+
+

धौलागिरी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिँदै

रासस रासस
२०७८ भदौ १४ गते १४:४९

१४ भदौ, गल्कोट । बागलुङको धौलागिरी अस्पताल परिसरमा अक्सिजन प्लान्ट स्थापना गरिने भएको छ । असार अगावै प्लान्ट निर्माण गर्ने भनिए पनि समयमै  बजेट नआउँदा दुई महिना ढिला भएको अस्पतालले जनाएको छ ।

अस्पतालको स्तरोन्नति गरी २०० बेडको प्रदेशस्तरीय उपप्रादेशिक अस्पताल बनाउन लागिएकाले यसलाई पुग्ने गरी  र  जिल्लाका अन्य  अस्पताल तथा स्वास्थ्यचौकीमा पठाउन सकिने  गरी प्लान्ट निर्माण गर्न लागिएको हो । अस्पतालमा अहिले सिलिण्डरमा भर्न नमिल्ने २५ बेडलाई मात्र पुग्ने प्लान्ट सञ्चालनमा छ ।

कोरोनाको दोस्रो लहरका बेला अस्पतालमा एकै पटक ४७ जना गम्भीर बिरामी भर्ना भएकाले  अक्सिजनको अभाव भएर पोखराबाट दैनिक १२० सिलिण्डर अक्सिजन ल्याउनु परेको थियो ।

अक्सिजनमा जिल्लालाई आत्मनिर्भर गराउन सरकारले जिल्लाका सबै स्वास्थ्य संस्थामा पुग्ने गरी यहाँ अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको र त्यसका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । प्लान्टका लागि बोलपत्र आह्वान गर्दा  दुई करोड ४० लाखमा उपलब्ध गराउने एक कम्पनीसँग सम्झौता भइसकेको अस्पतालका लेखा अधिकृत झलक शर्माले जानकारी दिए ।

चीनबाट आयात गर्ने गरी मेडिटेक प्रालिले अक्सिजन प्लान्ट ल्याउने भएकाले अहिले २३ लाखको लागतमा पूर्वाधार निर्माणको काम अगाडि बढेको उनले बताए । भदौ मसान्तभित्रै काम सम्पन्न गरी  भुक्तानी माग गर्न संघीय सरकारबाट पत्र आएकाले निर्माण शुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिए । दुई वर्षअघि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको ९० लाख रुपैयाँको लागतमा प्लान्ट सञ्चालनमा ल्याइएको थियो ।

अस्पतालमा अहिले तीन सघन उपचार कक्ष, दुई भेन्टिलेटरसहित ३५ बेडको आइसोलेसन भए पनि पूर्वाधार र जनशक्तिको अभाव छ । अहिले जनशक्ति समेत घटेकाले सघन उपचार कक्षको सेवा पनि बन्द भएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?