+
+

दीपाश्रीको रामकहानी : त्यो पुरानो स्टोभ, कराही र काठमाडौंको डेरा

शिव मुखिया शिव मुखिया
२०७८ भदौ १२ गते १९:००

प्रकाशका दुई भेद छन्- उज्यालो र अँध्यारो । जब कोही उज्यालोमा उभिन्छ, उसलाई छर्लङ्ग देखिन्छ । दृश्यहरू स्पष्ट हुन्छन् । त्यहाँ सबैको दृष्टि पर्छ । तर, अँध्यारोमा ?

अँध्यारोमा त आफ्नै छायाँले पनि साथ छाड्छ ।

यो उनको अँध्यारो दिनहरूको कथा हो, जतिबेला उनलाई कसैले देख्दैनथे, चिन्दैनथे । जिन्दगानीमा अभावको क्षेत्रफल ठूलो थियो । दुःखको घनत्व बढी थियो ।

हो, यो उनको भोकको कथा हो । संघर्षको कथा हो । अनि कथा हो, आकांक्षा, अठोट, दृढता र लगावको ।

कथाकी पात्र हुन्, दीपाश्री निरौला ।

त्यो पुरानो स्टोभ, कराही र काठमाडौंको डेरा

टेलिचलचित्र, रेडियो नाटकबाट थोरबहुत पैसा आउन थालेपछि म काठमाडौंमा एउटा कोठा भाडामा लिएर बस्न थालें । त्यो साँघुरो कोठा थियो । एकै ठाउँ पकाउने, सुत्ने सबै ।

केशव भट्टराई र भाउजू रेनु दिदी डेरा नजिकैको घरमा भाडामा बस्थे । दिदीले भनिन्, ‘दीपा तिमीले कोठा लियौं । अब यसो गर तिमीलाई स्टोभ, कराही र थाल-बटुका म दिन्छु । केही गाह्रो भयो भने मलाई भन्नु ।’

त्यसबेला स्टोभकै चलन थियो । मट्टीतेल लगाएर स्टोभमा खाना पकाउनुपथ्र्यो । सुत्ने पलङ, केही लुगाफाटो र त्यही भाडावर्तन बाहेक मसँग केही थिएन । टेलिचलचित्रमा खेल्थें । तर, आफ्नो अभिनय हेर्नका लागि मसँग टेलिभिजन पनि थिएन ।

टेलिभिजन हेर्नका लागि घरबेटीको कोठामा पुग्नुपर्ने । ‘म पनि हेर्छु न है’ भन्दै जान्थें र टुसुक्कै मुडामा बसेर टिभी हेरिन्थ्यो । एकदमै असजिलो लाग्थ्यो । उहाँहरूलाई डिस्टर्ब हुने पो हो कि ?

लुसुक्कै गयो, टुसक्क बसेर हेर्‍यो । विज्ञापन आउँदा पनि छटपटी हुने । सरासर सिरियल मात्र आउनु नि जस्तो हुन्थ्यो ।

त्यो समयमा मोबाइल नहुने । सम्पर्कका लागि घरबेटीकै ल्यान्डलाइन फोन नम्बर दिइन्थ्यो । कसैले सम्पर्क गर्नु परेमा त्यहीं फोन आउँथ्यो । जब फोनको घण्टी बज्थ्यो, म बेचैन हुन्थें । कतै मेरो नै फोन आएको हो कि ? कसैले मलाई सिनेमामा अफर गर्न पो सम्झिएको थियो कि ?

जबसम्म घरबेटीले फोन उठाउँदैनथे, मेरो मुटुको चाल पनि बढिरहन्थ्यो । छिटो उठाउनु नि, मलाई बोलाउनु नि ! म अधीर हुन्थें ।

लुगा नहुँदा कार्यक्रम रद्द

मसँग गतिलो लुगाफाटो थिएन । जहाँ जाँदा पनि एउटै लुगा लगाउनुपर्ने बाध्यता । त्यसबेला नर्थफेस लेखिएको एउटा ज्याकेट थियो, बाहिर हिंडडुल गर्दा लगाउने । त्यो सक्कली नर्थफेस होइन ।

