । एम्बुलेन्स चालक ‘गायब’ भएपछि जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङ प्रमुख सुरज गुरौ आफैंले ड्राइभिङ गरेर धौलागिरि अस्पतालमा ल्याउनुपर्यो ।
त्यसयता आज ३ भदौ २७८ सम्म गण्डकी प्रदेशमा ७७ हजार जनाभन्दा बढी संक्रमित भइसकेका छन्, उनीहरुमध्ये १२२१ जनाले ज्यान गुमाएका छन् । देशका अरु भागमा जस्तै गण्डकीमा पनि पहिलोभन्दा दोस्रो लहरमा संक्रमण र मृृत्यु बढ्यो ।
दोस्रो लहर पूर्ण नियन्त्रणमा नआउँदै फेरि संक्रमण बढ्न थालेको छ । अस्पतालका बेडहरु संक्रमितले भरिएका छन्, जसमध्ये धेरैलाई हाइफ्लोमा अक्सिजन दिनुपर्ने बाध्यता छ ।
तर महामारीबाट न प्रदेश सरकारले पाठ सिकेको देखिन्छ, न सर्वसाधारण सचेत भएका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड वार्डमा कार्यरत एक चिकित्सक भन्छन्, ‘डेल्टा र डेल्टा प्लस भेरियन्ट आफैंमा संक्रामक छ, त्यसमाथि हेलचेक्र्याइँ त्यस्तै छ । निषेधाज्ञामा कडाइ छैन, फुक्काफाल छन् ।’
प्रदेश स्वास्थ्य निर्देशनालयकै पछिल्लो एक महिनाको तथ्यांकले पनि कोरोना संक्रमण र मृत्युदर बढेको देखाउँछ । ‘तत्काल नियन्त्रणमा नलाग्ने हो भने डरलाग्दो स्थिति सामना गर्नुपर्छ,’ ती चिकित्सक भन्छन् ।
प्रदेश सरकार भने पीसीआर तथा एन्टिजेन परीक्षणलाई ‘व्यापक’ बनाएका कारण संक्रमितको संख्या धेरै देखिएको तर्क गर्छ । ‘हामीले एन्टिजेन र पीसीआर परीक्षणलाई व्यापक बनाएका छौं । त्यसैले पनि संक्रमितको संख्यामा बढी देखिएको हो,’ स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारीले भनिन्, ‘समुदायस्तरमै हामीले परीक्षणको दायरा पनि बढाएका छौं ।’
प्रदेश स्वास्थ्य निर्देशनालयकै तथ्यांकले भने स्वास्थ्यमन्त्रीको दाबीलाई पुष्टि गर्दैन । पछिल्लो एक महिनाको मात्रै तथ्यांक नियाल्दा दैनिक १२ सयकै हाराहारीमा परीक्षण गरिरहेको देखिन्छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड वार्डका फोकल पर्सन डा. शरद बराल डेल्टा भेरियन्टले सबै उमेर समूहलाई प्रभावित बनाइरहेकाले संक्रमण बढेको बताउँछन् । ‘अहिले सबै उमेर समूहलाई नै उत्तिकै जोखिम छ । सबै उमेर समूहका संक्रमितको अवस्था गम्भीर प्रकृतिको हुन लागेको देखिन्छ,’ उनी भन्छन् ।
एक महिनायता बढेको संक्रमणको कारण खोज्दै जाने हो भने पछिल्ला केही महिनायता बढेको राजनीतिक गतिविधि बढी जिम्मेवार देखिन्छ । संक्रामक तथा सरुवा रोग अस्पतालमा कार्यरत एक चिकित्सक भन्छन्, ‘निषेधाज्ञा खुकुलो भएपछि भीडभाडजन्य क्रियाकलाप त हुनु नै थियो । तर, जिम्मेवार पदमा बसेका राजनीतिक व्यक्तित्वबाटै मापदण्ड उल्लंघन हुनु दुःखद हो ।’
दोस्रो लहरका क्रममा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समेत संक्रमित हुन पुगे । तर आइसोलेनमा बस्नुपर्ने मुख्यमन्त्री गुरुङ आफैं गत जेठ १० गते दलबलसहित कोरोना संक्रमित उपचार केन्द्र संक्रामक तथा सरुवा रोग अस्पतालको आईसीयू कक्ष उद्घाटन गर्न पुगे । मुख्यमन्त्रीबाटै जनस्वास्थ्यमा मापदण्ड उल्लंघन भएको भन्दै चर्को आलोचना समेत भयो ।
