+
+
Shares

पाँच निर्देशक : बाह्रैमास व्यस्त, म्युजिक भिडियोबाट मालामाल

सुशील नेपाल         सुशील नेपाल        
२०७८ भदौ १० गते १८:२७

पत्याउन गाह्रो पर्छ, एकैदिन तीन वटासम्म म्युजिक भिडियो निर्देशन गर्न भ्याउँछन्, कतिपय निर्देशक । खासगरी तीज गीतको माहौलले छोपेपछि उनीहरुले बस्ने फुर्सद् पाउँदैनन् । यन्त्रवत् खटिन्छन्, दिनमै एउटा म्युजिक भिडियो निर्देशन गर्न भ्याउनेहरु पनि यहीँ छन् ।

त्यसो त अहिले म्युुजिक भिडियोकै लहर छ । फिचर फिल्मको काम ठप्प भइरहँदा म्युजिक भिडियोले मनोरञ्जन विधालाई गतिशील बनाएको छ । गीत रेकर्ड गर्ने, म्युजिक भिडियो बनाउने, युट्युबमा सार्वजनिक गर्ने काम असारे रोपाइँझैं फटाफट भइरहेका छन् ।

म्युजिक भिडियो बनाउने यो क्रमले थुप्रै निर्देशकलाई बेफुर्सदिलो बनाएका छन् । यहाँ त्यस्तै व्यस्त पाँच निर्देशकको चर्चा गरिएको छ, जसको हातमा म्युजिक भिडियोको थुप्रो लाग्छ ।

प्रकाश भट्ट

प्रकाश भट्ट लोकदोहोरीमा व्यस्त निर्देशक हुन् । अझ तीज गीतमा त उनको सर्वाधिक माग हुने गर्छ । यसवर्ष मात्र उनले ३२ वटा तीज गीतको भिडियो निर्देशन गरेका छन् । ‘तीजको त्योभन्दा बढी हुन्थ्यो बीचमा बिरामी परेँ’ भट्टले अनलाइनखबरसँग भने, ‘तीजको सिजनबाहेक अन्य सिजनमा महिनामा औसतमा १५ वटासम्म भिडियो निर्देशन गरिरहेको हुन्छु ।’ उनले लोकदोहोरीबाहेक आधुनिक गीतको समेत निर्देशन गर्दै आएका छन् ।

 

 

शान थापा

आधुनिक, पप गीतको भिडियोका लागि चलेका निर्देशक हुन्, शान थापा । उनी विगत ५ वर्षदेखि म्युजिक भिडियो निर्देशनमा सक्रिय छन् । हिजोआज पनि उनको व्यस्तता निकै छ । ‘आज पनि सुटिङमै छु’ थापाले भने, ‘यो महिनामा १५ देखि २० वटासम्ममा काम गर्छु कि !’ उनी महिनामा ठ्याक्कै कति भिडियोको निर्देशन हुन्छ भन्नेबारे भन्न नसक्ने बताउँछन् । ‘म तीजको गीतको निर्देशन गर्दिन् । त्यो समयमा कम हुन्छ’ थापाले भने ।

 

काजिश श्रेष्ठ

लोकदोहोरी भिडियोका लागि पछिल्लो तीन वर्षयता निकै व्यस्त निर्देशकमा मानिन्छन्, काजिश श्रेष्ठ । लोकदोहोरीमा चिनिएका उनले थुप्रै आधुनिक गीतको समेत निर्देशन एवं कोरियोग्राफी गरेका छन् ।

यसवर्ष ३० वटाभन्दा बढी तीज गीतको निर्देशन एवं कोरियोग्राफी गरेको श्रेष्ठ बताउँछन् । उनले भने, ‘अरु समयमा महिनामा औसतमा १५ देखि २० वटा भिडियोमा काम गरिरहेको हुन्छु ।’

 

गम्भीर विष्ट

गम्भीर विष्ट डान्सिङ विटको गीतका लागि पहिलो रोजाइका निर्देशक एवं कोरियोग्राफर हुन् । उनका डान्सिङ बिटका गीतहरु रुचाइँदै पनि आएका छन् । उनी महिनामा १० वटासम्म गीतको निर्देशन एवं कोरियोग्राफी गर्दै आएका छन् । ‘कोरोनाका कारण पछिल्लो समय केही असर परेको छ । त्यसमाथि अहिले बर्खायाममा काम केही कम भएको छ’ विष्टले भने ।