ज्याकेटको बाहिरी रातो र भित्री नीलो रंग थियो । दुवैतिर फर्काएर लगाउन मिल्ने । कहिले रातो लगाउँथें, कहिले नीलो । त्यो ज्याकेट लगाउँदा-लगाउँदै मलाई मान्छेले टाढाबाटै चिन्ने भइसकेका थिए ।

सिनेमा एवं मनोरञ्जन क्षेत्रमा धेरै तडकभडक हुन्छ । तर यो चमकदमकको दुनियाँमा म अलग पात्र थिएँ । मसँग राम्ररी लगाउनका लागि लुगा नै थिएन । त्यही कारण म अक्सर कार्यक्रममा सहभागी हुन्नथें । लुगा नभएकाले नै मैले थुप्रै कार्यक्रम छुटाएकी छु ।

विराटनगरको एकजना दाइले विशालनगरको चारतले भवनमाथि कपडा पसल राखेका थिए । एकजना दिदीको सिफारिशमा म त्यहाँ गएँ । भोलिपल्ट फिल्मको छायांकन तय भइसकेको थियो । आज मसँग लुगा छैन ।

दाइले लुगा त दिने हुनुभयो तर, त्यहाँ आफ्नो लागि पालो पर्खिरहनुपर्ने । ग्राहक आइरहन्थे । एउटा ग्राहक जान पाएकै हुँदैन, अर्को थपिन्छ । ट्राइल रुममा जान्छ । फेरि अर्को लुगा खोज्छ ।

म सोच्थें, यिनीहरू छिटो-छिटो लुगा लिएर जानु नि !

बिहान एघार बजे पुगेको, पाँच बजेसम्म पनि मेरो पालो नआउने । दाइ सोध्नुहुन्थ्यो, ‘नानी के भोक लाग्यो ?’

‘होइन, ठीकै छ’ म भन्थें । तर, भोकले पेट बटारिएको हुन्थ्यो ।

दाइले समोसा र चिया मगाउँथे । त्यस दिनको नास्ता, खाना जे भने पनि त्यही हुन्थ्यो मेरो ।

भोकको क्षेत्रफल

धेरै पटक मैले भोक सहेकी छु । अहिले त पत्याउन गाह्रो होला, तर कति दिनहरू यस्ता छन् जतिबेला मेरो पेटमा एक दान अन्न पनि पर्दैनथ्यो । पानी पिएर पनि दिन कटाएँ ।

संघर्षको बेला कामका लागि धेरैभन्दा धेरै दौडधूप गर्नुपर्छ । आफ्नो कामको कुनै मूल्य हुँदैन । धेरै काम र थोरै कमाइ हुन्छ । यसले गर्दा भरपेट खानका लागि न त पर्याप्त पैसा हुन्छ, न पुग्दो समय नै ।

कहिले फुर्सद नभएर त कहिले पैसा नभएर मैले खान पाइनँ । कुनै बेला पाउरोटीले मात्र छाक कटाएकी छु ।

कुनै कार्यक्रममा, साथीभाइकहाँ खाजा खाने समयमा पुगियो भने केही खान पाइन्थ्यो । त्यसले नै मेरो दिनभरको भोक मेट्थ्यो । अनन्त वाग्ले, शान्तिपि्रय, माधव दाइहरूलाई सम्झन चाहन्छु, जसले मेरो धेरै छाक टार्न सहयोग गर्नुभयो ।

सिनेमाको भव्य स्क्रिनमा राजेश हमालसँग नाच्न पाउनु मेरो लागि सामान्य कुरा थिएन । ‘गोली सिसाको’ गीतमा यस्तो मौका पाउँदा मैले निर्देशकलाई थुप्रै पटक ‘थ्यांक यु, थ्यांक यु’ भनें । वास्तवमा यो मेरो जीवनकै टर्निङ प्वाइन्ट थियो

टेम्पु चढ्न पैसा नहुने

त्यसबेला काठमाडौंमा सानो टेम्पो चल्थ्यो । त्यसमा १० रुपैयाँ भाडा लाग्थ्यो । तर, मसँग यति पैसा पनि नहुने कि १० रुपैयाँ खर्च गरेर टेम्पो चढ्न सकियोस् । ट्याक्सी चढ्ने कुरा त कल्पना बाहिर भयो । मैले ट्याक्सी चढ्छु भनेर त सोच्दा पनि सोचिनँ ।

