+
+
अग्रपथ :

कम्युनिष्ट अन्तर-ध्वंसको गैर-मार्क्सवादी विश्लेषण

डम्बर खतिवडा डम्बर खतिवडा
२०७८ भदौ १३ गते १०:२०

कम्युनिष्ट पार्टीका नेता र कार्यकर्तामा एक बडो जबर्जस्त प्रचलन हुन्छ- आफूलाई ‘मार्क्सवादी’ भन्ने, ‘सच्चा मार्क्सवादी’ ठान्ने । हरेक कम्युनिष्टले आफूलाई मार्क्सवाद बुझेको अरूले नबुझेको, आफूले भनेको मार्क्सवाद सही भएको अरूले भन्ने गरेको मार्क्सवाद गलत भएको दाबी गर्ने गर्दछन् । ‘मार्क्सवाद अनुसार’, ‘मार्क्सवादी दृष्टिकोण अनुरूप’, ‘एक सच्चा मार्क्सवादी भएर हेर्दा’ जस्ता शब्दावली बारम्बार प्रयोग गरिन्छन् ।

यथार्थमा संसारको कुनै पनि मान्छे अर्को कोही जस्तो हुँदैन । कसैले कसैको दृष्टिकोण हुबहु बोक्न, पछ्याउन सक्दैन । हरेक मान्छेले आफ्ना बुझाइ, अनुभव, अध्ययन, स्कुलिङ, दृष्टिकोण र स्वार्थ बोलिरहेको हुन्छ । मार्क्सले मार्क्सका कुरा भने । आफ्ना बुझाइ अध्ययन, दृष्टिकोण र धारणा लेखे । अर्को कोही मान्छेले पनि त्यही गर्ने हो । आफ्ना कुरा, धारणा र स्वार्थ बोल्न अरू कसैलाई घानमा हालिरहन जरूरी हुँदैन ।

तर, कम्युनिष्ट संस्कृतिमा त्यसो गर्नु स्वाभाविक आवश्यकता मानिन्छ । आफूलाई मार्क्सवादी भन्नेहरूले अरू सबैलाई ‘गैरमार्क्सवादी’ ठान्ने नै भए । यथार्थमा कुनै वादी हुनु वा नहुनु महत्वको कुरा हैन । महत्वको कुरा हो- सत्य बुझ्न खोज्नु, सत्य बोल्नु । सत्य बोल्न सक्नुभन्दा ठूलो क्रान्तिकारिता संसारमा अरू केही हुँदैन । कुनै चिज सत्य छ भने त्यसलाई कुनै वादले समर्थन गरे पनि केही हुुँदैन, नगरे पनि केही फरक पर्दैन । ‘वाद’ सिद्धान्त हो । सिद्धान्तको काम सत्यको उजागर गर्नु हो । सिद्धान्त त्यो हदसम्म मात्र ठीक हुन्छ, जुन हदसम्म सत्य हुन्छ । सत्यभन्दा बाहिर सिद्धान्तको कुनै अर्थ हुँदैन ।

भनिन्छ- ‘मार्क्सवाद’ शब्दको पहिलो प्रयोग सन् १८७६ मा फ्रान्सेली पत्रकार जुलेस बाजिल गुइस्देले गरेका थिए । उनी फ्रान्सेली समाजवादी तथा पत्रकार थिए । साथै कार्ल मार्क्सका माहिला ज्वाइँ पर्ल लाफर्गेका साथी थिए । आफ्ना विचारलाई ‘मार्क्सवाद’ भन्न थालिएकोमा आपत्ति जनाउँदै मार्क्सले गुइस्दे र लाफर्गेलाई चिट्ठी लेखेका थिए । त्यो चिट्ठी पछि ‘पेरिस रिभ्यु’ मा छापिएको थियो । त्यसमा मार्क्सले भनेका थिए- ‘संसारमा सबै चिज अनिश्चित छन् । यदि एउटा कुरा निश्चित छ- त्यो के भने म मार्क्स मात्र हुँ, मार्क्सवादी हैन ।’