अहिले गुरुङ प्रतिपक्षमा पुगेका छन् भने त्यसबेला प्रतिपक्षमा रहेको नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री भएका छन् । कास्कीसहित धेरै जिल्लामा स्थानीय प्रशासनले सार्वजनिक सभा समारोह गर्न रोक लगाए पनि सरकारबाटै पालाना भएको देखिँदैन ।
खोप केन्द्र बन्दैछ ‘हटस्पट’
कोभिड–१९ को महामारी फैलाउन भूमिका खेल्ने अर्को ‘हटस्पट’ बनेको छ, खोप केन्द्रहरु । कोरोना संक्रमणबाट बचाउन सरकारले चरण चरणमा खोप अभियान चलाइरहेको छ ।
तर खोप केन्द्रबाटै बढी संक्रमण फैलिएको संक्रामक तथा सरुवा रोग अस्पताल प्रमुख डा. विकास गौचनसमेत सुनाउँछन् । ‘स्वास्थ्य मापदण्ड पालना छैन । खोप केन्द्र अस्तव्यस्त छ । भ्याक्सिन केन्द्र पनि हटस्पट हो,’ उनी भन्छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. रामबहादुर केसी पनि भौतिक दूरीका साथै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दा नभएको स्वीकार गर्छन् । खोप केन्द्र अस्तव्यस्त अनियमितता भएपछि कास्कीमा केही दिन खोप अभियान नै रोकिएको थियो । पोखरा महानगरले सूचना जारी गरेरै मातहतका केन्द्रलाई स्वास्थ्य मापदण्ड पालना गर्न र गराउन आग्रह गर्नुपरेको थियो ।
खोप केन्द्रहरुमा भएको लापरवाहीले संक्रमण बढेको प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा. खिमबहादुर खड्का बताउँछन् । ‘खोप लगाएपछि सुरक्षित भयौं भनेर सामाजिक दूरी त परको कुरा, मास्क पनि लगाउन छाडे । अनावश्यक भीडभाडदेखि व्यक्ति आफैं सजग हुनुपथ्र्यो, त्यसो भएन । लापरवाही भयो,’ उनले भने ।
सार्वजनिक स्थलमा भीडभाड, यातायातमा हेलचेक्र्याईं
दोस्रो लहर कम भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा पनि केही खुकुलो बनाएको छ । तोकिएका बाहेक क्षेत्र पनि खुले, १४ असारदेखि सार्वजनिक यातायात पनि सञ्चालनमा आयो ।
तर जनस्वास्थ्यका मापदण्ड पालना हुन सकेको छैन । ‘निषेधाज्ञा खुकुलो बनाएपनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ, जुन हुन सकेको छैन । बरु, सार्वजनिक स्थलमै भौतिक दूरीबिनै कार्यक्रम हुन थाले,’ स्वास्थ्य मन्त्रालयकै एक अधिकारी भन्छन्, ‘प्रशासनले ध्यान नदिँदा पनि संक्रमण फैलिन सघाउ पुग्यो ।’
संक्रमण र मृत्यदर बढेपछि विभिन्न जिल्लाले तेस्रो चरणको लकडाउनको तयारी गरिसकेका छन् । बागलुङ प्रशासनले २८ साउनबाटै शनिबारसम्मका लागि बैंक तथा वित्तीय संस्था समेत खुल्न नपाउने गरी निषेधाज्ञा लगाएको छ ।
कास्कीले बिहीबारदेखि निजी तथा सार्वजनिक यातायातमा पुनः जोरबिजोर प्रणाली लागू गरेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले पालिकाअनुसार २७ गतेदेखि बार छुट्याएर सेवा दिने भएको छ । विभिन्न स्थानीय तहलेसमेत कर्मचारीमा संक्रमण देखिएपछि सेवा नै बन्द गर्न सुरु गरिसकेका छन् ।
के त तयारी ?
