+
+

नेकपा समाजवादीमा प्रदेश १ का १० सांसद, राई भन्छन् – १२ पुग्छौं

हरि अधिकारी हरि अधिकारी
२०७८ भदौ १२ गते १७:३८

१२ भदौ, विराटनगर । माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रदेश १ का १० जना सांसद खुलेका छन् । पार्टी विभाजन भएपछि माधव पक्षका १८ मध्ये १० जना मात्रै सांसद नयाँ पार्टीमा खुलेका हुन् । नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राईले सांसदको संख्या १२ पुग्ने दाबी गरे ।

प्रदेश १ मा पहिले माधव नेपाल समूहमै रहेका नेता भीम आचार्य मुख्यमन्त्री बनेपछि केही सांसद भने एमालेमै रोकिएका छन् । आचार्य मुख्यमन्त्री नियुक्त हुँदा माधव पक्षका सांसद जीवन घिमिरे, लछुमन तिवारी, बलबहादुर साम्सोहाङ, लिलाबल्लभ अधिकारी, यशोदा अधिकारी, साबित्री जोशी र होमकुमारी सावा एमालेमै खुलेका थिए ।

माधवकुमार नेपालको साथ छाडेका लछुमन तिवारी र बलबहादुर साम्सोहाङ शुक्रबार मन्त्री नियुक्त भएका छन् । सत्ता पक्षले माधव नेपाल पक्षका अन्य सांसदलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेको छ ।

एमालेका सांसद राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले नयाँ पार्टीमा खुलेका हुन् । ती सांसदले मंगलबार एमाले त्यागको पत्र निर्वाचन आयोगमा बुझाउने तयारी गरेका छन् ।

केन्द्रीय सदस्य समेत रहेका सांसद राजेन्द्र राईले निर्वाचन आयोगमा मंगलबार पत्र बुझाउने निर्णय भएको बताए । दलको बैठकमा १० जना सहभागी भएको बताउँदै उनले २१ दिनको समय रहेकाले अझै संख्या बढ्ने बताए ।

नयाँ पार्टीमा १० जना सांसद उभिएपछि वर्तमान सरकार अल्पमतमा परेको उनले बताए । ९३ सदस्यीय प्रदेश १ मा नेकपा एमालेका ५१ जना सांसद छन् । ती मध्ये चार जना सांसद मात्रै नयाँ पार्टीमा उभिँदा सरकार अल्पमतमा पर्नेछ । प्रदेशमा बहुमतका लागि ४७ सासदको आवश्यकता पर्छ ।

नयाँ पार्टीमा १० जना सांसद गएमा एमालेमा सभामुखसहित ४१ जना सांसद छन् । एमाले सांसद गुलेफुन खातुन भने सरकारी छाप कीर्ते मुद्दामा दोषी देखिएका कारण फरार छिन् । सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको मुद्दामा खातुनलाई २०७६ साल पुस ९ गते उच्च अदालत विराटनगरले एक वर्ष कैद र १४ हजार ५ सय ८३ जरिवाना सजायको फैसला गरेको थियो ।

सरकार अल्पमतमा परेको दाबी गर्दै विपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई सरकारको विपक्षमा बहुमत सांसदको हस्ताक्षर बुझाउने तयारी गरेको छ । केही दिनभित्र बहुमत सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनको आह्वान गर्न प्रदेश प्रमुखलाई पत्र बुझाउने नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ को १ बमोजिम आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । विपक्षी गठबन्धनले भने वर्तमान सरकार अल्पमतमा परेका कारण धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न माग गरेको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?