+
+

भिडियोमा नायिकाहरुकै दबदबा बढ्यो, टिकटकबाट उदाएका धेरै छाँटिए

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १२:१३

पहिलो चरणको लकडाउन लुज डाउनमा परिवर्तन भएसँगै नेपालमा म्यूजिक भिडियो निर्माणमा बाढी नै लाग्यो । म्यूजिक भिडियो निर्माण गर्नका लागि नाम चलेका केही कम्पनीदेखि नयाँ निर्माताले दिल खोलेर पैसा लगानी गरे । उसो त, लगानी गर्ने क्रम अहिले पनि कम भएको छैन ।

पहिलो चरणको लकडाउन सकिदासम्म म्युजिक भिडियोमा टिकटकमा राम्रो फलोअर्स कमाएकादेखि टिकटकमा विभिन्न शैली अपनाएर दर्शकको ध्यान खिचेका टिकटकर्सहरुको बोलबाला चल्यो ।

काठमाडौंका केही रेष्टुरेन्टमा त भिडियो खेलेकादेखि भिडियो खेल्ने तयारीमा रहेका टिकटकर्सहरुको समूह खुबै देखिन्थ्यो । गीतलाई स्तरीय बनाउन भन्दा पनि भ्यूजको लोभमा लागेर मेकरले टिकटकमा हिट भएकाहरुलाई रोजे । यसमा केही त प्रतिभा भएकाहरु छानिए भने केही भाइरलहरुले अवसर पाए ।

तर, एक बर्षयता माहोल परिवर्तन भएको छ । अहिले नेपाली म्यूजिक भिडियो निर्माणको गती घटेको छैन । तर, गतबर्षको जस्तो भाइरल टिकटकर्सहरुले भन्दा पनि प्रतिभा भएका कलाकारहरुले स्थान जमाउन थालेका छन् ।

गायक प्रकाश सपुतले निर्माण तथा निर्देशन गरेको ‘कुरा वुझ्नु पर्च’ बोलको गीतमा नायिकाद्धय स्वस्तिमा खड्का र आँचल शर्माले अभिनय गरेका छन् । म्यूजिक भिडियोमा स्वस्तिमा, आँचलदेखि पूजा शर्मा, वर्षा राउत, मलिका महतकै माग बढी भएको देखिन्छ । प्रकाशले यसअघि निर्देशन गरेको ‘फुटेको चुरा’मा पनि नायिका नम्रता श्रेष्ठलाई अभिनय गराएका थिए ।

पहिलो चरणको लकडाउनपछि टिकटकबाट उदाएका थुप्रै मोडलहरु अहिले हराउँदै गएका छन् भने टिकटकबाट नै चर्चामा आएका नयाँ अनुहारले अवसर पाउन थालेका छन् ।

पछिल्लो समय टिकटकबाट उदाएकी मोडल गीता ढुंगाना भिडियोमा हाबी छिन् । यसो हुनुमा, गीताको कामप्रतिको मिहिनेत, उनको नृत्य र लगनशिलतालाई मान्ने गरिन्छ । यस्तै, उषा उप्रेती, गरिमा शर्माहरुको हातमा पनि भिडियो राम्रै छ । तर, उषाले काम गरेका भिडियोले बजारमा खासै चर्चा पाएका छैनन् भने गरिमा काम भन्दा पनि स्क्यान्डलका कारण बढी हिट छिन् ।

म्यूजिक भिडियोमा गतबर्ष चर्चामा रहेका दिपा–दमन्ता, श्रेया सिटौला, स्मारिक–समारिका ढकाल लगायतको चर्चा सुस्ताएको छ । टिकटकबाटै सर्वाधिक फलोअर्स कमाएका प्रिज्मा र प्रिन्सी खतिवडाको हातमा पनि पहिलेको जस्तो म्यूजिक भिडियो छैन । बले इन्टरटेन्मेन्टबाट बनेका केही भिडियोले उनीहरुलाई राहत दिइरहेको छ ।

अहिले म्यूजिक भिडियोमा विशेषगरि नायिकाहरुकै माग बढेको निर्देशकहरु बताउँछन् । भिडियोमा पुरुष मोडलमा भने नेपाली चलचित्रका नायकहरुको दबदबा चलिरहेको छ । टिकटकमा फलोअर्स कमाएको आधारमा केही भिडियो खेलेका थुप्रै पुरुष मोडलहरुलाई अहिले काम पाउन धौं–धौं देखिएको छ । नायक पल शाह, पुष्प खड्का, नाजिर हुसेन लगायतले नै भिडियोमा राम्रो स्थान जमाइरहेका छन् । यस्तै सागर लम्साल, सुधिर श्रेष्ठलाई पनि भ्याई नभ्याई छ ।
म्युजिक भिडियो निर्देशक तथा निर्माताहरुका अनुसार, टिकटकबाट उदाएका धेरै कलाकारमध्ये केही छाँटिदै अगाडि बढेका छन् भने औषत काम गर्नेहरु पछाडि परेका छन् ।

भिडियोलाई भ्यूजको आधारमा मात्र मापन गर्नुभन्दा पनि स्तरियतामा पनि ख्याल गर्नुपर्ने अवस्था सिर्जना भएपछि अहिले नायक–नायिकाको माग बढेको हो । केही भिडियो निर्देशकहरुका अनुसार, टिकटकमा फलोअर्स कमाएर चर्चामा आएका धेरै मोडलहरुले केही अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । जसलेगर्दा, उनीहरु जसरी उदाए त्यसरी नै सेलाउँदैछन् । राम्रो काम गर्नेहरुका लागि भने भिडियो बजार सधै नै सकारात्मक रहेको निर्देशकहरुको तर्क छ ।

भिडियोमा भाइरलको ट्रेन्ड भन्दा पनि काम गर्न सक्ने र दर्शकले रुचाएका अनुहारलाई नै लिएर स्तरियतामा ध्यान दिने सोचाइमा केही राम्रा मेकरहरु पुगेको देखिन्छ । यसैले पनि फेरि भिडियोमा चलचित्र क्षेत्रमा चलेका र दर्शकले रुचाएका कलाकारको नै माग बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?