+
+

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री शाहले फुटबल क्लबका सदस्यमाथि दुर्व्यवहार गरेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १९:०७

९ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाहमाथि  कार्यकक्षमै फुटबल क्लबका सदस्यलाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौंमा आयोजना गरेको सी डिभिजन क्वालिफाइडका लागि छनोट भएको बाजुराको रानीवन स्पोर्ट्स क्लबका सदस्यहरु सहयोग माग्न जाँदा मन्त्री शाहले दुर्व्यवहार गरेको आरोप छ ।

मन्त्री शाहको गृहजिल्ला समेत रहेकाले सहयोगको अपेक्षा गरेर बुधबार दिउँसो भेट्नका लागि कार्यकक्षमै पुगेका बेला अपशब्द प्रयोग गरेर दुर्व्यवहार गरेको क्लबका सल्लाहकार सदस्य डेनिश शाहीले बताए ।

‘हाम्रै जिल्लाका माननीय भएकाले मन्त्रीज्यूसँग खेलाडीहरुलाई केही सहयोग गर्न सकिन्छ कि भनेर कुरा गर्न अध्यक्ष ध्रुव रोकाया र म गएका थियौं,’ शाहीले भने, ‘तर मन्त्रीज्यूले उल्टै फुटबल खेलेर के हुन्छ ? फाइदा हुने काम गर । तिमीहरुको हैसियत के हो ? मलाई थाहा छैन जस्ता कुरा गरेर हामीमाथि अभद्र व्यवहार गर्नुभयो । उहाँलाई टाटु हानेजस्तो सजिलो छैन राजनीति गर्नसम्म भन्नुभयो ।’

क्लबका शाहीले बाजुराबाट पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगितामा आफ्नो क्लबले भाग लिइरहेकाले खेलाडीको सहयोगका लागि आर्थिक संकलन गर्ने क्रममा त्यहाँ पुगेको बताए ।

कार्यकक्षमा पुगेका बेला दुर्व्यवहार गरेको आरोपबारे प्रतिक्रिया लिन मन्त्री शाहलाई सम्पर्क गर्दा उनको फोन उठेन । उनको निजी सचिवालयले भने त्यो कुरामा सत्यता नरहेको दाबी गरेको छ । उनका स्वकीय सचिव जंगबहादुर विकले खेलाडीलाई सहयोग गर्ने विषयमा मन्त्री सकारात्मक भएको बताउँदै दुर्व्यवहार गरिएको आरोप झुठो भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?