+
+

६ लेन सडकमा २ लेनको पुल, दिनहुँ दुर्घटना

म्याद सकिन लाग्दा समेत नयाँ पुलको आधा जग मात्रै उठ्यो

विकास रोकामगर विकास रोकामगर
२०७८ भदौ १३ गते १८:३८

१३ भदौ, पोखरा । १५ फागुन २०७५ को मध्यरातमा हुइँकिएर आएको एउटा मोटरसाइकल पुलमा ठक्कर खाँदा एक युवकको ज्यान गयो । पुलमा ठोक्किएर घाइते भएका पोखरा महानगरपालिका–१ सिम्पानीका २७ वर्षीय ऋषिकेश पहारीको उपचारकै क्रममा मृत्यु भएको थियो । उनीसँगै पछाडि बसेका २८ वर्षीय विमल थापा घाइते भए ।

सोही वर्षकै पुस १० गते पनि म्याग्दीको मंगल गाउँपालिकाका १९ वर्षीय तिलकबहादुर थापाको ज्यान गयो । फराकिलो सडकमा हुइँकिदै आएको मोटरसाइकल एक्कासि साँघुरो पुलमा आइपुग्दा अनियन्त्रित भई पुलमा ठोक्किएको थियो ।

पोखरा महानगरपालिकाको ४ र ५ नम्बर वडा जोड्ने पुल ६ मिटरको छ । सडक भने २४ मिटर फराकिलो छ । फिर्केखोलामाथि बनेको उक्त पुलले दुई वटा वडालाई जोडेको छ, तर सडकअनुसारको पुल फराकिलो नहुँदा सधैं दुर्घटना हुने गरेको छ ।

फराकिलो सडकको बीचमा रहेको साँघुरो पुलमा वर्षमा कति दुर्घटना हुन्छन्, प्रहरीसँग समेत तथ्यांक छैन । तर जिल्ला प्रहरी कार्यालय कास्की भन्छ, ‘दुवै भागतिर फराकिलो बाटो र बीचमा साँघुरो पुल नहुँदा मानवीय क्षति नभए पनि धेरै दुर्घटना हुने ठाउँ हो त्यो । बाहिरबाट आएकाहरु प्रायः दुर्घटना पर्छन् ।’

साँघुरो पुलका कारण दुर्घटनामा परेको मोटरसाइकल

शनिबार मध्यरातमा मात्रै उक्त पुलबाट एक जीप खस्यो । बेलायती दूतावासको उक्त स्कार्पियो जीप राति दुई बजेतिर खसेको हो । जीपमा सवार दुई जना सामान्य घाइते भएका छन् । केही समयअघि मात्रै सोही पुलमै ट्रक दुर्घटना भएको थियो ।

पोखरा–बागलुङ सडकअन्तर्गत पर्ने जिरो किलोमिटरदेखि विन्ध्यवासिनीसम्मको उक्त सडक चार वर्षअघि नै फराकिलो पारिएको हो । बाटोअनुसार पुल फराकिलो बनाउन चासो नदिँदा दुर्घटना बढेको छ भने पुल समेत जीर्ण भइसकेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार फराकिलो सडकमा साँघुरो पुल भएकै कारण त्यहाँ दुर्घटना बढेको हो । दैनिक आउजाउ गर्ने स्थानीय उक्त पुलबारे जानकार रहे पनि बाहिरबाट आउने यात्रुहरु बढी दुर्घटनामा पर्ने गरेका छन् । ‘यताउता ठूलो बाटो छ । एक्कासि आएर सानो हुँदा धेरै दुर्घटना हुने सम्भावना हुन्छ,’ जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमाल भन्छन्, ‘हिजो (शनिबार)को जीप दुर्घटनाको पनि त्यही प्रकृति हो ।’

साँघुरो पुलमा दुर्घटनामा परेको ट्यांकर (बायाँ) र जीप

छेउमै नयाँ पुलको ठेक्का, म्याद सकिने बेला जग मात्रै उठ्यो !