 

मौसम हिमाली

लोकदोहोरी म्युजिक भिडियोमा पछिल्लो पुस्ताका चलेका निर्देशक हुन्, मौसम हिमाली । लोकदोहोरी भिडियो निर्देशनमा पछिल्लो तीन वर्षयता उनी व्यस्त बन्दै गएका छन् । उनका गीतहरु दर्शकले रुचाएका पनि छन् । यसवर्ष उनले झण्डै ३० वटा तीज गीतको निर्देशन गरेको बताउँछन् । ‘तीजको सिजनबाहेक अरुबेला १५ देखि २० वटासम्म भिडियोमा काम गरिरहेको हुन्छु’ बिहीबार पनि सुटिङमै रहेका मौसमले अनलाइनखबरसँग भने ।

अरु पनि छन् बेफुर्सदिला

म्युजिक भिडियो निर्देशनमा रामजी लामिछाने पनि व्यस्त निर्देशकमा मानिन्छन् । उनी हरेक किसिमका गीतको भिडियो निर्देशन एवं कोरियोग्राफी गर्दै आएका छन् । त्यस्तै आधुनिक गीतमा विधान कार्की, निकेश खड्का, सुरेन्द्र वसेल, दीपक आचार्य, विक्रम स्वाँर, सुव्रतराज आचार्यहरु रुचाइएका निर्देशक हुन् । यद्यपि यी निर्देशकहरु संख्यात्मक हिसाबमा भने कम भिडियोमा काम गर्दै आएका छन् ।

लोकदोहोरी म्युजिक भिडियो निर्देशकको कुरा गर्दा छुट्टाउनै नहुने नाम हो, शिव वि.क. । लोकदोहोरी म्युजिक भिडियो निर्देशनमा २ दशकभन्दा लामो समयदेखि सक्रिय उनले केही चलचित्रका गीतको पनि निर्देशन गरेका छन् । पछिल्लो समयमा भने उनको व्यस्तता केही घटेको छ । शिव स्वयं भन्छन्, ‘मैले निकै कम काम गरिरहेको छु । महिनामा बढी भए १० वटा नत्र ५–६ वटा मात्र ।’

यता, शंकर बिसी पनि लोकदोहोरी भिडियोमा निकै चलेका निर्देशक एवं मोडल हुन् । यद्यपि उनी पछिल्लो केही वर्षयता अमेरिका जान-आउ गरिरहेका हुन्छन् ।

निषेधाज्ञा अगाडि नेपाल आएका शंकरले थुप्रै तीज गीतमा काम गरे । उनी फेरि अमेरिका जाने तयारीमा रहेको बुझिएको छ ।

लोकदोहोरी भिडियोमा स्मृति तिमल्सिना (गुरुआमा) पनि व्यस्त निर्देशक हुन् । केही वर्षयता म्युजिक भिडियो निर्देशनमा उनको सक्रियता छ । यस्तै, विक्रम चौहान पनि पछिल्लो समयमा चलेका निर्देशक हुन् । डान्सिङ विटका भिडियोहरुमा सुनिल क्षेत्री निकै रुचाईएका कोरियोग्राफर एवं निर्देशक हुन् । त्यस्तै देवेन्द्र पाण्डे पनि म्युजिक भिडियो निर्देशनमा व्यस्त हुन्छन् । निशान बानिया, प्रविन थापाले पनि पछिल्लो समय लोकदोहोरी भिडियो निर्देशन गरिरहेका छन् । लोकदोहोरीमा आफ्नो अलग्गै पहिचान बनाएका गायक प्रकाश सपूत भने आफ्ना गीतहरु आफैँ निर्देशन गर्दै आएका छन् । ‘दोहोरी ब्याटल’देखि ‘बोल माया’, ‘गलबन्दी’ हुँदै ‘बदला बरिलै’, ‘बुरा बुझ्न पर्च’ प्रकाश स्वयंले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?