कोही मार्क्सवादी हुनु वा नहुनु उसको स्वतन्त्रताको कुरा हो । त्यसमा यो पंक्तिकारलाई कुनै आपत्ति छैन । तर, सन्दर्भ के हो भने कुनै एउटा घटनालाई मार्क्सवादले एकसाथ दर्जनौं निष्कर्षमा भन्न सक्दछ ? र ती एक साथ सबै सही हुन्छन् ? के एकसाथ ओली पनि ठीक, प्रचण्ड पनि ठीक, माधव नेपाल पनि ठीक हुन सक्दछन् ? एकसाथ ओली, प्रचण्ड, माधव नेपाल उत्तिकै सच्चा मार्क्सवादी हुन सक्दछन् ? शतप्रतिशत ढुक्क भएर भन्न सकिन्छ कि ‘सच्चा मार्क्सवादी’ भन्ने दाबी आफैंमा अर्थहीन छ ।

नेपालमा अहिले एक दर्जन बढी कम्युनिष्ट समूह छन् । ओली, प्रचण्ड, माधव-झलनाथ समूह त ठूलै कम्युनिष्ट भइहालेे । त्यसबाहेक सीपी मैनालीको माले, मोहनविक्रम सिंहको मसाल, नारायणमान बिजुक्छेको नेमकिपा जोड्दा ६ वटा पुग्यो । अब साना समूह वैद्य, विप्लव, आहुति, किराँती, कट्टेल अलि-अलि चर्चामै छन् । चन्द्रदेव जोशीको नेकपा (संयुक्त) र लोकनारायाण सुवेदीको मार्क्सवादी समूह पनि शायद कम्युनिष्ट नै हुन् ।

के यी एक साथ सबै उत्तिकै ‘सच्चा मार्क्सवादी’ हुन् त ? यीमध्ये को मार्क्सवादी हुन् वा हैनन् भनेर छुट्याउने आधार चाहिं के हो ? शक्ति वा संगठन ? शक्तिका आधारमा भन्ने हो भने सबैभन्दा ठूलो कम्युनिष्ट ओली समूह हो अहिलेसम्म । के ओली सच्चा मार्क्सवादी हुन् ? शास्त्रीय ज्ञान, दर्शन र बौद्धिकताका आधारमा भन्ने हो भने मोहन वैद्य बराबरको कम्युनिष्ट कोही देखिन्न, के त्यो समूह सच्चा मार्क्सवादी हो ? कि अस्ति भर्खरैसम्म बम पड्काएर ‘बल प्रयोगको सिद्धान्त’ मानेबापत विप्लवलाई सच्चा मार्क्सवादी भन्ने ? बम पड्काएकै कारण विप्लवलाई सच्चा मार्क्सवादी मान्ने हो भने फेरि शान्तिमा फर्किएपछि त्यसलाई के भन्ने ?

कि एकोहोरो निरन्तरता र निष्ठाका लागि मोहनविक्रम सिंह र नारायणमान बिजुक्छे जस्तो साँघुरिंदै-साँघुरिंदै लगभग समाप्त हुनुलाई सच्चा मार्क्सवादी भन्ने ? यी दृष्टान्तलाई आधार मानेर हेर्दा मार्क्सवादमाथिको कसैको दाबी पनि आफैंमा असान्दर्भिक र अर्थहीन हुन्छ ।

