+
+

खोइ प्रतिवेदन ? छानबिन समितिका सदस्यहरु बिदामा छन्

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७८ भदौ १० गते १८:४७
Photo Credit : रासस

१० भदौ, काठमाडौं । पछिल्लो एक महीनामा सरकारले सबभन्दा बढी सामना गर्नुपरेको प्रश्न हो- दार्चुला घटनाको छानबिन प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ?

बिहीबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित गृहमन्त्री बालकृष्ण खाँणलाई पनि सांसदहरुले त्यही प्रश्न गरे, १० दिनको प्रतिवेदन दिने गरी बनाएको छानबिन समितिको प्रतिवेदन ३० दिनसम्म किन आएन ?

सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रकै सांसदहरुले जयसिंह धामी नदी तर्ने क्रममा खसेको वा बेपत्ता भएको जस्ता शब्द प्रयोग नगर्न ध्यानाकर्षण गरे । ‘तुइन तर्ने क्रममा नदीमा खसेर’ जस्तो शब्द प्रयोग नगरौं । खसालिएकै हो, खसेको होइन’, माओवादी केन्द्रकी सांसद यशोदा सुवेदी गुरुङले भनिन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद लालबाबु पण्डितले त दार्चुला घटनाको प्रतिवेदन सार्वजनिक नहुनुमा गृह प्रशासनकै भूमिका भएको आरोप लगाए । जयसिंह धामीलाई नदीमा खसालेर हत्या गरेको भन्दै उनले भने, ‘दार्चुला घटनाको रिपोर्ट ढिलो गर्न गृह मन्त्रालय आफैं लागिरहेको त छैन ?’

गृहमन्त्री खाँणको जवाफ भने गज्जब छ । उनका अनुसार छानबिन समितिमा रहेका दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट आफन्तको उपचारका निम्ति भारतको दिल्ली गएकी छन् । उनले अझै २/४ दिन आफू भारतमै रहने जानकारी इमेल मार्फत गराएकी छन् । समितिका अर्का सदस्य राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापाले आफन्तको निधन भएका कारण बिदामा बस्दा प्रतिवेदन तयार हुनमा ढिलाइ भएको बताए ।

दुई सदस्य बिदामा बसेकै कारण छानबिन समितिको म्याद थपिएको भन्दै गृहमन्त्री खाँणले भने, ‘हिजो केही समय थप गरेका छौं र हामीलाई विश्वास छ उहाँहरुले सत्यतथ्य छानबिन गरेर तथ्यकै आधारमा रिपोर्ट बुझाउनु हुनेछ ।’

ढाँटे कुरा काटे मिल्दैन !

गृहमन्त्रीको जवाफ सांसदहरुले पत्याएनन् । ‘छानबिन समितिले काम गर्दै थियो । एउटा दिल्ली भागे, अर्को कहाँ…’ एमाले सांसद पण्डित भन्छन्, ‘तीन पटक म्याद थपिसक्नुभयो । फेरि कति म्याद थपिनुपर्ने हो रिपोर्ट आउन ?’

सत्तारुढ दल माओवादी केन्द्रकी सांसद रेखा शर्माले छानबिन समितिका सदस्य बिदामा बसेका कारण प्रतिवेदन आउन ढिला भयो भन्न नमिल्ने बताइन् । अरु सदस्यहरुले पनि दुई देशको सिमानामा भएको घटनाको छानबिनका लागि गठित समितिका सदस्यलाई घर बिदामा बस्न दिन मिल्छ भन्दै प्रश्न गरे ।

गृहमन्त्रीले भने प्रष्ट जवाफ दिएनन् । ‘छानबिनलाई तीव्रता दिन्छौं र प्रतिवेदन यथाशीघ्र आउनेछ भन्ने विश्वास तपाईंहरुलाई दिलाउन चाहन्छु’, उनको जवाफ छ ।

समितिको निर्देशन

छलफलपछि राज्यव्यवस्था समितिले दार्चुला घटनाबारे ‘कूटनीतिक पहल गरी दोषीलाई कारबाही गर्नु’ सरकारलाई निर्देशन दिने निर्णयको ड्राफ्ट तयार पार्‍यो । समितिकी सभापति शशि श्रेष्ठले प्रस्तावको मस्यौदा पढेर सुनाइन् ।

तर गृहमन्त्री खाँणले ‘कूटनीतिक पहल गरी दोषीलाई कारबाही गर्नू’ भन्दा दोषी पत्ता लागिसकेको भन्ने अर्थ लाग्ने भएका कारण यसरी किटान गरेर समितिले निर्देशन दिन नहुने बताए । जवाफमा समिति सभापति र समिति सदस्यहरुले छानबिनमा रहेको विषयमा किटान गर्ने समितिको मनसाय नरहेको बताए । तथापि कूटनीतिक पहल नगरी यो समस्या समाधान नहुने भएकाले समितिले कूटनीतिक पहल गर्नू भनेर सरकारलाई निर्देश गर्नुपर्ने बताए ।

समिति सभापति श्रेष्ठले सरकारलाई सहयोग गर्ने आफूहरुको मनसाय रहेको भन्दै ‘आवश्यक कूटनीतिक पहल गर्नू’ भन्ने लेख्ने प्रस्ताव गरिन्, जुन पारित भयो । समितिले दार्चुला घटनाबारे यथाशीघ्र छानबिन प्रतिवेदन सार्वजनिक गर्न र घटनाको सम्बन्धमा आवश्यक कूटनीतिक पहल गर्न’ निर्देशन दिइएको छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?