+
+

आमाबुवाका यी गल्ती, जसले बच्चालाई परनिर्भर बनाउँछ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १०:२८

छोराछोरीलाई कसरी स्यहार-सुसार गर्ने भन्ने कुरामा अहिलेका आमाबुवाको बढी नै लगाव देखिन्छ । उनीहरु चाहन्छन्, सकेसम्म छोराछोरीले दुःख भोग्न नपरोस् । उनीहरु सधै सुखी र खुसी देख्न पाइयोस् ।

यही कारण आमाबुवाले छोराछोरीलाई सुकिलो, खुसी, सुखी राख्ने प्रयास गर्छन् । छोराछोरीले चाहेको कुरा पुरा गरिदिन्छन् । छोराछोरीले कुनै अभाव अनुभव गर्न नपरोस् भन्ने सोच्छन् ।

एक हिसाबले छोराछोरी हुर्काउनका लागि आमाबुवाको मूल दायित्व हो । उनीहरुको खानपान, लुगाफाटो, शिक्षादिक्षा, मनोरञ्जन जस्ता कुरामा आमाबुवाले चासो राख्नुपर्छ र सही प्रबन्ध पनि गरिदिनुपर्छ । तर, यसो भन्दैमा छोराछोरीका खातिर आमाबुवा कुनै कामदार झै बन्नुपर्छ भन्ने पनि होइन ।

बालबालिकालाई निश्चित ढंगले हेरचाह गर्न सकिन्छ । उनीहरुमाथि निगरानी गर्न सकिन्छ । उनीहरुको काम–व्यवहार अवलोकन गर्न सकिन्छ । तर, बालबालिकालाई सुख दिने चक्करमा सम्पूर्ण बोझ आफ्नो टाउकोमा लिनुहुन्न । उनीहरुलाई काम नै गर्न नदिने र सबैकुरा आमाबुवाले नै गरिदिने प्रवृत्तिले अन्ततः उनै बालबालिकालाई नराम्रो असर गर्छ ।

अहिले हामी देख्छौं, आमाबुवाले नै बालबालिकालाई खाना ख्वाउने गर्छन् । सानो शिशुको हकमा त यो ठीकै होला तर खाना खान सक्ने बच्चालाई पनि आमाबुवाले ख्वाइदिन्छन् । बालबच्चा आफैले खानेकुरा खाँदा जुठो बनाएर छाड्छन्, छर्ने गर्छन्, भरपेट खाँदैनन् भन्ने लाग्छ ।  त्यही कारण आमाबुवाले उनीहरुलाई ख्वाउँछन् ।

यसैगरी बालबच्चाको दाँत ब्रस गर्न पनि आमाबुवा नै अगाडि सर्छन् । बालबच्चालाई कसरी दाँत ब्रस गर्ने भन्ने कुरा सिकाउनु जरुरी छ । तर, उनीहरुको ब्रस नै गरिदिनु उचित हुँदैन ।

यसबाहेक बालबच्चाको लुगाफाटो लगाइदिने, जुत्ताको लेस बाँधिदिने, कपाल कोरिदिने, नुहाइदिने, खेलौना मिलाइदिने, ओछ्यान उठाइदिने यावत् काम आमाबुवाले नै गरिदिन्छन् । यसरी आमाबुवाले नै सम्पूर्ण काम गरिदिएपछि बालबच्चा खुसी हुन्छन् । वा उनीहरुलाई यस्तो काम गर्नु नपर्दा आनन्द अनुभव गर्छन् ।

के यो तरिका उचित होला ?

हामीलाई लाग्छ, छोराछोरीले जान्दैनन् । राम्ररी मिलाउँदैनन् । राम्ररी गर्दैनन् । त्यही कारण हामी आफै गरिदिन्छौ । उनीहरुले मिलाएर खेल्नेकुरा राख्न सक्दैनन् । लुगाहरु मिलाएर लगाउन जान्दैनन् । उनीहरुको ढंग नपुग्ने भएकाले हामी त्यो काम आफै गरिदिन्छांै ।

तर, हामीले यसरी उनीहरुको काम गरिदिदा वा सबै कुरामा सहयोग गर्दा उनीहरु परनिर्भर हुन्छन् ।

