+
+

सप्तकोशीमा ठूलो बाढी, उदयपुरको तल्लो क्षेत्र जोखिममा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते २०:१५

१३ भदौं, काठमाडौं । केही दिनदेखिको अविरल वर्षापछि सप्तकोशी नदीमा आएको बाढीले उदयपुरको बेलकातर्फ कटान शुरु गरेको छ । आइतबार साँझसम्म सप्तकोशीले निर्धारित धार भन्दा १५० मिटर कटान गरिसकेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

खतराको संकेत देखिएपछि सम्भावित क्षेत्रमा बाँध निर्माण गर्न शुरु गरिएको छ, त्यस क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

कोशीले लगातार पश्चिमतर्फ कटान गर्न थालेपछि उदयपुरको बेलका नगरपालिका नदी किनार आसपासका वासिन्दा वासिन्दा त्रसित बनेका छन् । स्थानीय शिक्षक दमनकुमार कटुवालका अनुसार अब १५ मिटर मात्रै कटान गरेमा सप्तकोशीको धार परिवर्तन हुन्छ ।

सप्तकोशीले धार परिवर्तन गरी पश्चिततिर लागे बेलका नगरपालिकाको वडा नम्बर २, ३, ९ र ८ का नदी तटका अधिकांश क्षेत्रहरु डुवानमा पर्नेछन् । यो क्षेत्रमा ठूलो मानव वस्ती छ ।

सप्तकोशीले धार परिवर्तन गर्ने खतरा देखिएपछि जिल्ला प्रशासन कार्यालयले विपद व्यवस्थापन समितिको आइतबार आपतकालीन बैठक बोलाएर तटीय क्षेत्रका वासिन्दालाई सतर्क गराउने निर्णय गरेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोख्रेलको अध्यक्षतामा बसेको बैठकले कटान भइरहेको क्षेत्रमा तत्काल अस्थायी तटबन्ध निर्माण गर्ने निर्णय पनि गरेको छ ।

आइतबार नै ८ हजार बोरा बालुवा र ५० थान जालीको तटबन्ध बनाउन शुरु गरिएको छ ।

सप्तकोशीले धार परिवर्तन गरे उदयपुरको बेलकासँगै सप्तरीको सप्तकोशी र कञ्चनरुप नगरपालिकाका पूर्वी क्षेत्रका वस्तीसमेत जोखिममा पर्नेछन् ।

अहिले सप्तकोशीको तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्दै माइकिङ गरिएको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले बताए ।

तस्वीरहरु : दमनकुमार कटुवाल/सुमन खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?