+
+

पर्सामा एक वर्षमै थपियो ९ वटा बीओपी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १३:३०

१० भदौ, वीरगञ्ज । सशस्त्र प्रहरीले एक वर्षमा पर्सामा ९ वटा बोर्डर आउट पोष्ट (बीओपी) थपेको छ । योसँगै पर्सामा सशस्त्र प्रहरीको बीओपीको संख्या १८ वटा पुगेको छ ।

पछि थप गरिएका ९ वटा बोर्डर आउट पोष्टमध्ये एउटा उद्घाटन गर्न बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सामान्य बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ देखि ५० जनाको टोली रहन्छन् । तर पर्सामा ५ वटा बीओपीको कमाण्ड सशस्त्र प्रहरी नायब निरीक्षकले नै सम्हालेका छन् ।

सशस्त्र प्रहरीले सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरी पैठारी तथा निकासी नियन्त्रण, सीमा अपराध रोकथामलगायत सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोकथाम तथा नियन्त्रणमा बीओपीलाई परिचालन गर्ने गरेको छ । देशभर सशस्त्र प्रहरीका २ सय २७ वटा बीओपी छन् ।

सशस्त्र प्रहरी बल १३ नं गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काका अनुसार वीरगञ्ज-१६ इनर्वामा ०७७ भदौ १९ गते पहिलो बीओपी स्थापना भएको थियो । त्यसयता ९ वटा बीओपी स्थापना भइसकेको छ । क्रमशः छिपहरमाई गाउँपालिका-२ टिहुकी, जिराभवानी गाउँपालिका-१ महादेवपट्टी, ठोरी गाउँपालिका-३ ब्रम्हनगर, वीरगञ्ज-१७ ड्राईपोर्ट, जगरनाथपुर गाउँपालिका-१ पिपडारी, विन्दबासिनी गाउँपालिका-५ प्रसौनीभाठा र ठोरी गाउँपालिका-४ र धोविनी गाउँपालिका-२ आस्वारीमा बीओपी स्थापना भएको सशस्त्र प्रहरीले जनाएको छ ।

‘बीओपी स्थापनापछि सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा थप योगदान पुगेको छ । गत आर्थिक वर्षमा भन्दा ५० प्रतिशत बढी मूल्यको अवैध समान बरामद गरेका छौं,’ उनले भने, ‘खुल्ला सीमाका कारण हुने अवैध गतिविधि रोक्न सुरक्षा निकायलाई स्थानीयको अझै सशक्त साथ आवश्यक छ ।’

गत आर्थिक वर्ष ०७७/०७८ मा लत्ता कपडा, इलेक्ट्रिक्स समान, मोटर पार्टस, भाँडा कुडा लगायत १३ करोड ३१ लाख मूल्य बराबरको अवैध समग्री बरामद गरी भन्सार बुझाइएको उनले बताए ।

सशस्त्र प्रहरीको बीओपी स्थापनाबाट स्थनीयस्तरमा शान्ति सुरक्षाको हिसाबले पनि राहत मिलेको स्थानीयले बताएका छन् ।

पाँच वटा बीओपीमा नयाँ भवन

सशस्त्र प्रहरीले पर्सामा बीओपी स्थापनासँगै नयाँ भवन संरचनाहरु समेत बनाएको छ । बीओपी स्थापनाका लागि पाँच ठाउँमा नयाँ भवन तथा अन्य संरचना बनाइएको सशस्त्र प्रहरी १३ नं गणले जनाएको छ ।

८० लाख देखि ९९ लाखसम्मको लागतमा पाँच ठाउँमा भवन तथा आवश्यक अन्य संरचनाहरु बनाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिए । ठोरी, सुवर्णपुर, ब्रम्हनगर, भिश्वा र अमरपट्टीमा भवन तथा अन्य संचरना निर्माण भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?