जहाँ पुग्नुपर्छ लखरलखर हिंड्दै जाने हो । सुटिङमा जानु परेको बेला होस् वा रेडियो नेपालमा, हिंडेरै पुगिन्थ्यो ।

पछि रामविलास-धनियाँ रेडियो नाटकपछि केही गाईजात्रे कार्यक्रममा काम गर्न पाइयो । त्यहाँबाट थोर-बहुत खर्च आउन थाल्यो । अनि बल्ल टेम्पु चढ्न थालियो ।

आफैंले नाचेको ‘गोली सिसाको’ हेर्न नपाउँदा

‘गोली सिसाको
मेरो माया किन रिसाको
ताजा खबर
ज्यान माया नहेर है
कर्के नजर’

एकताका खूब चलेको गीत हो, यो । त्यसबेला टिभी, रेडियो सर्वत्र यो गीत बज्थ्यो । गीतमा राजेश हमालसँगै मैले नाचेकी छु । साथमा राजाराम पौडेल पनि छन् । ‘गाउँले’ चलचित्रको प्रमोशनल गीत रहेछ यो ।

यसको निर्देशक थिए, दीपक श्रेष्ठ । उनी धरानका । म विराटनगरकी ।

एकपटक नृत्य गर्नका लागि नारायणघाट गएकी थिएँ । दीपक श्रेष्ठ दाइ पनि त्यतै रहेछन् । मैले भनें, ‘दाइ आज हाम्रो डान्स हुँदैछ, हेर्न आउनु है ।’ नारायणी खेला छेवैमा म र मेरा साथीहरू नाच्यौं । ‘दाइ डान्स हेरिसकेपछि स्टेज पछाडि भेट्न आउनु ल’ भनें ।

दीपक दाइ आएर उत्साहित भावमा भने, ‘दीपा तिमीले त बबाल डान्स गर्‍यौ । दामी गर्‍यौ ।’

म अलि हक्की स्वभावको । बोल्न नडराउने । प्वाक्क भनिहालें, ‘तपाईं डाइरेक्टर रे, हामीलाई लिनु त हुन्न ।’

‘म एउटा फिल्म बनाउँदैछु’ उनले भने, ‘तिमीलाई त्यसमा बोलाउँछु । बुझ्यौ ?’ त्यसपछि हामीले फोन नम्बर आदान-प्रदान गर्‍यौं । घरबेटीकै ल्यान्डलाइन नम्बर थियो, त्यो ।

नभन्दै १५-२० दिनपछि दीपक दाइको फोन आयो । डिल्लीबजारको ओरालोमा गोपाल कर्माचार्यको घर रहेछ । त्यहीं उनको अफिस । अफिसमा बोलाए । शुरुमा त मैले पत्याइनँ । ‘हा, दीपक दाइ मजाक गर्नुहुन्छ’ मैले उहाँको कुरा उडाएँ, ‘होइन होला ।’

पछि म गएँ । गाउँले फिल्मको गीतमा नाच्नुपर्ने रहेछ । गीत थियो, गोली सिसाको ।

गीतमा राजेश हमालसँग मैले नाच्नुपर्ने । राजेश हमाल, जसलाई मैले फिल्ममा हेरिरहेकी थिएँ । राजेश हमालको को-एक्टर भएर खेल्न पाइयो । मैले दीपक श्रेष्ठ दाइलाई कति पटक ‘थ्यांक यु… थ्यांक यु’ भनें । मेरो जीवनकै टर्निङ प्वाइन्ट यही हुन्छ भन्ने लाग्यो । यदि होइन भने मैले घर र्फकनुपर्छ । किनभने मेरो लागि यो ठूलो मौका थियो । सिनेमाको भव्य स्क्रिनमा, राजेश हमालसँग नाच्नु सामान्य कुरा थिएन ।

नैकापको चौरमा गीतको छायांकन भएको थियो । शान्ता नेपाली नृत्य निर्देशक । शान्तिपि्रय, अनन्त वाग्ले दाइहरू पनि छायांकनमा गएका थिए । उनीहरू मलाई हौसला दिन्थे । त्यसबेला नृत्य निर्देशकहरू पनि एकदमै राम्रा । उत्प्रेरणा दिने खालका । राम्रो नाच्यो भने बक्सिस्मा पैसा दिन्थे ।

गीत सार्वजनिक भयो । सर्वत्र चर्चा हुन थाल्यो । चिनेजानेकाहरू भन्थे, ‘तेरो गीत कस्तो हिट भयो ।’

तर, मेरोमा टिभी थिएन ।

आफूले त्यति अपेक्षा गरेको गीत आफैंले हेर्न नपाउँदाको छटपटी कस्तो भयो होला ?

