+
+

स्वास्थ्य सुरक्षा सामग्रीविनै खटिन्छन् वीरगञ्ज महानगरका सरसफाइकर्मी

सुरेश बिडारी सुरेश बिडारी
२०७८ भदौ ७ गते १७:३६

७ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको फोहोर संकलनका लागि खटिने सरसफाइकर्मीहरुले स्वास्थ्य सुरक्षा सामग्रीविना नै काम गर्ने गरेका छन् । आवश्यक सामग्री मास्क, पञ्जा, बुट र रेनकोटविना नै उनीहरु काममा खटिएका छन् ।

वीरगञ्ज महानगरपालिकाले निजी साझेदारी कार्यक्रम अन्तर्गत फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको छ । सरसफाइको जिम्मा लिएको कम्पनीले नै ज्यालामा राखेका सरसफाइकर्मीहरु मास्क, पञ्जा र बुटविना नै खटाएको देखिएको छ ।

बलवन्त मली, सन्तोष मली र गुवाली मली लगायत सरसफाइकर्मी बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म महानगरलाई सफा बनाउन खट्ने गरेका छन् । तर उनीहरुको स्वास्थ्य सुरक्षाका लागि कुनै सेवा सुविधा छैन । वडा नम्बर १ देखि ३२ वडासम्म खट्ने सफाइकर्मीले आफूहरुलाई ठेकेदार पक्षले मास्क, पञ्जा र बुटजस्ता आवश्यक सामग्री नदिएको गुनासो गरेका छन् ।

‘नास्ता पानी समेत नखाई बिहान ५ बजेदेखि १ बजेसम्म खटेपछि पाँच सय रुपैयाँ ज्याला पाउँछौं, काम गर्न नसकेको दिनको पैसा पाइन्न,’ बलवन्त भन्छन्, ‘मास्क, ग्लभ्स, बुट केही दिँदैनन्, सरसफाइकर्मीलाई कुनै सुविधा नै छैन । वर्षामा भिजेर काम गर्नुपर्छ ।’

गुवाली मली वीरगञ्जको सफाइ गर्ने सरसफाइकर्मीलाई सुविधा दिने कुरामा कञ्जुस्याइँ हुनु दुःखद भएको बताउँछन् । ‘हामी वीरगञ्ज सफा गर्छौं, हाम्रो सुरक्षाका लागि कुनै सुविधा छैन,’ उनले भने, ‘बिरामी भएर काममा आउन नसके उपचार खर्च पाउने त परको कुरा ज्याला पनि पाइँदैन ।’

उनीहरुले कोरोना मात्रै नभएर फोहोरबाट अन्य विभिन्न खाले संक्रमणको जोखिम हुने भएकोले व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री र वर्षामा रेनकोट दिनुपर्ने माग राखे ।  ‘अन्य सुविधा त परको कुरा बिरामी पर्दा पेश्की माग्यो भने पनि दिँदैनन्,’ एक सरसफाइकर्मीले भने, ‘सुविधाको बारेमा आवाज उठाउँदा दबाब दिएर कामबाट नै हटाइदिन्छन् । चुपचाप काम गर्नुको विकल्प छैन ।’

तर ठेकेदार कम्पनी पृथ्वीतारा-एनके इन्टरनेशनल जेभीले भने सरसफाइकर्मीलाई मास्क, पञ्जा, बुट लगायतका समान लगाएर काम गर्न आग्रह गर्दा नटेर्ने गरेको बताएको छ । पटकपटक सरसफाइकर्मीलाई सुरक्षा सामग्री वितरण गरे पनि नलगाउने समस्या देखिएको कम्पनीको दाबी छ । कम्पनीका प्रबन्ध निर्देशक केशव नेपाल भन्छन्, ‘कोरोना महामारीको जोखिमको समयमा अनिवार्य लगाउनैपर्छ भनेर चार पटकसम्म सामान वितरण गर्‍र्यौं । मास्क, ग्लभ्स, बुट लगाएर काम गर्दा अप्ठेरो हुन्छ भन्छन्, अनि लगाउँदैनन् । हेर्दा हामीलाई पनि नराम्रो लाग्छ, तर दिएको सामानको समेत उपयोग गरिदिँदैनन् । हामीलाई पनि नराम्रो देखिराखेको छ ।’

वर्षाको समयमा ओढ्नका लागि रेनकोट दिएको भए पनि उनीहरुले नलगाएको उनले दाबी गरे ।

वीरगञ्जमा ठेकेदार पक्षको तर्फबाट नै २५० को हाहारीमा स्वीपर छन्, हेल्पर र ड्राइभर समेत गरेर ३ सय जना पुग्छन् । महानगरले पनि केही सरसफाइकर्मीलाई खटाउने गरेको छ ।

वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले स्वास्थ्यका लागि मास्क, पञ्जा र बुट अनिवार्य लगाउनुपर्ने बताए । ‘नदिएको हैन, मास्क, बुट, ग्लभ्स, रेनकोट दिएको छ । तर नलगाएर घरमा राखिदिन्छन्,’ सरावगीले भने, ‘स्वास्थ्यका लागि अत्यावश्यक कुराहरु दिन र सरसफाइकर्मीले लगाउन पनि कडाइ गर्छौं ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?