त्यसको अर्थ कार्ल मार्क्सको वैचारिक योगदान अर्थहीन छ भन्न खोजेको हैन । उनीमाथिका दाबी चाहिं अर्थहीन हुन् भन्न खोजेको हो । कार्ल मार्क्स एक विचारक, चिन्तक तथा दार्शनिक थिए । कुनै एक विचारक सृष्टि र समाजका अन्तर्यलाई बुझ्न/बुझाउन कहिल्यै पर्याप्त हुँदैन । तसर्थ, नेपालको कम्युनिष्ट टुट, फुट, विभाजन र अन्तर-ध्वंसको दोष कार्ल मार्क्स र मार्क्सवादलाई बोकाउन सकिंदैन । नेपालका कम्युनिष्ट नेपालका कम्युनिष्ट हुन् । यी आफ्ना कर्म र बुझाइका कारणले अस्तित्वमा छन्, मार्क्सका कारणले हैन । मार्क्सवादका कारणले हैन । तसर्थ, कम्युनिष्ट अन्तर-ध्वंसको मार्क्सवादी हैन, गैरमार्क्सवादी विश्लेषण जरूरी छ ।

‘मार्क्सवाद’ अर्थात् ‘लिनियर डाइलेक्टिक्स’ मा हैन, गैरमार्क्सवाद अर्थात् ‘ननलिनियर डाइलेक्टिक्स’ बाट हेर्दा मान्छेका स्वार्थ-संघर्ष र मनोविज्ञानका विचित्र चित्रहरू सामुन्ने आउँछन् । मान्छे स्वार्थहीन प्राणी हुँदै हैन । सृष्टिले नै मान्छेलाई स्वार्थी बनाएको छ । सृष्टिले नै मान्छेको मनोविज्ञान सर्वाङ्गिक बनाएको छ । मान्छेका यही स्वार्थ र सर्वाङ्गिक मनोविज्ञानले गर्दा, यसलाई बुझ्न र आकारित गर्न नसक्दा संसारभरि साम्यवादी सत्ताहरू असफल भएका हुन् । नेपालमा कम्युनिष्ट आन्दोलन अर्धपतन, स्खलन र विसर्जनतिर धकेलिंदै जानुको कारण पनि ‘लिनियर डाइलेक्टिक्स’ नै हो ।

त्यो कसरी त ? नेपालकै साधारण घटनाक्रममा हेरौं । करीब चार वर्षअघि यहाँ एक प्रकारको ‘कम्युनिष्ट मेनिया’ थियो । एमाले र माओवादी केन्द्र जस्ता दुई ठूला कम्युनिष्ट पार्टी मिलेर भीमकाय नेकपा (नेकपा) बनेको थियो । कमरेडहरू खुुशीले आकाश छुने गरी उचालिएका थिए । करीब ५० वर्ष कम्युनिष्ट पार्टीले शासन गर्दछ, नेकपाकै नेतृत्वमा नेपाल सुखी र समृद्ध मुलुक हुन्छ भन्ने भाष्य बनेको थियो । गैरकम्युनिष्ट पार्टीहरू सधैंका लागि सिद्धिए भनिएको थियो । ओली र दाहालले को-पाइलट भएर जेट विमान उडाउने कुरा थियो ।

दुई वर्ष बित्दानबित्दै यी सबै भाष्य हावादारी सिद्ध किन भए ? किनकि भाष्य आवरण थियो, त्यो अन्तर्यको सत्य थिएन । अन्तर्यमा अर्कै चिज थियो- नेतृत्वको स्वार्थ । ‘आधा-आधा प्रधानमन्त्री खाने’ तमसुकलाई हस्ताक्षर भएर पनि लुकाएर राखिएको थियो । अढाइ वर्षपछि मात्र सार्वजनिक हुनुपर्ने त्यो तमसुक स्वार्थपूर्तिको बाटो बाङ्गिंदै गएपछि बेला नपुग्दै सार्वजनिक भयो ।

 त्यसो भए सत्य के रहेछ त ? स्वार्थ कि सिद्धान्त ? मार्क्सवाद कि ओली र दाहालको मनोविज्ञान ? यदि सिद्धान्तको प्रश्न थियो भने प्रचण्डले माओवाद छोडेर ‘जनताको जनवाद’ भन्न किन राजी भए ? ओलीले जनताको बहुदलीय जनवाद भन्न छोडेर त्यही ‘जनताको जनवाद’ मान्न किन राजी भए ? दुवैले आ-आफ्ना सिद्धान्त छाडेकै हुन्