दोस्रो लहरको संक्रमण नियन्त्रणमा आइसकेको छैन भने तेस्रो लहरको चेतावनी पनि जनस्वास्थ्य विज्ञहरुले दिइरहेका छन् । पहिलो र दोस्रो लहरको तुलनामा अस्पतालहरुको क्षमतासँगै स्वास्थ्यकर्मीहरुको अनुभव पनि बढेको छ । तर जनशक्ति थपिएको छैन ।
महामारीका यी २ वर्षमा प्रदेश मातहतका जिल्ला अस्पतालका क्षमतामा वृद्धि गरिएको छ ।
प्रदेश अस्पतालहरुको अवस्था
अस्पताल | आईसीयू | भेन्टिलेटर | एचएफएनसी |
जिल्ला अस्पताल, मुस्ताङ | ५ | १ | ३ |
बेनी अस्पताल | २० | ३ | ५ |
धौलागिरि अस्पताल | ३० | ३ | १० |
पर्वत अस्पताल | २० | ३ | ५ |
मातृशिशु अस्पताल | ५ | ३ | २ |
जिल्ला अस्पताल, स्याङ्जा | १० | ३ | ५ |
दमौली अस्पताल | १० | ४ | ५ |
जिल्ला अस्पताल, लमजुङ | ३० | ३ | १० |
जिल्ला अस्पताल, मनाङ | ६ | १ | ३ |
मध्यविन्दु अस्पताल | ३० | ३ | १० |
हरियोखर्क अस्पताल | ४५ | ३५ | १५ |
प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य प्रशासक डा. रामबहादुर केसीका अनुसार जिल्ला अस्पतालहरुमा कतै अक्सिजन प्लान्ट स्थापना गरिएको छ भने कतै शय्या, हाइफ्लो अक्सिजन बेड, आईसीयू–भेन्टिलेटर थपिएको छ । प्रदेशका जिल्ला अस्पतालभर पछिल्ला २ वर्षमा २४१ वटा एनआईसीयू, ३६ वटा भेन्टिलेटर र ८३ वटा हाइफ्लो अक्सिजन बेड जडान गरिएको छ ।
प्रदेशका अस्पतालहरुको अवस्था
तर जनशक्ति भने थप भएको छैन । जनशक्ति अभावकै कारण कतिपय अस्पतालमा जडान भएका भेन्टिलेटर र एचएनएनसी लगायतका उपकरण प्रयोगहीन हुने अवस्था छ ।
हाल उपलब्ध जनशक्तिलाई तालिम दिएर दक्ष बनाउने र आवश्यक ठाउँमा बाल सघन उपचार कक्ष स्थापना गर्ने तयारी भइरहेको मन्त्रालय वरिष्ठ स्वास्थ्य प्रशासक डा. रामबहादुर केसीले बताए ।
‘आईसीयू पनि छ, एचडीयू पनि छ, तर सम्बन्धित चिकित्सकहरु छैनन्,’ डा केसी भन्छन्, ‘प्रदेशमा एनेस्थोलोजिस्ट, जनरल मेडिसिनको एमडी डाक्टर, बाल रोग विशेषज्ञकै कमी देखिएको छ । केन्द्र सरकारसँग विशेषज्ञ चिकित्सक मागिराखेका छौं, दिन सकेको छैन ।’
उनी अघि भन्छन्, ‘कि तत्काल विशेषज्ञ चिकित्सक उपलब्ध गरिदिनुपर्यो कि भएकै जनशक्तिलाई तालिम दिनुपर्यो । तेस्रो लहरसँग लड्न योबाहेक अर्को उपाय छैन ।’
प्रतिक्रिया 4