गीत टप टेनबाट बाहिरिएपछि मात्र बल्ल मैले हेर्न पाएँ ।

यसरी रामविलासकी धनियाँ बनें

‘दीपाजी, एउटा धनियाँको चरित्र निर्माण गरिरहेका छौं । त्यो तपाइर्ंले गरिदिनु न’ एकदिन दीपकराज गिरीले प्रस्ताव राखे । त्यसबेला हामीबीच खासै दोस्ती जमिसकेको थिएन । हाइहेल्लो मात्र थियो ।

उहाँलाई मैले पहिलो पटक रेडियो नेपालकै प्राङ्गणमा देखेकी थिएँ । म भर्खरै मात्र काठमाडौं टेकेकी । विराटनगरमै मेरो ‘अग्निपथ’ टेलिशृंखला हिट भइसकेको थियो । त्यहाँ मैले एक मैथिली किशोरीको भूमिका गरेकी थिएँ ।

‘ऊ त्यो अग्निपथमा खेल्ने केटी होइन ?’ मलाई देखेर उहाँहरू यसै भन्नुहुन्थ्यो रे ! त्यसबेला उहाँसँग जीतु नेपाल, दमन रूपाखेती हुन्थे । दीपकराजजीले अनायासै धनियाँको लागि प्रस्ताव राखेपछि शुरूमा त म हच्किएँ ।

‘अबुई, सक्दिनँ होला’ म पन्छिन खोजें, ‘मलाई त डर लाग्छ ।’

उहाँले सहजीकरण गर्नुभयो, ‘म सिकाइहाल्छु नि ! त्यस्तो गाह्रो हुँदैन ।’ मलाई उक्त चरित्र निर्वाह गर्न किन पनि चुनौतीपूर्ण थियो भने, रेडियोमा रामविलास स्थापित भइसकेको थियो । रामविलासले प्रेम प्रसंगका कुरा गरेर असंख्य श्रोताको मन जितिसकेको थियो । रामविलासले ‘मेरी धनियाँ’ भनिरहँदा श्रोतामा कस्ती होला धनियाँ भन्ने परेको थियो । तर, त्यसबेलासम्म धनियाँ भन्ने पात्र नै उपस्थित गराइएको थिएन । ‘मेरी धनियाँ छे, गाउँमा छे’ भनेर एक अदृश्य पात्रलाई दीपकराजले राम्ररी स्थापित गरिसकेका थिए ।

रामविलास-धनियाँको कुनै स्क्रप्ट हुँदैनथ्यो । कुनै विषय छनोट गरिन्थ्यो र त्यसमै नाटकीय संवाद गर्नुपर्ने हुन्थ्यो । कुन विषयमा कुरा गर्ने, कस्तो परिवेश र परिस्थिति निर्माण गर्ने भन्ने मोटामोटी खाका हुन्थ्यो । त्यसैमा रहेर स्वतस्फूर्त संवाद बोल्नुपर्ने ।

‘रामविलास-धनियाँ’ यति धेरै लोकप्रिय भयो कि, श्रोताले पठाएको पत्रको ठूल-ठूलो चाङ हुन्थ्यो । हामी त्यही पत्रमध्येबाट छानेर राम्रा-राम्रा मुक्तकहरू प्रसारण गर्थ्यौ ।

रामविलास र धनियाँ मधेशी मूलका पात्र हुन् । उनीहरूको लवज र परिवेश मधेशकै हुने । प्रत्यक्ष देखभेट हुँदा त हामीलाई धेरैले चिन्दैनथे । तर, रेडियोका रामविलास र धनियाँलाई भने धेरैले चिन्थे ।

