
१० भदौ, काठमाडौं । भूकम्प प्रभावित विद्यालय र स्वास्थ्य संस्थाका लागि भन्दै साल्ट ट्रेडिङले खरिद गरेको ५० हजार बण्डल जस्तापाता बिक्री प्रक्रिया अघि बढेको छ ।
सरकारबाट आधा भन्सार छुट सुविधामा साल्ट ट्रेडिङ कर्पोरेसनले ३० करोड मुल्यमा खरिद गरेको जस्ता ६ वर्षपछि बिक्री हुन थालेको हो । जस्ता बिक्रीका लागि आह्वान गरिएको ठेक्का वीरगञ्जको एक कम्पनीलाई परेको साल्ट ट्रेडिङले जनाएको छ ।
भूकम्पबाट भत्किएको विद्यालय र स्वास्थ्य संस्थाका लागि बिक्री गर्न भन्दै सरकारले खरिद गरेको जस्ता पाता बिक्रीको चरणमा रहेको कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले जानकारी दिए ।
‘सरकारले विद्यालय र स्वास्थ्य संस्थालाई बिक्री गर्न भन्दै हामीलाई जस्ता किनायो तर ती संस्थाहरुले जस्ता किनेनन् । ६ वर्षदेखि फसेको कर्पोरेसनको रकम उठाउन बल्ल बल्ल जस्ता बिक्री गर्दैछौं’ राजभण्डारीले भने । यसअघि पनि पटक-पटक जस्ता बिक्री गर्न ठेक्का आह्वान गरेपनि जस्ता बिक्री नभएको तर छैठौं पटकमा यसपाली ठेक्का लागेको उनले बताए । जस्ता खरिदका लागि गरिएको यस पटकको टेन्डरमा ६ कम्पनी सहभागी भएकोमा वीरगञ्जको बर्दमान इम्पेक्स प्रालिले जस्ता खरिदको ठेक्का पाएको कर्पोरेसनले जनाएको छ ।
२०७२ सालमा कर्पोरेसनले ३० करोड लागतमा भारतको जिन्दल ब्राण्डको जस्तापाता खरिद गरेको थियो । कति रुपैयाँमा जस्ता बिक्रीको ठेक्का लागेको हो भन्नैबारे कर्पोरेसनले खुलाउन चाहेन । वीरगञ्जस्थित खाद्य संस्थानको गोदाममा थन्किएको उक्त जस्ता पाता जस्तो अवस्थामा छ उस्तै अवस्थामा बिक्रीका लागि ठेक्का लागेको तर सञ्चालक समितिबाट ठेक्का स्वीकृत गर्न भने बाँकी रहेको कर्पोरेसनले जनाएको छ ।
प्रतिक्रिया 4