+
+
ब्लग :

कतै विदेश नगएर मैले गल्ती त गरिनँ ?

डा. अच्युत शाली घिमिरे डा. अच्युत शाली घिमिरे
२०७८ भदौ ४ गते १२:०३

म एउटा इमानदार भनिएको चिकित्सक त भोलि कतै प्रशासक भएँ भने जीविकोपार्जनका निम्ति घुस खानुपर्ने बाटो समाउँछु कि जस्तो लागेर डर लाग्छ भने अरुको हालत के होला ? अनि विदेशमा नै पढेर दक्ष भएकाहरूलाई नेपालमा घुस खान आऊ भनेर बोलाउने कि यो देशको विकास गर्न ?

यो प्रश्नले बारम्बार मलाई सताइरहेको हुन्छ । जति नै सम्हालिएर देशमा नै केही गर्न खोजौं, आइपर्ने अनेकौं समस्यामा यो प्रश्नले आफैंसँग जवाफ खोजिरहन्छ । मनको तलाउ शान्त थियो । बाजुराको विकट भूगोलमा रमाइरहेको थिएँ ।

अचानक फेसबुकमा संगठनात्मक रूपले सँगै हिंडेका सहयात्री रोशन मगरले मर्मस्पर्शी एउटा स्ट्याटस लेखे । ‘बीई पश्चात् आजभन्दा करीब चार वर्ष अघि, अधिकांश साथीहरू विदेश जाने तयारी गरिरहँदा, यतै बसोस् केही गरोस् भन्ने लाग्दथ्यो, उहाँहरू (जो अब फर्केर आउनुहुन्न) ले गल्ती गरिरहेको जस्तो महसूस हुन्थ्यो, आज सोध्नुहुन्छ भने हजुरहरूले एकदमै सही निर्णय लिएको बताउन चाहन्छु !’

अनि त शान्त तलाउमा ढुङ्गा खस्दा झैं उत्पन्न हुने तरङ्ग आयो । नेपालमा नै बसेर केही गरौं भन्ने इञ्जिनियर हुन् रोशन जो सक्षम युवा छन् ।

धेरै मानिसहरू यस्ता पनि छन् जो आफ्नो देशभक्तिको गह्रुङ्गो भारी बोकेर देशमा नै जबरजस्ती बसिरहेका छन्

चिकित्सा क्षेत्रको हविगत पनि यो उनको स्ट्याटस भन्दा कदापि फरक छैन । किनकि ‘फ्रस्टेसन’को आँधी र अनिश्चित भविष्यले वर्तमानलाई घेरिरहन्छ । म आफ्नो पढाइ पूरा गरेर बाजुराको दुर्गम गाउँमा आएको लगभग एक वर्ष पुग्न आँट्यो । बिरामीको सेवा गरेर पाएको सन्तुष्टि त एकातिर होला तर राजनीतिक नेता र प्रशासनका हाकिमहरूको जयजयकार नगरी केही हुने अवस्था अझै छैन । आफूले केही नयाँ गरौं भन्यो, साँचो उही स्थानीय तहका मालिकहरूको हातमा छ । यही कुहिरोभित्र हराउँदै गर्दा आफ्नो जीवन र भविष्य अस्तव्यस्त भएको पत्तै हुँदैन रहेछ । मौसम पूर्वानुमान महाशाखाले जस्तै आफ्नो जिन्दगीको कहींकतै पूर्वानुमान गर्दिने कोही भए मात्र हो नत्र दुर्घटना भएपछि मात्र अवस्था ज्ञात हुनेरहेछ ।

आईओएममा पढेर देशमा नै बस्नेहरू विरलै भेटिन्छन् । तर हामी दुवै दिदीभाइ त अपवाद नै भएर निस्किएछौं । ‘सञ्चै त छु, खुशी नै छु’ भन्दै आफैंलाई चित्त बुझाउँदै, देशका लागि केही गर्न सकिन्छ कि चिकित्सा क्षेत्रमा भन्दै ‘वेट एण्ड वाच’ गरिरहेछौं । तर कहिलेसम्म भन्ने प्रश्न अनुत्तरित नै छ ।