रेडियो नेपालको ५०० रुपैयाँ पारिश्रमिक

रेडियो नेपालमा धनियाँ बनेपछि मैले पारिश्रमिक ३०० पाउँथे, मासिक । वासुदेव मुनालको बाल नाटकमा पनि मैले मौका पाएँ । त्यहाँ २०० रुपैयाँ पाउँथें । यसरी जम्मा गरेर मैले ५०० रुपैयाँ पाउने भएँ ।

यो मेरो लागि चानचुने कुरा थिएन । ठूलो पैसा थियो । त्यो पनि आफ्नो कलाबाट आर्जन गरेको । जुन दिन रेडियो नेपालको लेखापालले मलाई ५०० रुपैयाँको नोट थमाइदिए, म आत्मगौरवले फुलिएँ । पैसा समातेर मैले मनमनै भने, ‘म काठमाडौं किनिदिन्छु ।’

मलाई यस्तो किन पनि लाग्यो भने यो सानो दुःखले आर्जेको सम्पत्ति थिएन । सामान्य परिवारबाट अनेक हन्डर खाँदै हुर्किएकी छोरी थिएँ म । अभावै अभावका रातहरू गुजारेकी थिएँ । भोको पेट, थकान र कष्टहरू खेपेकी थिएँ ।

बाल्यकालमा म छोरा थिएँ

बाल्यकालमा त मलाई पुल्पुल्याएर हुर्काए । बुवाआमा दुवैले जागिर गरेर हामीलाई सुकिलो राखे ।

म छोरो स्वभावकी । छोराकै लुगा लगाउने । खेल्न पनि छोराले जस्तै खेल्ने । भाँडाकुटी मन नपर्ने । साथीहरू भन्थे, ‘दीपा किन तँ यस्तो लुगा लगाउँछेस् ?’

‘किनभने तिमीहरू केटी हौ, म केटा हुँ’ यसै भन्थें । बुवाआमाले पनि मलाई छोरा नै भनेर हुर्काए । किनभने उहाँहरूको छोरा नै थिएन ।

पछि आठ कक्षामा पुगेपछि मात्र कुर्ता सुरुवाल लगाएँ ।

सानैदेखि म रौसे । नाच्नुपर्ने, सिनेमा हेर्नुपर्ने । आमासँग लहसिएर सिनेमा हेर्न गइरहन्थें । दशैंमा टीका थापिरहँदा बुवा-आमालाई भन्थें, ‘छोरी हिरोइन बनोस् भनेर आशीर्वाद दिनुहोस् ।’

आमाले मेरो मनोभाव बुझ्नुभएको थियो । उहाँले नाच्नकै लागि भनेर मलाई बालमन्दिरमा भर्ना गरिदिनुभयो । बाल दिवसको दिन नृत्य गरेर मैले पुरस्कार पाएँ । मेरो जीवनको पहिलो स्यावासी थियो, त्यो ।

जहाँ म हुर्किएँ, त्यो न शहर भन्न मिल्ने, न गाउँ । ठिमाहा बस्ती । त्यहीं हाम्रो बाल्यकाल बित्यो- दौंतरीसँग हाँस्दै, खेल्दै, झगडा गर्दै । शुक्रबार हिन्दी फिल्म सार्वजनिक हुन्थ्यो । आमाहरू नाइट शो हेर्न जाने । उहाँहरू चढेको रिक्सामा झुन्डिनै पर्ने म । पछाडि झुन्डिएर हुन्छ कि, अगाडि रिक्सा चालकसँग बसेर हुन्छ, फिल्म हेर्न दौडिहाल्ने ।

एक हिसाबले बाल्यकाल रमाइलोमा बित्यो । बुवाआमालाई त गाह्रो थियो । तर, हाम्रो खुशीका लागि उहाँहरूले आफ्नो दुःख भुल्नुभयो ।

मातृवियोग र मन भुलाउने बहाना

हामी सानै छँदा आमा बित्नुभो, २०४७ सालमा । दुई जना दिदीको विवाह भइसकेको थियो । त्यसैले घरको सम्पूर्ण जिम्मेवारी मेरो काँधमा आयो ।