यहाँनेर ठण्डा दिमागले सोच्नुपर्ने कुरा- यदि प्रचण्डले ‘सच्चा मार्क्सवाद’ आवश्यकताले पार्टी एकता गरेका थिए भने ‘आधा-आधा प्रधानमन्त्री खाने’ तमसुक गोप्य रूपमा किन गरे ? करीब दुई वर्ष गोप्य किन राखे ? ओलीले कुनै हालतमा सत्ता हस्तान्तरण गर्दैनन् भन्ने बुझेपछि ‘आधा-आधा प्रधानमन्त्री खाने’ दाबी छोडिदिएको झूटो दाबी किन गरे ?

अर्को कोणबाट हेरौं- ‘आधा-आधा प्रधानमन्त्री खाने’ सम्झौता लागू गर्नु नै थिएन भने ओलीले त्यसमा हस्ताक्षर गरेर प्रचण्डलाई किन दिए ? कुनै नैतिकवान, सिद्धान्तवादी मान्छेले आफूले हस्ताक्षर गरेको तमसुकको ऋण तिर्दिनँ भन्न सक्दछ र ? मानौं कि ‘आधा-आधा प्रधानमन्त्री खाने’ सम्झौता लागू भएको थियो- के नेकपा आजको स्थितिमा पुग्थ्यो ? निःसन्देह पुग्ने थिएन ।

त्यसो भए सत्य के रहेछ त ? स्वार्थ कि सिद्धान्त ? मार्क्सवाद कि ओली र दाहालको मनोविज्ञान ? यदि सिद्धान्तको प्रश्न थियो भने प्रचण्डले माओवाद छोडेर ‘जनताको जनवाद’ भन्न किन राजी भए ? ओलीले जनताको बहुदलीय जनवाद भन्न छोडेर त्यही ‘जनताको जनवाद’ मान्न किन राजी भए ? दुवैले आ-आफ्ना सिद्धान्त छोडेकै हुन् ।

आज फेरि ओली जनताको बहुदलीय जनवाद भन्छन्, दाहाल माओवाद भन्छन् । त्यो गुट स्वार्थको रक्षाका लागि निर्माण गरिएको नक्कली भाष्यबाहेक अर्थोक के हो ? सिद्धान्त यदि सत्यको अभिव्यक्ति हो भने त्यो त्यति छिटो बदलिन्छ र ?

प्रधान वर्ग संघर्ष कि स्वार्थ संघर्ष ?

यसको अर्थ यो हैन कि कम्युनिष्ट मात्र स्वार्थी हुन्छन् । स्वार्थ मानव मनको एक सार्वभौम चरित्र हो । कुनै पनि विचार, धर्म, संस्कृति, दर्शन र स्कुलिङले मान्छेको त्यो चरित्रलाई बदल्न सक्दैन । यहाँ भन्न खोजिएको कति मात्र हो भने कम्युनिष्ट हुनु वा नहुनु, मार्क्सवाद, लेनिनवादी, माओवादी हुनु वा नहुनु, वा अरू कुनै वादी हुनु वा नहुनु, ओली, दाहाल, वा नेपालमध्ये कुनै गुटको हुनु वा नहुनु समस्या हैन, न समाधान नै हो । समस्या त मानवीय चरित्र हो ।

निःसन्देह दल विभाजन अध्यादेश, दुई/दुई पटक प्रतिनिधिसभा विघटन, संविधानको धारा ७६ का उपधाराहरूको दुरुपयोग, संवैधानिक निकायहरूको गैरसंवैधानिक कब्जा ओलीतन्त्रको प्रतिगमन नै थियो । तर, के दाहाल वा नेपाल दल विभाजन अध्यादेश नल्याइकन बस्न सके त ?