मेरो आफ्नै दिदी एमडीका लागि तयारी गरिबस्नुभएको एक वर्ष भयो । कहिले कोरोनाले कहिले ढिलासुस्तीले परीक्षा समयमा हुनसकेको छैन । लोकसेवा आयोगले आठौं तहको मेडिकल अफिसर स्थायी नमागेको पनि तीन वर्ष कटिसक्यो । कोरोनाकालमा गएर सरकारी अस्पतालमा खटिन त मनलाग्दो हो दिदीलाई तर भत्ता दिने बेलामा सरकार आफ्नो चरित्र देखाउँछ । अष्ट्रेलिया, अमेरिका, लण्डनमा एमडी गर्न गएका र मनग्य आम्दानी कमाएका आफ्ना साथीहरूका फोटा फेसबुकमा देख्दा नि दिदीको मन कुटुकुटु खाँदो हो ।

हप्ताको सबै बार गुड न्युज युक्त हुन्छन् भन्ने पनि छैन । सधैं धुमधाम भएर जिन्दगी जोशपूर्ण हुन्छ भन्ने पनि छैन । देशमै जन्मिएका गौतम बुद्ध र अग्लो सगरमाथा हेरेर नै मनका चाहनाहरू खुम्च्याएर ठूलो देशभक्ति राखेको छु भनेर नेपालमा बसिराख्नुपर्छ भन्ने नि छैन । देश मात्र नभएर विश्व भूगोल नै अध्ययन गर्ने रुचिको विषय कसैको हुन सक्छ । मान्छे पनि त एउटा जैविक पाटोको पुञ्ज न हो । नाक, मुख, आँखा, कान, हात खुट्टा भएपछि व्यक्त हुन पाएन भने ऊ कसरी व्यक्ति भयो र ? पहिला पहिला नारीहरू गर्भवती मात्र हुन्थे, अहिले चाडबाड नै आए जसरी प्रेग्नेन्ट पनि हुन थाल्या छन् । यो नयाँ-नयाँ कुरा गरेर रमाउन र जीवनलाई सफल बनाउन चाहने भोकको चरित्र हो । हो यो भोकलाई जसरी हामी रोक्न सक्दैनौं त्यसरी नै देशले पनि दक्ष नेपालको जनशक्तिलाई रोक्न सक्दैन र सकिरहेको पनि छैन ।

अनेकौं विचार, इच्छा, भावना र आकांक्षाका आधारमा एउटा व्यक्ति निर्माण हुन्छ । त्यो व्यक्ति निर्माणमा पर्यावरणको महत्व हुन्छ अनि दृष्टिकोणको पनि । हामीले विदेश जाने बित्तिकै मानिसहरू पराई भए, देशको माया नगर्ने भए भनेर व्याख्या गर्नु पनि अलि हतारो हुन जान्छ । कसैलाई नेपालको ऐतिहासिक, राजनीतिक, आर्थिक र सांस्कृतिक यावत् पक्षहरूसँग केही पनि मतलब नहुन सक्छ । उसलाई हामी नेपालमा नै जन्मिएको नेपाली मान्ने कि नमान्ने ? भिटेनले अश्लील शब्द चयन गर्दै गीतको रचना गरे जसमा पाश्चात्य संस्कार झल्किन्छ । अब उनलाई नेपाली कलाकार मान्ने कि नमान्ने ? म मान्छु- आन्तरिक तवरले भए गरेका घटनाहरूले सामाजिक सद्भाव खल्बलिनु हुँदैन । तर के कोही विदेश जाँदैमा र उतै पलायन हुँदैमा नेपालको सामाजिक सद्भाव खल्बलिन्छ र ?