बालबच्चाको काम उनीहरुलाई नै गर्न दिनु राम्रो हो । यद्यपि हामीले आदेश दिए जसरी काम अह«ाउने भन्दा पनि प्रेरित गर्ने हो । जस्तो बच्चा विद्यालयबाट फर्कन्छन्, जुत्ता–मोजा फुकालेर ¥यागमा राख्न सिकाउनुहोस् । झोला सही ठाउँमा झुन्ड्याउन वा राख्न सिकाउनुहोस् । नास्ता उनीहरुलाई आफै खान दिनुहोस् । खेलौना उनीहरुलाई नै मिलाउन दिनुहोस् । भलै यस्ता कतिपय काममा उनीहरुको ढंग नपुग्न सक्छ । उनीहरुले उचित तरिकाले मिलाएर राख्न सक्दैनन् । उनीहरुले राखेको, मिलाएको तपाईंलाई चित्त नबुझ्न सक्छ । यस्तो अवस्थामा तपाईंले सहयोग बनिदिनुपर्छ ।

जस्तो बच्चाले पुस्तकहरु मिलाएर झोलामा राख्न जानेनन् वा सकेनन् । तपाईं अग्रसर भएर आफै पुस्तक राखिदिने होइन । बरु कसरी राख्ने भन्नेकुरा सिकाउनुहोस् । कसरी पुस्तक राख्दा च्यातिन्छ वा खुम्चिन्छ भन्ने कुरा बुझाउनुहोस् ।

बच्चाले विद्यालय र पाठ्यपुस्तकबाट मात्र ज्ञान आर्जन गर्दैनन् । उनीहरुले स–सना कामबाट पनि उपयोगी शिक्षा हासिल गरिरहेका हुन्छन् । त्यसैले घरमा उनीहरुलाई सहज ढंगको र सकेसम्म उनीहरुकै काम लगाउनुहोस् ।

सुत्नुअघि ओछ्यान मिलाउने, उठिसकेपछि ओछ्यान मिलाउने, पानी आफै सारेर पिउने, लुगाफाटो आफै तयार गर्ने, नास्ता आफै मिलाउने काममा अभ्यस्त बनाउनुहोस् ।

तर, यस्तो क्रममा तपाईंले गर्नै नहुने अर्को गल्ती भनेको तुलना गर्नु हो । फलानोको छोरा वा छोरीले यसरी मिलाउँछ, यसरी काम गर्छ भनेर तपाईंले अर्कासँग दाँज्नुभयो भने त्यसको गलत असर उनीहरुमा पर्छ । आफ्नै घरका दाजुभाई, दिदीवहिनीसँग पनि एकअर्कालाई दाँजेर काम लगाउनुभयो भने त्यसले उनीहरुलाई प्रेरित होइन, हतोत्साही गराउँछ । उनीहरु आफुलाई कमजोर र निरिह ठान्न सक्छन् । यसैले कुनैपनि काम गराउँदा उनकै ढंगले, उनकै शैलीले गर्न दिनुहोस् । तर, ति काम कसरी गर्दा सही र सहज हुन्छ भन्ने चाहि सिकाउनुहोस् ।

कतिपय आमाबुवा यस्ता हुन्छन् कि आफ्नो बच्चालाई काम गर्नै नदिने । बच्चाले काम गर्दा उनीहरुलाई दुःख हुन्छ भन्ने सोचाई राख्छन् । जबकी बच्चाले कामबाट नै जीवनोपयोगी शिक्षा लिने हो । ‘मेरो बच्चाले जान्दैन, गर्न सक्दैन’ भनेर जब तपाईं सबै काम आफै गरिदिनुहुन्छ, तपाईंको बच्चा अरुको साहारा बिना बाच्नै नसक्ने हुन्छन् । भोलिका दिनमा तपाईंले बच्चालाई सबैकुरा आफै गरिदिन सक्नुहुन्न । त्यस अवस्थामा उनको काम कसले गरिदिने ?

सकेसम्म उनीहरुको काममा तपाईंले हात नहाल्नुहोस् । बरु भान्साको काम, बगैचाको काम, सरसफाईको काममा उनीहरुलाई प्रेरित र अभ्यस्त बनाउनुहोस् । यसले गर्दा बच्चामा कामप्रतिको रुची पनि बढ्दै जान्छ । जब बच्चा सानै उमेरदेखी काम गर्न पोख्त र अभ्यस्त हुँदै जान्छन्, उनीहरुको भविष्य सहज हुन्छ । सरल हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?