भर्खरै आएको २०/२० प्रतिशतको अध्यादेश त ओली अध्यादेशभन्दा पनि कमजोर हो, लोकतन्त्रका लागि घातक हो । यो अध्यादेश ल्याउने निमित्त व्यक्ति देउवा बने । तर के यस्तो अध्यादेश कांग्रेसलाई चाहिएको थियो ? जसपालाई चाहिएको थियो ? राष्ट्रिय जनमोर्चालाई चाहिएको थियो ? कसको स्वार्थका लागि आयो यो ? दाहाल र नेपालको स्वार्थका लागि हैन ? अध्यादेश प्रकरणमा आखिर नैतिक संकट त देखियो, स्वार्थ त देखियो !

बरु जसपाले ठाकुर-महतो समूहलाई कुनै कारबाही गरेन, सहज बहिर्गमनको अवसर दियो तर ओली समूह त सँगै बस्न पनि नदिने, फुट्न पनि नदिने माधव पक्षलाई न्याकेर मार्ने मनोविज्ञानमा उत्रियो र १४ जना सांसदलाई विभाजनको सनाखत अगाडि नै सांसदबाट हटाउने माग लिएर संसद सचिवालयमा धर्ना गर्न पुग्यो ।

जब स्वार्थ-संघर्ष चरमोत्कर्षमा आउँछ, को ठीक को बेठीक भनेर यकिन गर्न गाह्रो हुन्छ । मार्क्सवादहरू भन्थे कि ‘वर्ग-संघर्ष’ प्रधान हुन्छ । घटनाक्रमले के देखायो भने ‘स्वार्थ-संघर्ष’ महाप्रधान हुँदोरहेछ । मार्क्सवादको आधारभूत मान्यता नै कम्युनिष्ट अन्तर-ध्वंसको अध्ययनका लागि अपर्याप्त हुँदोरहेछ ।

करीब चार वर्षअघि नेपालका मार्क्सवादहरू जे दाबी गरिरहेका थिए, गैरमार्क्सवाद दृष्टिकोणबाट देखिने सत्यहरू भने फरक थिए । उनीहरू भन्दैथिए- यो महान् एकता हो । सत्य के देखिन्थ्यो भने त्यो एकता दन्त्यकथाको ‘घिउ बेचुवा र तरबार बेचुवा’ को व्यापार जस्तो मात्र थियो । ५० वर्ष हैन, त्यो एकता पाँच वर्ष पनि धानिंदैन भन्ने प्रष्ट थियो । ‘हाङ्ग्रो’ जस्ता दाहाल र ‘पाङ्ग्रो’ जस्तो स्वभावका ओलीको को-पाइलटिङले नेकपा (नेकपा) को जहाज दुर्घटना हुने निश्चित जस्तो थियो । चिनियाँ तेल र चुच्चे रेल, घरघरमा ग्याँस पाइप र महासागरमा पानीजहाजका सपनाहरू तुहिने निश्चित थियो । ‘रोल्पाली बिरालो’ र ‘झापाली गँगटो’ को सहकार्यबाट कुनै सग्लो जन्तु जन्मिंदैन भन्ने सबैले राम्ररी बुझेका थिए । आखिरमा त्यही भयो ।

मार्क्सेली द्वन्द्ववादमा कुनै चिज हो पनि हैन पनि । जस्तो कि रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्टलाई ‘माओवादी हुन्’, ‘मेरै हुन्’ भनेर प्रचण्डले ओली मन्त्रिमण्डलमा पठाए । तर, ती न माओवादी रहेछन्, न प्रचण्डका रहेछन् । ‘हो’ जस्तो थियो ‘हैन’ भयो । जस्तो कि भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई माधव नेपालले ‘मेरा हुन्’ भनेर वार्तामा पठाए, अन्ततः उनका हैन रहेछन् । स्वार्थ-संघर्षको खेलमा कोही कसैको हुँदैन ।