बहिनी, भाइ रेखदेख गर्नुपर्ने, बुवाको लागि खाना तयार गर्नुपर्ने । यस्ता थुप्रै काममै मेरो दिन बित्न थाल्यो । किशोरवयमा त सबै जना रमाउँछन्, खेल्छन् । तर, म जिम्मेवारीबाट बाँधिएँ । किशोर उमेरको आनन्दबाट विमुख भएँ ।

आमा वितेपछि घर नै शून्य भयो । हामीले एक्लोपन महसूस गर्‍यौं, जीवन निरास थियो ।

यो एक्लोपन, निराशाबाट मुक्त गर्नका लागि काका, आफन्तहरूले मलाई नाचगानमा प्रेरित गर्नुभयो । हाम्रो मनोदशा बुझेर उहाँहरू भन्नुहुन्थ्यो, ‘दीपा नाच्दा कति खुशी हुन्छे । कति रमाइलो मान्छे ।’

नाचगानमा लागेपछि मेरो मन बहलिन्छ भनेर उहाँहरूले मुकुन्द श्रेष्ठसँग भेट गराइदिए । मुकुन्द श्रेष्ठ त्यसबेला ‘बनिदिस्योस् न’ भन्ने नाटक गर्दै हुनुहुन्थ्यो । नाटकमा म मुख्य चरित्रका लागि छनोट भएकी थिएँ । तर, सोही बखत एउटा टेलिशृंखलाको प्रोजेक्ट आयो- अग्निपथ ।

यसका लागि काठमाडौंबाट सम्पूर्ण टोली विराटनगर आए । यहाँ उनीहरूलाई एउटा एकदमै मौलिक देखिने, मैथिली बोल्न सक्ने किशोरी चाहिएको रहेछ । काठमाडौंबाट नै यस्तो चरित्रका लागि कलाकार ल्याउने तयारी हुँदै गर्दा मैले यो कुरा थाहा पाएँ । अनि मुकुन्द दाइलाई भनें, ‘म त्यो रोल गर्छु नि !’

त्यो विन्दास केटी हुन्छे । ऊ लड्डु खाँदै निर्धक्क बोल्छे । आफ्नो गाउँको बखान गर्छे । यस्तो चरित्र थियो ।

उहाँले मेरो लागि मौका मिलाइदिनुभयो । अब म अभिनय र मैथिली भाषा सिक्न थालें । यो १० भागको थियो ।

अग्निपथ गरिरहँदा मेरो नाम दीपा निरौला मात्र थियो । काठमाडौंमा यसको सम्पादन भइरहँदा सम्पादकले नै उसको नाममा श्री थपौं भनेछन् । अनि मेरो नाम, दीपाश्री भयो ।

अग्निपथ कहिले प्रसारण हुन्छ भनेर एकदमै अधीर थिएँ । जब प्रसारण भयो, घरभरी मान्छे । त्यसबेला हाम्रोमा पनि टेलिभिजन ल्याइसकेको थियो । घरमा खचाखच मान्छे । म फुरुंग ।

अग्निपथ प्रसारण भएपछि त मेरो भुइँमा खुट्टा भएन । टोलमा, विद्यालयमा सबैले मलाई त्यही पात्रको नामले बोलाउन थाले । मलाई सानैमा एउटा इच्छा थियो, बाटो हिंड्दा पनि सबैले चिनुन् ।

नामको कतिसम्म लोभ थियो भने नाच्नका लागि जहाँ पनि पुगिन्थ्यो । कहिले इलाम, कहिले धनकुटा ।

अवार्ड लिन रात्रिबस चढेर काठमाडौं

काठमाडौंबाट एकदिन पत्र आयो, मेरो नाममा । ‘अग्निपथ’बाट मलाई नव अभिनेत्री अवार्ड दिने उल्लेख थियो, त्यसमा । यो अप्रत्यासित खबरले म फुर्किएँ । पत्र देखाउँदै टोलभरि दौडिएँ । साथीहरूलाई देखाएँ, ‘हेर मैले अवार्ड पाउने भएँ, म सम्मानित हुँदैछु ।’

मेरो मिल्ने साथी थिए, संगीता र विनिता । उनीहरूलाई लिएर दौडिएँ ।

त्यो उमंग साट्न म कतिसम्म आतुर रहेछु भने दौड्दा दौड्दै खुट्टा काटेको पनि पत्तो पाइनँ । बाटोमा मेरो खुट्टामा ठूलो चोट लागेछ ।