फराकिलो बाटोमा साँघुरो पुल भएपछि अहिले रहेको पुल नजिकै नयाँ पुल बन्दैछ । तर, उक्त पुल बनाउन चासो नदिँदा निर्माण अवधि सकिने बेलासम्म जग मात्रै उठाइएको छ भने काम समेत ठप्प छ । काम छिटो सक्न ठेकेदार कम्पनी तथा सरोकारवाला निकायसँग पटकपटक पत्राचार गर्दा पनि सफल हुन नसकेको सडक डिभिजन कार्यालय, कास्कीको दाबी छ ।

पुललाई फराकिलो बनाउन सडक डिभिजन कार्यालय, पोखराले शान्ति आरोग्य जेबीसँग २ वर्षअघि सम्झौता गरेको थियो । २ वर्षमा निर्माण गरिसक्ने गरी भएको ठेक्का असोज मसान्तमा सकिँदैछ । तर, म्याद सकिन लाग्दा समेत जगको पूरा काम पनि नभएको सडक डिभिजनका इन्जिनियर सन्तोष थापा सुनाउँछन् ।

हाल रहेको पुलमा दायाँबायाँ २/२ लेन बढाएर ६ लेनको पुल बनाउने गरी २०७५ असोजमा ८ गते जेभीसँग १२ करोड ३२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको इन्जिजियर थापाले बताए । उनका अनुसार नयाँ पुलका लागि आवश्यक ६ जगमध्ये अहिलेसम्म चार पुल मात्रै निर्माण गरिएको छ । ‘अहिलेसम्म चार ठाउँको जगको काम सकियो । अब केही समयमा दुई जग पनि बन्छन्,’ उनी भन्छन्, ‘जग बनाइसकेपछि बल्ल पिलरको काम शुरु गर्ने हो ।’

पुल निर्माण सम्झौता अवधिमै सकिने भए पनि जग्गा मुआब्जा, बिजुली पोल र खानेपानी पाइप लगायतका कामले ढिलाइ हुन पुगेको इन्जिनियर थापाको भनाइ छ । उनका अनुसार जिल्लाले मुआब्जाको फाइल हेरेर केही समयअघि मात्रै केन्द्रीय मन्त्रालयमा पठाएकाले ढिलाइ हुन पुगेको हो ।

पोखराको फिर्केखोला पुल

‘जग्गाको मुआब्जाको फाइल जिल्लाले हेरेर माथि पठाइसकेको छ । तर, त्यहाँबाट केही प्रतिक्रिया आएको छैन । जग हाल्ने ठाउँमै खानेपानीको पाइप भएकाले त्यो पनि व्यवस्थापन हुन सकेको छैन,’ उनले भने, ‘बिजुली पोलले पनि अवरोध गर्‍यो । जेठमा मात्रै आएर बल्लबल्ल हटाउन सक्यौं ।’

पुलको माथिल्लो दुई लेन बनाउन विभिन्न अवरोध भए पनि तल्लो भागमा भने कुनै समस्या नभएको इन्जिनियर थापा बताउँछन् । ‘तल्लो भागमा काम गर्न सहज थियो । हामीले कन्ट्रयाक्टरलाई भनेका पनि हौं । तर, आधा काम गर्दा घाटा हुन्छ भनेर काम गरेन,’ उनले भने ।

म्याद सकिन मुस्किलले दुई महिना मात्रै बाँकी छ । समयमै पुल निर्माण नसकिने भएपछि म्याद थपको तयारी भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । कोभिड प्रभावलाई समेत ध्यानमा राखेर एक वर्षसम्म म्याद थप्न सकिने इन्जिनियर थापाले जानकारी दिए । ‘जगको काम मात्रै ढिलो हो । त्यसपछि अरु काम त सजिलै हुन्छ,’ उनले भने ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?