सत्य के हो भने सृष्टि ‘म्याटर’ र ‘इनर्जी’ को अनन्त चक्र हो । कण-तरङ्ग द्वैधताको ननलिनियर डाइलेक्टिक्सले भन्छ- म्याटर र इनर्जीबीच रचनात्मक र ध्वंसात्मक रूपान्तरणका दुई विकल्प हुन्छन् । ग्याँस म्याटर हो, त्यसलाई रचनात्मक इनर्जीमा रूपान्तरण गर्‍यो भने खाना पकाउँछ । ध्वंसात्मक इनर्जीमा रूपान्तरण गर्‍यो भने आगलागी हुन्छ । नेकपाको म्याटरलाई नेतृत्व पंक्तिले रचनात्मक इनर्जीमा बदल्न सकेको भए त्यसले खाना पकाउने निश्चित थियो । उल्टो- आगलागी भयो । नेकपा ध्वंसात्मक इनर्जी बन्न पुग्यो । लोकतन्त्र, संविधानवाद, निर्वाचित संसद, दल र राजनीतिक संस्कृति सबै त्यसको शिकार भए ।

त्यसो भए प्रश्न उठ्छ- ‘स्वार्थी’ हुनु सृष्टिले मान्छेलाई दिएको एक मात्र स्वभाव हो ? पक्कै हैन । मान्छे ‘स्वार्थ’ र ‘परमार्थ’ को विशिष्ट संयोजन हो । ‘स्वार्थ’ र ‘परमार्थ’ बीच कुनै न कुनै प्रकारको ‘गतिशील सन्तुलन’ हुनुपर्दछ । अंग्रेजीमा दुई शब्दहरू ‘र्‍यास्नल’ (विवेकपूर्ण) र ‘रिएक्सनल’ (प्रतिक्रियात्मक) झट्ट सुन्दा उस्तै-उस्तै लाग्दछन् । तर, यी दुई शब्दको अन्तर्यमा ठूलो भिन्नता हुन्छ । सृष्टिमा कुनै चिजको अस्तित्व नभइकन शब्दमा त्यसको अभिव्यक्ति हुँदैन । कम्युनिष्ट अन्तर-ध्वंसको वास्तविक रहस्य नेतृत्व पङ्क्ति ‘र्‍यास्नल’ को साटो ‘रिएक्सनल’ हुनु हो भन्ने निष्कर्षमा कुनै शंका छैन ।

कम्युनिष्ट पङ्क्तिबाट सर्वथा सुनिने उत्तर हो- ‘ठीक छ, यस्तो त भएकै हो तर यो रोगबाट नेपालमा को मुक्त छ ? कम्युनिष्टलाई मात्र दोष किन ? सबै उस्तै त हुन् ! कांग्रेस कुन गतिलो हो ? देउवाले लोकतन्त्र दरबारमा बुझाएका हैनन् ? उनी चाहिं प्रतिगामी हैनन् ? ओली मात्र प्रतिगमनकारी ? दाहाल-देउवा चाहिं अग्रगमनकारी ? कम्युनिष्ट मात्र फुटे ? के जसपा फुटेन ? ठाकुर-महतो ओलीको मन्त्री खान गएनन् ? को रहे गतिला ? माधव नेपालले आफ्नै पार्टीको सरकार ढालेर देउवाको सरकार बनाउने ? ओलीले राम्रो गर्न सकेनन्, तर कम्तीमा कम्युनिष्ट हुँ, वामपन्थी हुँ त भन्छन् ! देउवा र कांग्रेस त सीधै दक्षिणपन्थी हैनन् ?’

मार्क्सवाद एप्रोचले यस्तो प्रश्नको के कस्तो उत्तर दिन्छ, सुन्दै गरौंला । गैरमार्क्सवादी दृष्टिकोणबाट भन्दा ‘व्यक्ति प्रवृत्तिको वाहक’ मात्र हो । यो व्यक्ति केन्द्रित बहसको प्रश्न नै हैन । ओली ठीक, दाहाल बेठीक वा दाहाल ठीक ओली बेठीक, देउवा वा नेपाल ठीक कि बेठीक, ठाकुर-महतो वा भट्टराई-यादव ठीक कि बेठीक ? यस्तो प्रश्न नै सर्वाङ्गिक हैन, एकाङ्की हो । नेपालमा त्यस्तो कुनै ‘परम शक्ति र दिव्यता’ भएको नेता हुन्थ्यो भने यो देशको यस्तो हालत नै हुने थिएन । त्यस्तो चामत्कारिक नेतृत्व कुनै पार्टीबाट पनि किन जन्मेन भन्ने प्रश्नको उत्तर हामी आफैंसँग छ । अरू कसैले दिने हैन ।

नेतृत्व न आयातित हुन्छ, न आकाशबाट खस्छ न धर्ती फुटेर निस्कन्छ । जनताको चाहना र समर्थनभन्दा बाहिर कुनै चामत्कारिक नेतृत्वको अपेक्षा राख्नु निरर्थक हुन्छ । जनताले जस्ता मान्छेलाई, जस्ता पार्टीलाई साथ र भोट दिन्छन्, तिनै नेता हुन्छन् । यहाँनेर एक गैरमार्क्सवाद शब्द प्रयोग हुन सक्दछ- माससाइकोलजी अर्थात् आम मनोविज्ञान । गैरमार्क्सवाद यसर्थमा कि त्रि-आङ्गिक मार्क्सवादले मनोविज्ञानलाई कुनै सार्थक विज्ञानका रूपमा स्वीकार गर्दैन, फ्राइडियन विसंगतिका रूपमा बुझ्दछ ।

समाजमा कुनै सार्थक बहस सृजना हुन नदिने, केवल व्यक्ति र व्यक्ति केन्द्रित पूर्वाग्रहमा नै सधैं रुमल्लिने हो भने ठीक छ- ओलीकी जय भनौं, दाहालकी जय भनौं, नेपालकी जय भनौं, देउवाकी जय भनौं । अरू कुनै नेताहरूको जय भनौं, मक्ख परौं, बसौं । देश बनाउने ठेक्का लिएर कोही जन्मिएको हुँदैन, देशमा जन्मिएको कारणले यसको चिन्ता गर्नेसम्म हो । सकेसम्म राम्रो बनाउन पाए हुन्थ्यो भन्ने लाग्नेसम्म हो । सबैलाई यस्तै मन परेको छ, यस्तैमा सन्तुष्टि र रमाइलो अनुभूति भइरहेको छ भने कसले के गर्न सक्दछ ?

कम्युनिष्ट अन्तर-ध्वंस मात्र हैन, अन्य दललगायत सामूहिक अक्षमताको कारण आम मनोविज्ञान नै हो । सत्य विनाको विचार, व्यवहार विनाको सिद्धान्त, एजेण्डा विनाको राजनीति र योजना विनाको नेतृत्वलाई विश्वास गर्ने हुँदा हामी फस्यौं । यति नमज्जाले फस्यौं कि आगामी निर्वाचनमा जनता र मतदाता आफैं अग्रसर भएर कुनै साहसिक निर्णय नगर्ने हो भने देशलाई यो दलदलबाट निकाल्ने कुनै उद्धारकर्ता कतैबाट आउने छैन ।

तर, यहाँनेर पनि ठण्डा दिमागले सोच्नुपर्ने कुरा छ- के कुनै भरपर्दो विचार, योजना, संगठन र नेतृत्व विना जनता आफैं जागेर बनेको कुनै देश छ ? शायद यस्तो पनि हुँदैन । त्यसो भए हामीसँग भएको अन्तिम विकल्प व्यक्ति केन्द्रित बहसबाट बाहिर निस्कनु, प्रणाली र एजेण्डा केन्द्रित विमर्शलाई प्राथमिकता दिनु नै हो ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?