खुट्टाबाट रगत आइरहेको छ । तर, मलाई मतलब छैन । आन्टीकोमा जान्छु, साथीको घरमा जान्छु । बेपत्तासँग दौडन्छु ।

अवार्ड थाप्न म ठूलो भिनाजुलाई साथमा लिएर काठमाडौं आएँ रात्रिबसमा चढेर । बसमा रातभर कल्पिरहें, अवार्ड थाप्दाको क्षण कस्तो हुँदो हो । बस गुडिरहँदा म आफ्नै सपनामा सयर गरिरहेकी थिएँ ।

अवार्ड समारोहमा वेग्लै माहोल थियो । त्यहाँ उद्घोषकले ‘अग्निपथ’ बाट फलानोले अवार्ड पाउँदै हुनुहुन्छ भन्दा मेरो छाती अरू चौडा भयो । सास रोकिएला जस्तो भयो । त्यसबेला म उठेर अरूसँगै जोडले ताली बजाएछु ।

काठमाडौं आएर अवार्ड थाप्न जाँदा मलाई शान्ति मास्के, बसुन्धरा भुसाल दिदीहरूले ढाडस दिनुभयो । यसले मलाई अगाडि बढ्नका लागि थप ऊर्जा मिल्यो ।

अवार्ड थापेर घर फर्किएँ । त्यहाँ गएपछि संगिनी भन्ने भिडियो फिल्ममा काम गरें । त्यसमा मैले पहिलो पटक सरोज खनालसँग काम गर्ने मौका पाएँ । त्यसमा रूपा राना लगायतका कलाकार हुनुहुन्थ्यो । यतिबेलासम्म मलाई कलाकारिताको यति रस भिजिसकेको थियो कि, त्यसबाट म बाहिर आउनै नसक्ने अवस्थामा थिएँ ।

रेडियो नेपालको सेरोफेरो

‘हिरोइन’ बन्न काठमाडौं आएपछिका दिनहरू मेरा लागि सहज थिएनन् । जुन उत्साहका साथ मैले काठमाडौंमा पाइला टेकें, त्यहींबाट मेरो कठिन समय शुरु भयो ।

शुरूमा म दिदीकहाँ पाहुना लागें । दिदीको अनामनगरमा घर थियो । तर, दिदी झापामा । घरमा सासू-ससुरा मात्र । घरमा कतिबेला आउने-जाने मेरो टुंगो हुँदैनथ्यो । त्यसैले दिदीको घरमा बसिरहन असहज भयो । जे भए पनि कुटुम्बको घर ।

पछि आफ्नो बेग्लै कोठा लिएँ । कोठाको लागि खर्च जुटाउँछु भन्ने हिम्मत आयो । किनभने त्यसबेला म रेडियो नाटक रामविलास-धनियाँमा आवद्ध भइसकेकी थिएँ ।

दीपकराज गिरीसँग मेरो भेट त्यही सिलसिलामा भएको हो । उनी पनि त्यसबेला संघर्षकै क्रममा थिए ।

शुरुमा त मलाई मदनदास श्रेष्ठले रेडियोमा प्रवेश गराए । त्यसअघि एउटा भिडियो फिल्म ‘अग्निपथ’ मा उहाँ मेरो बुवा बनेर खेल्नुभएको थियो । अग्निपथ विराटनगरमै बनेको भिडियो फिल्म हो । त्यही हुँदा उहाँले भन्नुभएको थियो, ‘काठमाडौं आएको बेला फोन गर है ।’

विराटनगर छँदै मैले फोन गरें, ‘मदनदास बुवा म काठमाडौं आउँदैछु । हजुरले सहयोग गर्नु ल ।’

उहाँले बोलाएपछि म रेडियोमा गएँ । नाटकमा बोल्नका लागि तालिम लिनुपर्ने रहेछ । बीबीसीले दिएको एउटा तालिम पनि लिएँ । रेडियोमा कसरी बोल्ने, कति दूरीमा माइक्रोफोन राख्ने, आवाजकै माध्यमबाट कसरी आफ्नो भावहरू प्रस्तुत गर्ने इत्यादि ज्ञान भयो ।

