+
+

अफगान नागरिकलाई काबुल विमानस्थलमा जान तालिबानको रोक

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते १२:४३
फाइल तस्वीर

१३ भदौ, काठमाडौं । तालिबानले अफगानिस्तानका नागरिकलाई विमानस्थल जान रोक लगाएको छ । विदेशी मुलुकको तर्फबाट उद्धार गरिन सक्ने मानिसलाई तालिबानले विमानस्थलमा जानबाट रोक लगाएको हो । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक तथा नागरिकको उद्धारको कार्य अन्तिम चरणमा पुर्‍याएसँगै तालिबानले अफगानिस्तानी नागरिकलाई विमानस्थलमा जान रोक लगाएको हो ।

पश्चिमा मुलुकका नेताहरुले अगष्टको अन्तिमसम्म आफ्नो सेनाको लागि काम गर्ने सबैलाई उद्धार गर्न नसकिने बताइसकेका छन् । यद्यपि आगामी दिनमा तालिबानसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उनीहरुको भनाइ छ ।

अमेरिकाको गठबन्धनमा आबद्ध सबैजसो मुलुकले अफगानिस्तानबाट उद्धारको काम सकिसकेका छन् । तर, अमेरिकाले भने अगष्टको अन्तिमसम्म उद्धारको कार्य जारी राख्ने बताएको छ ।

अमेरिकाको तथ्यांकअनुसार अगष्ट १४ यता अमेरिकी सेनाले एक लाख १२ हजारभन्दा धेरैलाई अफगानिस्तानबाट उद्धार गरिसकेको छ । जुलाईको अन्तिमयता उसले एक लाख १७ हजारभन्दा धेरै मानिसको उद्धार गरेको छ । शनिबार बेलायतले अफगानिस्तानको अन्तिम उद्धार उडान भरेको थियो ।

यसैबीच तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आफ्नो संगठनले विमानस्थलको केही भाग नियन्त्रणमा लिइसकेको बताएका छन् । साथै अमेरिकी सेना हटेसँगै विमानस्थललाई शान्तिपूर्ण रुपमा नियन्त्रणमा लिन तयार रहेको मुजाहिदले बताएका छन् । यद्यपि अमेरिकी सेनाले भने विमानस्थल पूर्ण रुपमा आफ्नो नियन्त्रणमा रहेको बताएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?