धेरै मानिसहरू यस्ता पनि छन् जो आफ्नो देशभक्तिको गह्रुङ्गो भारी बोकेर देशमा नै जबरजस्ती बसिरहेका छन् । कोही बाबुबाजेको राजनीतिक आडभरोसाले गुरुत्वाकर्षणले झैं तानिएर बसेका छन् । कोही नपाएको अवसरलाई राष्ट्रका नाममा समर्पित भएको भनेर पनि बस्दा हुन् । कोही कोही चाहिं असली रूपमा समाजको ऐना भएर राष्ट्र निर्माणमा केही न केही योगदान गरौं भनेरै बसिरहेका छन् ।

परिवर्तन आजको भोलि नै त आउँदैन । आफ्नै तालु खुइलिन्छ तर नेताहरूको बुद्धि फिर्दैन । आफैं नेता बनौं भने पनि पेशाले त्यो दिंदैन । परिवर्तन हुन्छ नै आफ्नै पालामा भन्ने कुरामा आत्मसात् गर्न मनले मान्दैन । अनि फेसबुकका भित्ताहरू चियाउन मन लाग्छ । विदेश गएका आफ्ना सहोदर साथीहरूसँग आफ्नो तुलना गर्न मन लाग्छ । त्यो साथीभन्दा म के कम थिएँ र ? भन्ने सोच्न मन लाग्छ । गाउँबाट शहर अनि शहरबाट विदेश हतारिएर गएको साथीको व्यक्तिगत विकास हेर्दा छक्क लाग्छ । पखेटा कहाँबाट जोडिए र त्यत्रो उडान भर्न सके भन्दै छक्क परिबस्नु बाहेकको विकल्प पनि नहुने रहेछ त्यतिबेला । त्यसैले धीमा भएको समाजको गतिविधिलाई रिफरेन्स मानेर, विदेश जाने आइडिया त्याग्नु गलत त थिएन भनेर सोच्न बाध्य बनाउँछ ।

कुनै पनि देश पहिले नै बनेर ठिक्क भएको हुँदैन । त्यसलाई बनाउनुपर्छ र बनाउनका लागि दक्ष जनशक्ति नै चाहिन्छ । त्यो अझ देशप्रेमले ओतप्रोत भएको भएमा त सुनमा सुगन्ध हुन्छ । र, अझ कुनै नकारात्मक सिस्टम छ भने त्यसलाई सुधार गर्न त त्यही दलदलमा छिरेर कमल फूल झैं फुल्ने आँट गर्नुपर्छ । यदि व्यक्ति पहिला सक्षम भएर आउँछ भने यिनै व्यक्तिद्वारा समाज निर्माण पनि गर्नुपर्छ । कुनै एक्लो व्यक्ति प्रधानमन्त्री भएर क्यालकुलेसनका साथ जादू जस्तै परिवर्तन आउन सम्भव हुँदैन । कोही हिरो भएर देश विकासमा लागिरहेको र कोही चाहिं भिलेन भएर टाङ अड्काइरहेका जस्ता दृश्यहरू पनि अतिवादी हुन् । तर धैर्यका साथ आफ्नो पालो पर्खिराखेमा र आफ्नो आफ्नो ठाउँबाट जेजे सकिन्छ गरेमा मनका अन्तरविरोधहरू हल हुनसक्छन् ।

यी आदर्शका कुराहरू भनिरहँदा एउटा कुरा पनि हामीले बुझ्नैपर्ने हुन्छ । रात्रिक्रियाका लागि बेडमा उत्रिएका श्रीमान श्रीमतीलाई लिङ्ग र योनी बाहेक सेक्सुअल स्याटिसफ्याक्सन दिने अरु चिज के हुन सक्छ र ? हो, त्यस्तै अहिलेको युवा पङ्क्तिहरू आफ्नो केही गरौं भन्ने उमेरमा उत्रिंदा विदेश जाऊँ, रमाऊँ र लाइफ सेटल गरौं भन्ने बाहेकको विकल्प उनीहरूमा नदेखिनु स्वाभाविक पनि हो ।

सबै युवाहरू भोलिको देउवा, प्रचण्ड र ओली बन्न नचाहने पनि हुनसक्छन् । वा आजकै रवीन्द्र मिश्र भएर पनि उनीहरूलाई माइतीघरमा प्लेकार्ड बोक्ने रहर नहुन सक्छ । यसलाई सम्बोधन कसरी गर्न सकिन्छ ? के अलि उमेर घर्किएकाहरूले भन्न सक्छन् ?

‘हामीले त तरल अवस्थाको जीवन यही सडायौं अब तिमीहरू पनि यहीं बस, देश बनाऊ, आफ्नो भूमिका देखाऊ’ भनेर । अहँ.. सक्दैनन् । कसले कसको ग्यारेन्टी लिने यो अनिश्चितताको भुमरीमा ।

सधैं सधैं अन्तर्राष्ट्रिय उडानबाट कति युवाहरू ‘नेभर टु कम ब्याक अगेन’ भन्दै विदेशिएका छन् । त्यो रोक्न मैले ‘फर्क देशमा नै’ भनेर निबन्ध लेख्ने र नेताहरूले ‘अब आँसु चुहाउनु पर्दैन’ भनेर कविता लेखेर मात्र सम्भव छैन । म एउटा इमानदार भनिएको चिकित्सक त भोलि कतै प्रशासक भएँ भने जीविकोपार्जनका निम्ति घुस खानुपर्ने बाटो समाउँछु कि जस्तो लागेर डर लाग्छ भने अरुको हालत के होला ? अनि विदेशमा नै पढेर दक्ष भएकाहरूलाई नेपालमा घुस खान आऊ भनेर बोलाउने कि यो देशको विकास गर्न ?

अब त प्रशंसायोग्य जीवन बाँचौं ताकि बारम्बार हामीलाई विदेश नजाने हाम्रो एकचोटिको प्रतिबद्धताले नबिथोलियोस् ।

सबै सरकारी संरचनाहरू स्थिर अनि भारी लाग्छन् । युवाहरूको बाहुले भार उठाउन त सक्दैन तर परिपक्व भएका अग्रजले सहयोग गरे भने सक्छन् । तर नेपालमा कसले कसलाई सहयोग गर्ने ? खुट्टा तान्दैमा फुर्सत छैन । कुरा काट्दैमा दिन बितेको पत्तो हुँदैन । प्राइभेट केही व्यापार गरौं सोचे पनि त्यसको चोचोमोचो पनि उही सरकारी संरचनामा गएर टुंगिन्छ । शिरदेखि पुच्छरसम्मको लाभांश नेताको शरणमा पार्नुपर्छ । सदासदाका निम्ति । यो देश त व्यापारीहरू सांसद र मन्त्री हुने देश हो । र, बेरोजगार युवाहरू तिनै नेता मन्त्रीलाई फेसबुकमा गाली गरेर बस्ने देश हो । अनि दिनरात गाली गरिराख्ने युवाहरूलाई किन राख्न खोज्दा हुन् र नेता पनि ? गए गइजाउन् सोच्दा हुन् । आफ्नो तलुवा पनि चाट्ने कार्यकर्ता वरपर भए त पुगिहाल्यो नि !

यसो भन्दाभन्दै पनि देशलाई सुविधा र विकासको हिसाबले नर्क जस्तै भाको हेर्न कदापि मनले मान्दैन । हाम्रा बुढा भएका बा–आमाले पछि के भन्दा हुन् ? ‘छोराछोरी हामीलाई नर्कमा छोडेर स्वर्गमा आफूहरू मोज गर्दैछन् ।’ बा–आमाको पुस्ता अस्ताउनु अगाडि त केही गरेर पनि देखाउनु छ । द्वन्द्वग्रस्त यमनमा अढाइ महीना बसेर चिकित्सा कर्ममार्फत मानवसेवा गरेर आएका डा.गोविन्द केसीलाई हेर्दा समेत देश छोडेर जानै मन लाग्दैन । आफ्नै देशका विकट सबै भूगोलमा सेवा दिइसकेका केसीलाई सिको गर्ने हुटहुटीले पनि बाजुरा आएको हुँ । मबाट हुने हरेक सेवालाई फ्री गरेको छु । पसिना र गरीबीको गन्ध आउने ती निमुखाको मुजा परेका पैसा लिएर मलाई पापको भारी बोक्नु छैन ।

गाउँशहरमा पैसाले नागरिकहरूलाई बडा र छोटा भनेर विभेद गर्ने क्रम जारी नै छ । पैसाको देखासिकी गरेर बढाइँ-चढाइँ गरेर हुने त केही होइन तर यो गतिविधिलाई अतिरञ्जित गर्दा आफू सग्लै रहे पनि परिवार डिप्रेशनले धुजा धुजा हुनसक्छ । विदेश नगएर नै आफू पैसाको मालिक हुन नसकेको हीनताबोधले सताउन सक्छ ।

भोट हाल्नकै लागि देशमा बस्नु एउटा कुरा । शून्य मस्तिष्कको अवधारणाबाट माथि उठ्नु त छँदै नै छ, देशलाई हेर्नलायक पनि त बनाउनु छ । आफ्नै थातथलोमा अड्किरहन पेशा, इमान र चाहनाले नदेला तर यही देशको नक्शाभित्र परिवर्तनको बाहक बन्नै पर्ने आवश्यकता पनि त छ ।

अवश्य नै विदेश नगएकोमा पछुतो एउटा घडीमा गएर लाग्छ । तर पछुतोमा टाँसिएर बस्ने छुट हाम्रो पुस्तालाई पनि त छैन । घर, गाडी, बैंक ब्यालेन्स ढिलो प्राप्ति होला तर यसरी नै विदेशिने संख्या रोकिएन भने शायद हाम्रै खोजीमा देश एउटा सालिक जस्तै अड्डिएर बस्ने निश्चित छ ।

अग्लो चट्टाने पहाडमा बसेर तुइनबाट कर्णाली वार-पार गरेका स-साना स्कूले नानीबाबु हेर्छु । बर्खाको बाटो बिरामी रिफर गर्दा बोकेरै सदरमुकाम पुर्‍याइएका घटनाका साक्षी हुन्छु । नेता कसरी जन्मिने हुन् ? किन तिनलाई आँसुले छुँदैन ? भनेर आफैंलाई प्रश्न गर्छु । पुरानो अवस्थाबाट संघीयता आए पनि स्थानीय तहमा हिरोहरू भिलेन जस्तै भएको देख्दा, आफैं पो हिरो भएर आउनुपर्ने हो कि झैं लाग्छ ।

आत्मसमीक्षा गर्न आएका यी प्रश्नहरूले एकप्रकारको कम्प र डिस्टर्वेन्स ल्याउँछ । जुन खाँचो पनि छ । यति भएन भने त बारम्बार ‘टेस्टेड एण्ड फेल्ड’ नेताहरूको हिरोइजमलाई कसरी शंकाको दृष्टिकोणले हेर्न सकिन्छ र ?

यो ब्लग पढ्ने पाठकहरू अवश्य कन्फ्युज्ड छन् । ‘विदेश किन गइनँ ?’ को आत्मग्लानिबाट शुरु भएको ब्लग, अहिले अन्त्यतर्फ आउँदा देशमा नै बस्नुपर्ने आशाका बिस्कुनहरू फिंजारिरहेछ ।

हुन पनि हो, इतिहासले हामीलाई डोर्‍याइरहेछ । पुर्खाको काँधमा टेकेर यहाँसम्म आयौं । तर इतिहासको भरमा हामीले आँटे भइहाल्छ भनेर फितलो सोचाइले पनि अब पुग्दैन । जिउँदै आफ्नै नेताको दाहसंस्कार गर्दै गर्दा र बाँदर बनेर दुनियाँ हँसाउँदा हामीले सोच्नुपर्ने हुन्छ, अबका हाम्रा छोरा नातिले हामीलाई के भनेर चिन्नेछन् ? के गुन लगाएर हामी जानेछौं ? ननसेन्स् भएर देशमा हामी कुन च्याप्टरको अलोकप्रिय क्यारेक्टर बन्दैछौं ? सेवामा खटिनुपर्ने जिन्दगीलाई हामीले गुट्मुट्याएर कसैको चाकरीमा किन व्यतीत गरिरहेछौं ? अब त प्रशंसायोग्य जीवन बाँचौं ताकि बारम्बार हामीलाई विदेश नजाने हाम्रो एकचोटिको प्रतिबद्धताले नबिथोलियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?