‘द गेस्ट’ भन्ने एउटा रेडियो नाटक थियो, त्यसमा बाल कलाकारको भूमिका गरें । जबकि म फिल्मकी हिरोइन भैसकेकी थिएँ । जीविकोपार्जन गर्नका लागि एकपछि अर्को ढोका ढकढक्याउनुपर्ने अवस्था थियो । अतः कुनै काममा लागिसकेपछि त्यहींभित्र अवसरहरू खुला हुँदै जाने रहेछ । म विस्तारै रेडियोको संगतमा भिज्दै थिएँ ।

पछि ‘दिन-प्रतिदिन’ भन्ने रेडियो नाटकमा काम पाएँ । त्यसपछि रामविलास-धनियाँ ।

‘डमी डाइरेक्टर’देखि तीतो सत्यसम्म

रामविलास-धनियाँ हिट भएपछि हामीलाई विभिन्न कार्यक्रमको निम्तो आउन थाल्यो । खासगरी गाईजात्रामा हाम्रो प्रस्तुति समेटिन्थ्यो । त्यसबेला राष्ट्रिय सभा गृहमा गाईजात्रा कार्यक्रम हुन्थ्यो । यसरी विस्तारै जीवनले गति लिन थाल्यो ।

यतिबेलासम्म दीपकराज गिरीसँग मेरो सहयात्रा शुरू भइसकेको थियो । उहाँ र म एकसाथ रामविलास-धनियाँ बनेर विभिन्न कार्यक्रममा पुग्थ्यौं । त्यससँगै छिमेकी, देवी टेलिशृंखला, सिनेमाको काममा पनि हामी व्यस्त हुँदै गयौं ।

दीपकजीले एकदिन प्रस्ताव राखे, एउटा टेलिफिल्म बनाऔं न । त्यसअघि हामीले धेरै टेलिफिल्म बनाइसकेका थियौं, जो नेपाल टेलिभिजनबाट अस्वीकृत भयो । अहिले पनि हामीले बनाएका टेलिफिल्महरू डब्बामै छन् ।

टेलिफिल्मको डमी बनाउने, लगेर टेलिभिजनमा बुझाउने । दीपकजीलाई त कतिसम्म भयो भने, ‘डमी डाइरेक्टर’ नै भन्न थाले ।

तर, हामी हरेस खाएका थिएनौं । किनभने हामीसँग समय थियो, उमेर थियो । ऊर्जा र उत्साह थियो । जबकि हास्य कलाकारलाई नपत्याउने, खासै भाउ नदिने अवस्था थियो । हास्य कलाकारको खास मूल्य थिएन ।

पछि हामीले एउटा हास्यप्रधान टेलिशृंखलाको अवधारणा बनायौं । त्यसको नाम संगीतकार शम्भुजीत बासकोटाले जुराइदिनुभयो, तीतो सत्य ।

शुरूमा यो तीन भागको मात्र हामीले तयार गरेका थियौं । तर, पछि १३ भागसम्म बनाउने सम्झौता भयो । १३ पछि २६ । २६ पछि ५२ हुँदै १२ वर्षसम्म अविच्छिन्न तीतो सत्यको शृंखला निर्माण गरियो ।

तीतो सत्यपछि हाम्रो करिअरको ग्राफ विस्तारै उकालो लाग्यो ।

तर, लोडसेडिङ लगायतले टेलिभिजनको क्रेज घट्न थाल्यो । टेलिभिजन हेर्ने दर्शक विथोलिए । त्यही समयमा हामीले फिचर फिल्मको काम गर्ने योजना बनायौं । त्यही अनुसार ६ एकान ६ बनायौं । भाग्यवश यो निकै राम्रो भयो । यसले हामीलाई अगाडि बढ्न अरू हौसला दियो । त्यसपछि छक्का पञ्जा हुँदै छ माया छपक्कैसम्म पुगियो ।

हाम्रो यो यात्रा अटुट रहनेछ । किनभने हिजो हामी जुन अवस्थाबाट गुजि्रयौं, त्यो भोलिका निम्ति हाम्रो मार्गदर्शन बन्नेछ ।

तस्विर-भिडियो : शंकर गिरी

लेखकको बारेमा
शिव मुखिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment